Comments Add Comment

ओली र प्रचण्ड दुबै विष्मयकारी यात्राका अगुवा

राजनीति सम्भावनाको गणित हो । हार्दै गर्दा जितेको, सकिँदै गर्दा पुर्नउत्थानको सपना राजनीतिमा सम्भव छ । धेरैले यात्रा सकियो भनेर हिम्मतहरु थन्क्याउँदै गर्दा आफ्नै निम्ति पहाडहरु उभ्याएर त्यसैसँग पाैंठेजोरी खेल्ने पात्रको नाम हो- प्रचण्ड । सिद्धान्तका जटिलतामाथि जीवनहरु रहन्छन् भन्ने विज्ञानलाई व्यवहारका कसीहरुमा हेल्न सकिएन भने जीवनका लागि राजनीति हुँदैन, राजनीतिका लागि जीवन हुन्छ । यो नै प्रचण्डको गणित हो, जसमा उनी पास छन् । सायद यसकै कारण प्रचण्डको दिमागमा एमाले-माओवादी एकताको सुत्र फुरेको हो ।

क्रान्तिका मुलभुत कार्यभार पूरा भएको माओवादी दस्तावेजलाई सही मान्ने हो भने अहिले शान्तिपूर्णढंगले संविधानमा उल्लेेख गरिएका अधिकार जनतालाई प्रदान गर्न दुइतिहाई नजिक जित्ने गरी गरिएको गठवन्धन सही छ । घोेषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धता गठवन्धनका पत्याउनुपर्ने लिखत हुन्, जुन महत्वाकांक्षी जरुर छन् । तर, मुलुकको स्वाधीनता, सम्पन्नता र सवलीकरणकै पक्षमा छन् ।

लिखत बेठिक छ भने, त्यसको आलोचना होस् । लिखतमा विमति नराख्ने तर लिखत अगाडि बनाइएको यसो गरिने छ भन्ने प्रतिवद्धताको गाँठो कसिँदै जाँदा त्यही गाँठोमा आफ्नो घाँटी पर्ने भयले क्रान्तिका चर्का शब्द कार्यकर्ता दुख्ने शैलीमा गाएर बन्दै गरेको नयाँलाई धारे हात लगाउनु सारतः भाका मिलाइएको प्रतिक्रियावाद नै हो ।

क्रन्तिकारी शक्तिलाई कमजोर पार्न शब्दका क्रान्तिकारीहरु खडा गर्न र क्रान्तिकारीहरुका विचमा भ्रम पैदा गर्न विश्व प्रतिक्रियावादले रुचाउँछ । अहिले माओवादी विलयको आशंकामा वायाँ दक्षिण कुनाबाट आउँदै गरेको पीडाजन्य रोइलो सायद त्यसकै दोश्रो संस्करण त होइन भन्ने गम्भीर आशंका नगरी ती शब्दहरुप्रति मायालु हुनु सबैभन्दा खतरनाक कदम हो ।

क्रान्तिका औजारका रुपमा रहेका वालकृष्णहरु आज पनि डिल्लीबजार सदरखोरमा थन्किँदै गर्दा क्रान्तिकारी चमकविना आन्दोलनका कैयौं प्रश्नले न्याय पाउँदैनन् भन्ने कुराको चेत नेतृत्वमा छैन होला भन्ने निष्कर्ष निकाल्नु अरुको वुद्धि सकिएको प्रायोजित घोषणा बाहेक अरु केही होइन । क्रान्तिकारी मियो सकिएको दिन प्रचण्ड स्वयं खतरामा हुनेछन् । यति हेक्का प्रचण्डलाई छ । क्रान्तिकारी जनसमूहका वीचमा नरहेको दिन उनि प्रतिक्रियावादको निशानामा रहनेछन् यकिो हिसाव उनीसँग नदेखेर अत्तालिने कुरा आफैंमा बालहठजस्तै हो ।

यसो गरिनुले सम्भव भएका सपनालाई सहयोग गर्दैन, न त बन्दै गरेको पार्टीप्रति विश्वास पैदा हुन्छ । विश्वासको राजमार्गमा तगारो तेर्साएर सकुशल यात्रा गर्ने शुभेच्छा आफैंमा अन्तरघाती मनोदशाको विम्व हो, यसो नगरौं ।माओवादले अन्तरघाती हुने छुट कसैलाई दिएको छैन ।

१३ लाखमा ३१ लाख मिसिँदा मात्रामा ३१ लाख नै ठूलो हुन्छ । सायद यो मिश्रणको रंग भनिएझै रातो नहोला । तर, आफ्ना गुणहरु र निष्ठाको स्तरलाई मापन गर्ने हो भने वलशाली माओवादी मनहरुले समुन्द्र नै रंग्याउन सक्छन् । आज नलगाइएका फुलीहरु समयसँगै जनवलमा एकाएक काँधमा उक्लिन सक्छन् । इतिहासमा त्यस्तो भएको छ । सत्ताबाट हटाइएका राजा सिंहानुक उनको जनपक्षीयताको कारण फेरि जनता स्वयंले गद्दीमा फर्काएका हुन् । शर्त आफ्नो विगतप्रतिको गर्व, जनपक्षीयता र सर्मपणको हो । वलिदानका शिखरहरुद्वारा बनेको विस्मयकारी यात्राप्रतिको श्रद्धा र गौरवको हो । इतिहासप्रति शंका भए यो सम्भव नहोला, तर त्यसप्रति दृढ विश्वास रहन्छ भने जित्न सम्भव छ । जितको आकांक्षासहित नयाँ सागरमा हामफाल्ने हिम्मत गराैं । संसार बदलिन्छ, जितको हक क्रान्तिकारीहरुकै हो । यही विश्वास र दृढताका आधारमा पार्टीको नीति बन्न सम्भव हुन्छ र हुनेछ ।

पाँच वर्ष निराशाको बाटोमा बदाम छोडाएर शंकाका शब्दहरु धुँवाउनु र गालीले आत्मतुष्टि लिएर बस्नुभन्दा बदलिने र बदल्ने अभियानमा निशर्त हाजिरी जनाउनु उत्तम हुनेछ ।

एकता कतिपय अवस्थामा विचार नमिल्दा पनि भएका छन् । माओले एक स्तरको एकता जापानी सामज्यवादका विरुद्ध च्याङकाईसेकसँग गरेकै हुन् । स्टालिनले दोश्रो विश्व युद्धमा फरक ध्रुवको अमेरीकासँग फौजी एकता गरेकै हुन् । त्यहाँ विचार मिलेको थिएन । रुसमै विचारमा कैयाैं फरकहरु रहँदा रहँदै पनि लेनिनले मेन्सेविक पार्टीसँग एकता गरेकै हुन् । इतिहासमा त्यस्तो भएको छ ।

एमाले माओवादी एकता कुनै आठौं आश्चर्य होइन । यी समधरातलका दुई भिन्न प्रवाहहरु नै हुन् । झापा आन्दोलनको विरासत र जनयुद्धको विरासत दुवैका मुलहरु उस्तैउस्तै हुन्, त्यसकारण यो एकतालाई दुई मिल्नै नसक्नेहरुका वीचको एकता देख्नु यिनका अन्तर्यहरुको ज्ञान नराख्नु हो । बरु यो एकता दुई सबैभन्दा निकटहरुका वीचको एकता हो । माओवादीको हेटौडा सम्मेलन र एमालेले भन्दै आएको उसको स्तरको समाजवादका वीचको एकता हो । यो एकताले एकले अर्कोलाई स्वीकार गरी नयाँ विचार आविश्कारको माग गर्दछ । यसका लागि सायद दुवै पार्टीका नेता र कार्यकर्ता तयार नै छन् ।

अहिले माओवादी कोणवाट माओवाद के हुन्छ भन्ने वहस हुने गरेको छ । तथ्य त के हो भने निर्वाचनको घोषणापत्रमा यी दुवैले दुवै पार्टीको विगतलाई र मूलतः जनयुद्धलाई स्वीकार गरेका छन् । त्यतिमात्र होइन, नेपालकै संविधानमा समेत मुलुकमा चलेका सशस्त्र संघर्ष भनेर जनयुद्धलाई घुमाएरै भए पनि स्वीकार गरिएको छ । संविधानले नै जनयुद्ध मानेको छ भने माओवाद त्यहाँ पर्‍यो कि परेन भन्ने तर्क गरिरहनु जनयुद्धको आयतनलाई नबुझनु हो । किनकि जनयुद्ध माओवादको फौजी कार्यदिशा हो । फौजी कार्यदिशा मानेपछि माओवाद मानिएन वा मानिँदैन भन्ने कुराको कुनै तुक हुँदैन । नेपालमा माओवादको योगदान अतुलनीय छ । सायदै सबैभन्दा ठूलो पैमानामा आधुनिक नेपालमा कुनै विचारले परिवर्तन ल्यायो भने त्यो माओवादले ल्याएको परिवर्तन हो । यसबाट न आजको राजनीति अलग छ न सत्ता । आजको नेपाल माओवादको कुशल संयोजनवाट श्रृजित उपलब्धीको जगमा छ र सम्पन्नता सहित रेल र तेलको सपनाका लागि योग्य छ । मतलव माओवाद अब बहसको विषय बनाइयो भने त्यो नयाँ नेपाल नबुझेको मान्नु पर्दछ ।

निर्वाचनको जे परिणाम हो त्यसका नायक केपी र प्रचण्ड नै हुन् । आजको दिनमा केपी र प्रचण्डलाई एकै पार्टीका माथिल्ला र तल्ला नेताका रुपमा अथ्र्याउने हो भने यो उनीहरु माथिको अन्याय हुन जान्छ । उनीहरु फरक-फरक पृष्ठभूमि, संगठन र अभियानका फरक फरक कमाण्डरहरु नै हुन् । फरक यत्ति हो, उनीहरु यतिबेलाको राष्ट्रिय आवश्यकताको वोधसहित निर्वाचनको एकै मोर्चामा सहभागी भएका हुन् । आकारका हिसाबले को कत्रो थियो, अब त्यो इतिहास हो, आजको अवस्था यी दुईको मिलनले बनेको साझा अभियानले बनाएको जितको कथा हो । यिनीहरु मध्येको कुनै एक संगठन निदाएर बसेको भए यो जित सम्भव थिएन । यो जितमा कोही सानो थिएन, न कोही ठूलो थियो ।

सत्य त के हो भने माओवादीको विजयमा एमाले थियो र एमालेको विजयमा माओवादी । अझ धेरै स्थान माओवादीले छोडेका कारण एमालेको विजयमा बेसी माओवादीको योगदान छ । अहिले पनि म मोटो थिए वा उ छोटो थियो भन्ने वहसलाई उचाल्न खोज्नु अधिनायकवादी वा सर्वसत्तावादी सोच मात्र हो । यो सोचले आन्तरिक वा वाह्य लोकतन्त्र दुवैलाई कमजोर बनाउने मात्र होइन, गर्भमा हुर्कदै गरेको नयाँ पार्टीलाई समेत प्रभावित गर्नेछ ।

नेपालको राजनीतिमा प्रचण्ड र केपी ओलीलाई पास वा फेल ठानेर आफैंले लब्धांकपत्र घोषित गर्दै हिँड्नुको पनि कुनै तुक छैन । ओली र प्रचण्ड दुवै विष्मयकारी यात्राका अगुवाहरु हुन् । नयाँ संविधान र नयाँ शासन व्यवस्थाका सर्जक प्रचण्डको अभियान हो भन्ने तथ्यमाथि शंका गरेर पनि सँगै हिँडनुको मजा हुँदैन । केपी ओलीले माखो मारेनन् भन्नेहरुका लागि पनि सायद यस्ता कैयाैं जवाफहरु छन् ।

त्यसकारण आजको दिनमा यी दुई पात्रको प्रमुख भूमिकाविना मुलुक हाँक्न सकिँदैन । यिनीहरु नै सम्पन्न नेपालका स्वप्न सर्जक हुन् ।
विषय, सरकारमा को रहने र पार्टीको कार्यकारी भूमिकामा को रहने भन्ने मात्र हो । त्यो दुई स्थानमा दुई नेता रहनेवाहेक सोच्दा कसैले कुनै कुरामा जित्ला, तर मूलतः मुलुकले र नेपालको कम्युनिष्ट आन्दोलनले हार्छ । जनता मुलुक, सम्पन्नताको सपना र कम्युनिष्ट आन्दोलन कुनैले पनि हारेको देख्न चाहँदैनन् । यो नै आजको एक मात्र विकल्प हो । प्रचण्ड र केपीले यसैतर्फ यो मुलुकलाई डोर्‍याउने बल गरुन् । यसैमा हामी सबैको जित छ । जय वाम ।

(लेखक माओवादी कार्यकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment