३० पुस, काठमाडौं । माघेसंक्रान्तिको पूर्वसन्ध्यामा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा यतिखेर तरुल किन्ने र बेच्नेहरूको घुइँचो छ । माघेसंक्रान्तिको प्रमुख खाद्य भएकाले पनि तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहलका कारण कालीमाटी ‘तरुलमय’ भएको छ ।
१८ थरीका तरुल
कालीमाटी बजारमा तरुलको व्यापार गर्ने छिरीङ लामाका अनुसार विभिन्न १८ थरीका तरुलहरू यस बजारमा भित्रिन्छन् ।
पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल किन्न पाइन्छ ।
किलोको ३० देखि ४०० रुपैयाँसम्म
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले ३० रुपैयाँदेखि ४०० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने तरुल छन् ।
उपनिर्देशक विनय श्रेष्ठका अनुसार माघेसंक्रान्तिलाई लक्षित गरेर यसपटक झण्डै सात सय टन तरुल तरकारी बजारमा भित्रिएको छ । मूल्यको हिसावले यो करोडौं रुपैयाँ पर्छ ।
कालीमाटी तरकारी बजारमा आज तरुलको औसत मूल्य ५८ रुपैयाँ प्रतिकिलो तोकिएको छ । तर, बजारमा ३० देखि ४०० रुपैयाँ किलोसम्मको तरुल पाइन्छन् ।
तरकारी बजारमा हात्तीपाईले तरुलको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ छ । त्यस्तै, वन तरुलको मूल्य प्रतिकिलो एक सय देखि दुईसय रुपैयाँसम्म छ ।
पातले तरुल प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्ममा किन्न सकिन्छ । स्कुसको जरा भने एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा व्यापारीहरूले बेचिरहेका छन् ।
घर तरुल प्रतिकिलो ३० रुपैयाँमा पनि उपभोक्ताले खरिद गरिरहेका छन् । यसैगरी, पातले तरुलको मूल्य ८० रुपैयाँको हाराहारी छ भने आकाशे तरुल प्रतिकिलो ५० रुपैयाँ पर्छ ।
राते तरुलको मूल्य व्यापारीहरूले पनि ५० रुपैयाँको हाराहारीमा कायम गरेका छन् ।
भारतीय तरुल ‘बाइकट’, कहाँबाट आउँछ ?
हरेक वस्तुमा भारतीय बजारमा निर्भर भइरहेको समयमा तरुलका लागि भने नेपालले भारतको मुख ताक्नु परेको छैन । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार तरुलका लागि नेपालको आन्तरिक उत्पादन नै काफी छ ।
समितिका उपनिर्देशक श्रेष्ठका अनुसार यसपटक करिव ५० टन मात्र भारतीय तरुल कालीमाटी भित्रिएको छ ।
श्रेष्ठका अनुसार तरुलको मूख्य उत्पादक जिल्ला सर्लाही हो । कालीमाटीमा आउने ठूलो परिमाणको तरुल सर्लाहीबाटै भित्रिन्छ । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पा लगायतबाट पनि तरुल काठमाडौं भित्रिन्छ ।
व्यापारीलाई भ्याइनभ्याई
तरुलको मूख्य सिजन वा पर्व जे भने पनि माघेसंक्रान्ति नै हो । समितिका अनुसार यसपटक पुसमा करीव सात सय टन तरुल कालीमाटी तरकारी बजारमामात्रै भित्रिएको छ ।
गत वर्ष करीव आठ सय तरुल भित्रिएको थियो । यसपटक उपत्यकाका अन्य तरकारी बजारमा पनि सिधै तरुल पुगेकाले यहाँ भित्रिने तरुलको परिमाण कम भएको समिति बताउँछ ।
मूख्य कारोबार मौसम भएकाले पनि माघेसंक्रान्तिको आसपासमा यसको व्यापारले व्यापारीलाई भ्याइनभ्याई छ । व्यापारी छिरिङ लामाले शनिवारमात्रै ६ लाख रुपैयाँ बराबरको तरुलको कारोबार गरेको अनुभव सुनाए ।
सुरुका केही दिनमा तरुलको भाउ महंगिए पनि अन्तिम-अन्तिम समयमा भने केही कम भएको छ ।
तस्वीरः मिलन अधिकारी
प्रतिक्रिया 4