Comments Add Comment

अब असनमा पनि चारपांग्रे गाडी निषेध

२ माघ, काठमाडौं । काठमाडौंको असनसहित  भित्री शहरलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बढी भिडभाड हुने असनक्षेत्र आजदेखि चारपांग्रे गाडी निषेध भएको जानकारी दिए ।

काठमाडौंका मुख्य भित्री शहर अाजदेखि पांग्रे  र त्योभन्दा ठूला सवारी प्रवेश निषेध  गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू भएको छ ।

अाजबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेध भएको हो ।

दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रवक्ता रञ्जितकारले अनलाइनखबरसँग भने, ‘अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको छ । यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध हुन्छ ।’

काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । आजै बिहानैदेखि निषेधित क्षेत्र कार्यान्वयन गर्ने तयारी भए पनि बोर्ड राख्न ढिलाइ भएकाले केही घण्टा ढिला कार्यान्वयन हुने छ ।

‘हिजो सार्वजनिक विदा परेकाले वडाबाट सबै उपलब्ध हुन ढिला भयो । त्यही भएर अहिले पनि बोर्ड राख्ने काम जारी छ । तर आजै सबै काम सकेर आजैदेखि चारपांग्रे निषेध गर्छौं,’ रञ्जितकारले भने ।

काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ । साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले झन् सास्ती खेप्नुपर्दछ । त्यसैले सहजरुपमा आवतजावतको व्यवस्था मिलाउन चारपांग्रे गाडी निषेध गरिएको रञ्जितकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment