Comments Add Comment

सीएफएल खरिदमा भ्रष्टाचार गर्नेलाई कारबाही माग गर्दै इटहरी उपमहानगरमा प्रदर्शन

२ माघ, इटहरी । इटहरी उपमहानगरपालिकाले सीएफएल चिम खरिद गर्दा भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

नगर कार्यपालिकाको मंसिर ३० गतेको बैठक भ्रष्टाचारमा संलग्नलाई स्पष्टिकरणमात्रै सोध्ने निर्णय गरेको भन्दै स्थानीय युवाहरुले कारबाही गर्नुपर्ने माग राखेर उपमहानगरपालिकाको गेटमा धर्ना र विरोध प्रदर्शन गरेका हुन् । मंगलबार दिउँसो १ बजेदेखि उपमहानगरपालिकाको गेटमा प्ले कार्डसहित धर्नामा बसेका स्थानीय वासिन्दाले सीएफएल चिम खरिदमा भ्रष्टाचारमा संलग्नलाई माफी नदिन माग गरेका छन् ।

‘सीएफएल प्रकरणमा सम्बन्धित शाखा प्रमुखलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ’, अनलाइनखबरलाई प्राप्त नगर कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘सामान खरिद र आपूर्ति प्रक्रियामा रहेको त्रुटी कमीकमजोरी अब उप्रान्त दोहोरिन नदिन सम्बन्धित सबैलाई सचेत गरिएको छ ।’ माघ २ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनिएको निर्णय पत्रकार सम्मेलन अगाडि नै बाहिरिएको हो । यही निर्णयको विरोधमा स्थानीयले धर्ना दिएका हुन् ।

उद्योग वाणिज्य संघ इटहरीका दिवश पोखरेल, स्थानीय अभियानकर्मी दिब्यराज गुरुङ, उदय सुब्बा, सम्राट थापा लगायतका युवाहरु विरोधमा उत्रिएका छन् । विरोधको नेतृत्वकर्ता दिवश पोखरेलले दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने बताए ।

इटहरी उपमहानगरपालिका गएको साउनदेखि कात्तिक ७ गतेसम्ममा ९७ लाख रुपैयाँको सीएफएल बत्ती खरिद भएको छ । सीएफएल बत्ती खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न गठित समितिले २० लाख रुपैयाँ भ्रष्टाचार भएको हिसाब देखाएको छ । यद्यपी स्थानीय युवाहरु ६० लाख रुपैयाँसम्म भ्रष्टाचार भएको दाबी गर्छन् । सीएफएल खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न उपमहानगरपालिकाले दीपक गौतमको नेेतृत्वमा ७ जनाको छानबिन समिति गठन गरेको थियो ।

भ्रष्टाचारमा प्रत्यक्ष जोडिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी, जिन्सी शाखा प्रमुख मनोज दाहाल र खरिदमा जोडिएका शाखा प्रमुखलाई स्पष्टिकरण मात्रै सोध्ने निर्णयमा स्थानीयले विरोध जनाएका हुन् ।

इटहरी नगरकार्यपालिकाको बैठकमा सीएफएल खरिदमा संलग्नलाई स्पष्टिकरणमात्र सोध्ने निर्णयमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पनि समर्थन गरेका छन् । ३० जनाको नगरकार्यपालिकामा नेपाली कांग्रेसका १२ जना वडाध्यक्षहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment