+
+
Shares

अब्बल भन्दा सफल बन्ने दौडमा रामबाबु गुरुङ

दर्शकले किन रुचाए 'मिस्टर झोले' ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ३ गते १५:०४

पुरानो बानेश्वर चोक नजिक अफिसमा भेटदा रामबाबु ‘मिस्टर झोले’कै फेसबुक लाइभ गरेर बसेका थिए । उनका अघिल्तिर केकको अंश बाँकी थियो । दयाहाङ राई, दिया पुनलगायत कलाकर्मी, फिल्म वितरक र अन्य सहयोगीले कोठा ‘हाउसफुल’ थियो ।

फिल्म हलमा जानुअघि चल्छ वा चल्दैन भन्ने अनुमान गर्न सकिएला ? मिहेनत गरेको कुरा राम्ररी चल्छ भनेर ढुक्क हुन सकिन्छ ?

हाम्रो प्रश्न सुनेपछि रामबाबु अनकनाए । उनी दोधारमा परे । ठ्याक्कै जवाफ दिएनन् ।

‘खै, यसै भन्न नसकिने रहेछ’ पछिल्लो छिमलका हिट निर्देशक अलमलिए, ‘दर्शकको च्वाइस बुझ्न सके त कुनैपनि फिल्म फ्लप हुने थिएन ।’

अब कुरा आयो, दर्शकको स्वादको । दर्शक खासमा कस्तो स्वाद रुचाउँछन् ? उनीहरु के कुरामा इन्जोय गर्छन् ? त्यसको भेउ पाउन नसकिने उनको भनाई थियो ।

‘त्यसो भए कसरी बन्छ त फिल्म ?’, हामीले सोध्यौं ।

‘ट्रेन्ड हेर्ने हो’ रामबाबुले भने, ‘कुन किसिमको फिल्म चलेको छ, कस्तो फिल्ममा दर्शक रमाएका छन् भन्ने कुरा हेर्नुपर्छ ।’ संभवत उनको यही मनोविज्ञानको उपज हुनुपर्छ, ‘मिस्टर झोले’, अहिले हलमा धुमधाम चलिरहेको छ ।

तैपनि रामबाबु ट्रेन्डमा मात्र विश्वास गर्दैर्नन् ।

‘सधैं चलेको ट्रेन्डलाई मात्र पच्छ्याइरहनुपर्छ भन्ने छैन’ उनले भने, ‘कमेडी चल्यो भन्दैमा, कमेडी नै खोजिरहने, काजी र मैयाँ चल्यो भनेर त्यही क्यारेक्टर डिजाइन गरिरहनुपर्छ भन्ने छैन । आफ्नो सन्तुष्टिका लागि पनि फिल्म बनाउनुपर्छ ।’

डबल डाइमेन्सन

फिल्म कसका लागि बनाउने भन्ने सन्दर्भमा फिल्म मेकरहरुको मत बाझिन्छ । कतिले दर्शकको चाहना अनुसार भेराइटी पस्कने जोड गर्छन् । कतिले आफ्नो मर्जी अनुसार । पहिलो दर्जाका फिल्ममेकरहरुको ध्याउन्न दर्शकको स्वाद मेट्नमै हुन्छ, चाहे त्यो फिल्म किन नचलोस् ।

दोस्रो खालका फिल्ममेकर आफ्नो दृष्टिकोणलाई सर्वोपरी ठान्छन् । उनीहरु आफ्नो मर्जी अनुसार फिल्म बनाउँछन् । यस किसिमको फिल्मले भने बनीबनाउ ट्र्याक परिवर्तन गर्ने हिम्मत राख्छ, चाहे त्यो व्यवसायिक हिसाबले असफल नै किन नहोस् ।

वृत्तचित्र बनाउँदै फिल्ममा फड्को मारेका रामबाबुको ‘अनागरिक’ र ‘कवड्डी’ले नेपाली फिल्ममा नयाँ ट्र्याक बनाए ।

‘कवड्डी’ फेम निर्देशक रामबाबुलाई दुबै डाइमेन्सनबाट हेर्न सकिन्छ । जतिबेला उनी ‘कवड्डी’ वा त्यसभन्दा अघि ‘अनागरिक’ बनाउँदै थिए, त्यसबेला उनले आफ्नै दृष्टिकोणलाई सर्बोपरी ठानेका थिए । अहिले उनी दर्शकमा लक्षित छन् ।

उस्तै विधा, उही कलाकार, करिब उस्तै प्रस्तुतीलाई उनले शीरोधार्य गरेका छन् । ‘मिस्टर झोले’सम्म रामबाबुले ‘अब्बल’ भन्दा पनि ‘सफल’ बन्ने बाटो रोजेको छनक मिल्छ ।

स्क्रिप्टमा खेल्ने खुबी

रामबाबु राम्रा स्क्रिप्टराइटर हुन् । जतिसुकै फितलो विषयमा पनि दर्शकलाई बाँधेर राख्ने खास शिल्प छ उनीसँग । ‘मिस्टर झोले’ जस्तो हल्काफुल्का कथालाई पनि उनले कसिलो र रसिलो बनाएका छन् । संवाद र घटनाको उपक्रममा उनी कुशलतापूर्वक खेल्न सक्छन् ।

लाहुरे पृष्ठभूमिका रामबाबु करियरको थालनीमा वृत्तचित्रहरु बनाएर माझिए । छिरिङ रितार, नवीन सुब्बाजस्ता निर्देशकको संगत गरे । विभिन्न परियोजना अन्र्तगत वृत्तचित्र बनाउँदै फिल्ममा फड्को मारेका उनी पूर्वाद्धमै हिट भए । उनको ‘अनागरिक’ र त्यसपछिको ‘कवड्डी’ले नेपाली फिल्ममा नयाँ ट्र्याक बनाए ।

क्यारेक्टर डिजाइनर

रुम्जाटारमा जन्मिएका रामबाबुले गाउँको सुगन्ध बोकेका छन् । गाउँको परिवेश र पात्रहरुसँग भिजेका छन् । त्यसैले आफ्नो फिल्ममा उनी ग्रामिण स्वाद पस्कन्छन्, जो तिख्खर स्वादिलो हुनेगर्छ ।

‘कबड्डी’देखि ‘मिस्टर झोले’ सम्ममा रामबाबुले ‘हिरोइज्म’ बिनाका हिरोहरु उभ्याए । ति धुस्रेफुस्रे क्यारेक्टरहरु गाउँघरका ‘यार’ जस्ता लाग्छन्, जसले दर्शकमा अपनत्वको भावना पैदा गर्छ । फिल्मका पात्रहरुसँग दर्शक चाडै एकाकार हुन्छन् । यस्ता ‘क्यारेक्टर’ उनले गाउँघरबाटै टिपेका हुन् ।

‘गाउँमै जम्मिएँ, हुर्किएँ, त्यहाँको हावापानी, चालचलन बढी थाहा छ’ रामबाबु भन्छन्, ‘त्यसैले मेरो फिल्मको परिवेश, कथा र पात्रहरु पनि त्यही ग्रामिण समाजबाट तयार भएका हुन् ।’

दयाहाङ र दोस्ती

रामबाबुसँग दयाहाङ राईको केमेस्ट्री मिल्छ । हुन पनि उनीहरु त्यही समयदेखि अंगालोमा बेरिएका यार हुन्, जतिबेला दुबैलाई यो शहरले चिन्दैनथे । उनीहरु ‘करियर’ बनाउने चक्करमा दौडिरहेका थिए, २०५८ सालतिर ।

दुबै करिव उस्तै पृष्ठभूमिका । रुची पनि उस्तै । उचाई र मोटाइमा पनि एकरुपता । कालन्तरमा एकजना नामी हिरो भए, अर्का निर्देशक ।

रामबाबुले पहिलो फिल्म ‘अनागरिक’ बनाए, २०६१ सालतिर । त्यही फिल्ममा दयाहाङलाई ‘हिरो’ बनाए । त्यसपछिका कुनै पनि फिल्ममा उनले दयाहाङलाई छुटाएनन् ।

‘हरेक फिल्ममा दयाहाङ राख्नुको कारण ?’, हाम्रो जिज्ञासा ।

‘त्यो कथाको डिमान्ड थियो’, उनको स्पष्टोक्ति ।

दयाहाङको स्टारडमलाई क्यास गर्न मात्र हैन, कथा सुहाउँदो पात्रका लागि दयाहाङ आफ्नो फिल्ममा हिरो बन्ने गरेको रामबाबुको तर्क छ ।

उनीहरुबीच व्यवसायिक सम्बन्ध मात्र छैन । व्यक्तिगत जीवनमा पनि दुवै नजिक छन् । आपसमा दुःखसुखको कुरा सुन्ने र सुनाउनेदेखि जूठो खानेसम्मको ‘दोस्ती’ छ, उनीहरुको । ‘हाम्रो आपसमा स्वाभाव, व्यवहार सबैकुरा मिल्छ’ रामबाबुले यसो भन्दै गर्दा दयाहाङ नजिकै बसेर कान ठाडो पारिरहेका थिए, मुसुमुसु हाँस्दै ।

सुँगुरको मासुमा साग

रामबाबु धेरै बोल्दैनन् । थोरै बोल्छन्, गह्रौं बोल्छन् । पूख्र्यौली पृष्ठभूमि लाहुरे । उनले पनि दुई पटकसम्म लाहुर जाने प्रयास गरे । तर, सकेनन् । त्यही कारण उनको बाटो मोडियो ।

अहिले काठमाडौंमा बस्छन्, पत्नी, छोरा र आफन्तहरुसँग । आफन्तकै घरमा डेरा जमाएका छन् । संयुक्त परिवार छ । उनी पारिवारिक जीवनमै बढी रमाउँछन् । त्यसमा पनि बच्चाहरुसँग खेल्न औधी रुचाउँछन् । घरमा धेरैजसो बच्चासँगै खेल्छन् । घर बाहिर हुँदा तीन/चार पटकसम्म परिवारसँग फोनमा कुरा गर्छन् ।

रामबाबु अलि अव्यवस्थित छन् । एकदमै अनुशासनमा बाँधिन पनि रुचाउँदैनन् । घरमा उनलाई फुकुवा हुनुपर्छ । आफ्नो मर्जी अनुसार चल्न खोज्छन् । घरको सामान राख्ने, मिलाउने काममा उनलाई खासै जाँगर चल्दैन । तैपनि घरको सरसफाई गर्न, खाना पकाउन उनी अल्छी मान्दैनन् ।

रामबाबुलाई पाकवानमा पनि रुची छ । उनी सुँगुरको मासु लोकल शैलीमा पकाइरहेका हुन्छन्, रायोको साग हालेर । भाँडा माझ्छन् । कम्तिमा पनि आफ्नो जूठो थाल । बाहिर खाँदासमेत उनी सकेसम्म आफ्नो जूठो थाल अरुलाई सफा गर्न दिँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?