३ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णयको विराटनगरवासीले स्वागत गरेका छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले देशकै पुरानो शहरको पहिचानलाई सरकारले बुझेको प्रतिक्रिया दिए ।
‘राजनीतिक र औद्योगिक विकासको जग बसालेको ऐतिहासिक नगरी विराटनरलाई सरकारले चिनेको मैले महसुस गरेको छु’, उनले भने ‘अब विराटनगरले विकासको मुहार फेर्ने आशा छ ।’
मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले पनि विराटनगरवासीको भावना सरकारले बुझेको बताए । मुलुककै आर्थिक विकासको नेतृत्व गरेको विराटनगरका विषयमा सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ छ ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले एक सय वर्ष भन्दा लामो इतिहासलाई पुनस्र्थापित गर्न विराटनगरबासी सफल भएको बताए ।
राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । त्यसैगरी विराटनगरमा उच्च अदालत र १ नम्बर प्रदेश प्रहरी प्रमुखको कार्यालय पनि रहेको छ ।
धनकुटा बेखुशी
पूर्वी नेपालका मुख्य शहरहरु विराटनगर, इटहरी र धनकुटाका वासिन्दाले प्रदेश एकको राजधानी माग गर्दै आएका थिए ।
आफ्नो जिल्लामा प्रदेश राजधानी माग गर्दै आएका धनकुटाबासी भने अस्थायी मुकाम विराटनगर तोक्ने सरकारको निर्णयबाट बेखुशी भएका छन् ।
सरकारले अस्थायी रुपमा तोकेको मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ ।
यस्तो छ विराटनगरको इतिहास
२००७ सालमा राणाशासन विरुद्धको सफल जनक्रान्तिको उद्घोष विराटनगरबाट नै भएको थियो ।.मुलुकमा औद्योगिक थालनी पनि विराटनगरबाटै शुरु भएको थियो ।
विराटनगरका ५ जना नेताहरु मुलुकको प्रधानमन्त्री भइसकेका छन् । बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला विराटनगरकै हुन् ।
शिखरनाथ भाष्यको यात्रा वर्णन अनुसार वि.सं. १९७१ मा बडाहाकिम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए । १९७२ मा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो ।
कर्णेल खत्रीले मोरङको सदरमुकाम रंगेलीमा रहेको गोश्वारा, माल, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल विराटनगर सारेका थिए ।
विराटनगर नामकरण भने १९७६ सालमा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेको इतिहास छ । त्यसबेलासम्म विराटनगरलाई गोग्राहानै भनिन्थ्यो ।
१९७३ असारमा नेपालकै जेठो विराटनगर जुट मिल स्थापना भएको थियो । १९९५ सालमा विराटनगरमा आदर्श विद्यालय स्थापना भएको थियो ।
मलेरिया नियन्त्रण भएपछि २०१९ सालतिरबाट विराटनगर क्षेत्रमा बस्न पूर्वी पहाडका मानिसहरुको ओइरो लागेसँग्ौ यहाँको विकास र विस्तार भएको हो ।
प्रतिक्रिया 4