Comments Add Comment

टर्की चराको व्यवसायबाट मनग्य आम्दानी

६ माघ, रामपुर, पाल्पा । टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक सात लाखसम्म आम्दानी गर्छन् । आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गरेका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक सात लाखसम्म आम्दानी गर्न थालेको हो ।

कक्षा १२ सम्मको अध्ययन गरेका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो पटक शुरु गरेका यो व्यवसायमा अहिले सबैको आकर्षण बढ्दो छ । नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उहाँको फार्ममा धेरै जना पुग्ने गर्छन् ।

पाण्डे सानै उमेरदेखि नै सूचना र प्रविधिको खोजी गर्ने कार्यमा निकै जिज्ञासु स्वभावका थिए । “सूचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जाँदा टर्की नामको पक्षी फेला पारे प¥यो, पक्षी नयाँ र लाभदायिक ठानेपछि व्यवसाय शुरु गरेको हुँ” पाण्डेले भने ।

पोखराबाट ५० वटा टर्की चरा ल्याएर व्यवसाय चलाएका पाण्डेले राम्रो आम्दानी गर्न सफल भएका छन् । त्यही टर्की चराले आज उहाँलाई देश विदेशमा चिनिने अवसर सिर्जना भएकोमा खुशी व्यक्त गर्छन् ।

नयाँ व्यवसाय भएकाले शुरुमा घरपरिवार र साथीभाई कसैबाट पनि सहयोग मिलेन्, उनले भन्छन्– “अहिले उहाँको व्यवसायको घरपरिवार, साथीभाई सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेको छ ।”

पाण्डेले अहिलेसम्म तीन पटक चल्ला उत्पादन गरी बजारमा बिक्री गरिसकेका छन् । १२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको पाण्डे बताउँछन् ।

स्थानीयस्तरमा यसको मासुको कमै महत्व रहे पनि पोखरा, काठमाडौँजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । पाण्डेले टर्कीसँगै एक हजार ५०० वटा हाँस पनि पालेका छन् ।

काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको पाण्डे भन्छन् ।

कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनी सरकारले विभिन्न कार्यक्रम ल्याए पनि आफूले अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको उनले बताए । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले कृषि व्यवसायमा लाग्ने युवालाई गाउँपालिकाबाट प्रोत्साहनका लागि सहयोग गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment