Comments Add Comment

पोखरा आइपुगे प्रदेश प्रमुख, प्रदेशसभा सदस्यहरुको सपथ भोलि

६ माघ, पोखरा । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर शनिबार पोखरा आएका छन् ।

पोखराका सुरक्षा तथा प्रशानिक निकाय, महानगरपालिका, जिल्ला समन्वय समितिले प्रदेश सरकार प्रमुखको भव्य स्वागत गरे । कुँवरको स्वागतमा क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालसहित प्रमुख जिल्ला अधिकारी, मेयर, सुरक्षा प्रमुख र जिल्ला समन्वय समितिका संयोजक फूलमाला लिएर विमानस्थल पुगेका थिए ।

छिट्टै विकास बाटो खुला हुन्छ

प्रदेश प्रमुख कुँवरले छिट्टै प्रदेश सभा गठन गरेर यहाँको विकास र सम्भावनाको उजागर गर्ने बाटो खुला गर्ने बताएका छन् ।

प्रदेश नम्बर ४ मा जलविद्युत र पर्यटनको धेरै सम्भावना रहेको र त्यो क्षेत्रमा केही योजनाहरु आˆनो पनि रहेको बताए । ‘यो प्रदेशमा थुप्रै सम्भावना छन्, यसको उजागरका लागि मेरा पनि केही योजना छन्, त्यो भोली भन्छु,’ कुँवरले भने ।

आफ्नो गृह जिल्ला अर्घाखाँची हाल प्रदेश नम्बर ५ मा परे पनि प्रदेश नम्बर ४ को केन्द्र पोखरामा कानुनको शिक्षा लिएको र रोजाइमा यो प्रदेश परेको सुनाए ।

प्रदेश नम्बर ५ मा जाउँजाऊँ लागेको भए पनि प्राथमिकतामा ४ नम्बर प्रदेश परेको उनले प्रष्टाए । प्रदेश नम्बर ४ विकासमा आफूले सहज वातावरण निर्माण गर्ने बताउँदै कुँवरले आफ्नो भूमिका अभिभावकीय र अहस्तक्षेपकारी हुने प्रष्ट पारे ।

आइतबार पदभार ग्रहण

प्रदेश प्रमुख कुँवरले आइतबार सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

उनको पदभारसँगै प्रदेश सभाका ज्येष्ठ सदस्यलाई बिहान ८ ः ३० बजे पद तथा गोपनियतको शपथ गराउने कार्यक्रम रहेको कास्की सिडियो तारानाथ अधिकारीले बताए ।

अन्य सदस्यहरुको सपथग्रहण बिहान १० बजे नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेशसभा हलमा गराउने कार्यक्रम छ । निर्वाचन कार्यालयले उपलब्ध गराएअनुसार जनकलाल श्रेष्ठ प्रदेश सभामा ज्येष्ठसदस्य हुन् । नेकपा एमालेको तर्फबाट नवलपुर क्षेत्र २ (२) बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन् ।

प्रदेश ४ अन्तर्गत प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना सदस्य छन् । शपथ ग्रहणका लागि सदस्यहरु पोखरा आइसकेका छन् । पदभार ग्रहण गरिने कार्यालयहरुमा मर्मत गरेर स्वागतको पखाईमा कर्मचारी छन् ।

तस्वीरः युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment