Comments Add Comment

धनकुटे सांसदको घोषणाः अब सदनमा संघर्ष गर्छाैं

'काठमाडौं बाहिरको काठमाडौंलाई राजधानी नबनाइयोस्'

७ माघ, विराटनगर । सपथ खान विराटनगर झरेका धनकुटाका दुबै प्रदेश सभा सांसदहरुले १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन सदनमा संघर्ष गर्ने घोषणा गरेका छन् ।

धनुटाका प्रदेश सांसदद्वय निरन राई र इन्द्रमणि पराजुलीले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश १ को राजधानी धनकुटा नै हुनुपर्ने तर्क गरे ।

‘तराईको उर्वर क्षेत्र खाद्यान्न र औद्योगिक विकासका लागि हो र पहाडमा आवादी बसाउन सकिन्छ’, धनकुटाका प्रदेश (क) का सांसद निरन राईले अनलाइनखबरसँग भने, ‘पहाडी क्षेत्रमा सबैको सुगमताका कोणमा धनकुटा सही छ र त्यहीँ राजधानी हुनुपर्ने हाम्रो माग छ । र, जनताको माग पनि यही छ ।’

धनकुटा ‘ख’ प्रदेशका सांसद इन्द्रमणि पराजुलीले प्रदेश एकमा हिमाल पहाड र तराईको सबैको सुगम र सहज क्षेत्र धनकुटा नै भएको बताए । उनले भने- ‘संघीयतामा काठमाण्डौं बाहिरका काठमाण्डौलाई नै राजधानी बनाउनु उचित हैन, नयाँ र पिछडिएका क्षेत्रलाई विकास गर्नु हो ।’

प्रदेश सांसद पराजुलीले अगाडि भने, ‘तराईका सबै क्षेत्रमा विकास र शहरीकरण राम्रो छ, तर पहाडमा छैन । त्यसैले पहाडको पनि तराईको जस्तै समानुपातिक विकासका लागि धनकुटा नै राजधानी हुनुपर्छ ।’

पहाडबाट तराईमा अनावश्यक बसाइा सराइ रोक्न पनि पहाडको धनकुटा नै राजधानी हुनुपर्ने पराजुलीले बताए । तर, बहुमत प्रदेश सभा सदस्यहरुले रुचाएनन् भने कसरी धनकुटा राजधानी हुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा पराजुलीले भने, ‘राजधानी पाउनलाई धनकुटाका जनताले सडकमा संघर्ष गरेका छन्, अब हामी सदनमा संघर्ष गर्छौं ।’

प्रदेश १ को प्रदेशभामा एमालेको स्पष्ट बहुमत छ । तर, प्रदेशको राजधानीलाई लिएर तराई र पहाडका एमाले सांसदहरुकै वीचमा मत बाझिने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment