Comments Add Comment

निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

७ माघ, काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ ।

करिब एक खर्ब २१ अर्ब लागत अनुमान गरिएको निजगढ विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर, निर्माण ढाँचामा सहमति नजुट्दा काम भने देखिने गरी हुन सकेको छैन ।

सार्वजनिक-निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपीसीएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको सहमतिपछि मन्त्रिपरिषद्ले निर्माणका विषयमा आवश्यक निर्णय गर्ने सचिव न्यौपानेको भनाइ छ ।

लामो समयदेखि चर्चा रहे पनि काम सुरु हुन नसकेको आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ ।

नेपाली सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुख-बिरुवा हटाउन लागेको छ । सेना रुख कटानको स्वीकृतिको पर्खाइमा छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार भइसकेको छ ।

रुख हटाउन ८० करोड

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले नेपाली सेनालाई वन फँडानी र सेरोफेरो सडक निर्माणका लागि ८० करोड निकासा गर्ने तयारी भइरहेको जानकारी दिए ।

तर, आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने काम भएको छैन । हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख पनि छैनन् । तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन । यसले निजगढ र पोखराको कामसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

मन्त्रालयका सचिव न्यौपानेले सबै प्रक्रिया पुर्‍याएर विमानस्थल निर्माणको काम शुरु गर्ने तयारीमा सरकार रहेको बताए । ‘अब चर्चामा होइन, काम नै शुरु हुन्छ । हामी त्यसको प्रक्रियामा लागेका छौं’  सचिव न्यौपानेले भनेका छन् ।

कोरियाली परामर्शदाता कम्पनी ल्याण्डमार्क बल्र्डवाइडले सन् २०१० मा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

कोरियाली कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका-१६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment