Comments Add Comment

कार्यवाहक राजदूत फुँयालसहितका कर्मचारीलाई यूएईमा भव्य स्वागत


यूएई । करिब ६० नेपाली संघ–संस्थाहरुले नेपाली दूतावास अबुधाबीका नवनियुक्त कार्यवाहक राजदूतलगायत नयाँ कर्मचारीहरुलाई संयुक्त रुपमा स्वागत गरेका छन् । युएईका लागि कार्यवाहक राजदूत सागर फुँयाल, श्रम सहचारी मोतीराम भुसाल र तृतीय सचिव नारायण ज्ञवालीलाई युएईमा रहेका ६० नेपाली संघसंस्थाका प्रतिनिधिहरुले एकै मञ्चमा स्वागत गरेका हुन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूएई र नेपाल आदिवासी जनजाति महासंघ, यूएईको संयुक्त आयोजनामा माघ ७ गते आइतबार साँझ दुबईको एक होटलमा आयोजित संयुक्त स्वागत कार्यक्रममा यूएईमा क्रियाशील ६० नेपाली सामाजिक संघ–संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले नवआगन्तुक दूतावासका कर्मचारीहरुलाई स्वागत गरेका हुन् ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव कुमार बलामीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन एनआरएन युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए ।

सहभागी संस्थाका प्रतिनिधिहरुले नवआगन्तुक कर्मचारीहरुलाई खादा, अबिर, टोपी लगाइदिएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सरिक भएका संस्थाका प्रतिनिधिहरुले नयाँ कर्मचारीहरुलाई नेपाल र नेपालीको इज्जत बढाउने कार्य गर्न सुझाएका थिए । यूएईमा कार्यरत नेपालीहरुका समस्याहरु समधान गर्न नयाँ टिमले अझ क्रियाशीलता देखाउनु पर्नेमा जोड दिएका थिए ।

लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डेले यूएईको दुतावासमा करिब २ वर्षअघि देखि राजदूतको अभाव भएको स्मरण गराउँदै नवनियुक्त कार्यवाहक राजदुतसँग सहकार्य गर्न यूएईका सबै संघसंस्था तयार रहेको जनाउ दिए ।

पत्रकार तथा लेखक निमेश गिरीले स्जागतार्थ लगाइएको खादाको भारीलाई जिम्मेवारीको भारी सम्झन संकेत गर्दै नेपाली दूतावासका नयाँ कर्मचारीहरुलाई नेपाल र श्रमिक नेपालीको हितमा समर्पित भएका काम गर्न सुझाए ।

स्वागत मन्तव्यकै सिलसिलामा नेपाल विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापाले ६० संस्थाहरु एकत्रित हुनु एृेतिहासिक भएको जनाउँदै जसरी स्वागत गरिएको छ, त्यसरी नै बिदाई गर्न पनि पाऊँ भनी कार्यवाहक राजदूतको कार्यकाल सफलताको कामना गरेका थिए ।

नेपाली दूतावासका नवनियुक्त तृतीय सचिव नारायण ज्ञवालीले युएईमा पाएको भव्य स्वागतले नेपाल र नेपालीको पक्षमा काम गर्न हौसला बढेको प्रतिक्रिया दिँदै सबैसँग सहकार्य गर्ने र यहाँका नेपाली संघसंस्थाका अगुवाहरुको मार्गदिर्नेशन पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे ।

स्वागत मन्तव्यकै क्रममा नेप्लिज सोसिएल क्लबका अध्यक्ष सालिक सुवेदी २३ वर्षका यतिका धेरै संस्थाहरु एकै मञ्चमा देख्दा खुसी लागेको प्रतिक्रिया दिएका थिए । उनले हिजोका राजदुतहरुले आआफ्ना पक्षका मानिसको भलाईका लागि काम गरेको आरोप लाउँदै यो टिमले सबैलाई आफ्नै सम्झेर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष भुपराज बस्यालले नयाँ कार्यवाहक राजदूतको आगमनले हर्षित सँगै सशंकित रहेको जनाउ दिए । उनले विगतका दिनमा दूतावासका पदाधिकारीहरुले म्यानपावर र भिजिट भिसाका दलालीहरुसँग मिलेर पत्रकारहरुलाई पीत पत्रकारको आरोप लगाएको स्मरण गराए । बस्यालले पत्रकारहरुको सबैसँग सन्तुलित सम्बन्ध रहने प्रस्ट पार्दै विकृति र विसंगतिका विरुद्ध पत्रकारहरको कलम निरन्तर चलिरहने जानकारी दिए ।

नेपाली दूतासासका नवनियुक्त श्रम सहचारी मोतीराम भुसालले युएईमा रहेका नेपालीहरको तर्फबाट संघसंस्थाका प्रतिनिधिहरुले खादा ओडाएर जिम्मेबारी बडेको अनुभूति भएको बताए । उनले यहाँका नेपाली संघसंस्था प्रमुखहरुको अनुभव, व्यावहारिकता र नेपाली दूतावासको वैधानिकता मिलेमा अझ व्यवस्थित तरिकाले कार्य सम्पादन हुने कुरामा विश्वास दिलाए ।

मन्तव्यकै क्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष उत्तम अधिकारीले विगतमा दुतावासले आफु अनुकूल नभए डिपोर्ट गराउने जस्ता धम्की दिएको स्मरण गराउँदै त्यस प्रकृतिका काम नदोहोर्याउन सुझाव दिए ।

नेपाल एयरलाइन्सका कन्ट्री मेनेजर रमेश पौडेल घरायसी कामदारहरुले नेपाल गएर फर्किने वातावरण नभएको हुँदा यो समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्न कार्यवाहक राजदूतलाई सुझाव दिए । भिजिट भिसामा युएईमा आउन कडाइ गरेका कारण सर्वसाधारण नेपालीहरुलाई झनै आर्थिक भार बडेको स्मरण गराए । भिजिट भिसामा युएई आउने प्रकृयालाई तत्काल व्यवस्थित गर्नुपर्ने कुरामा जोड दिन नेपाली दूतावासका नयाँ पदाधिकारीहरुलाई आग्रह समेत गरेका थिए ।

नेपाल लोक दोहोरी प्रतिष्ठानबाट स्वागत गर्दै ओमकुमारी खाँडले रोजगारीको अवसर खोज्दै मुग्लान पस्नु बाध्यता हो भन्ने मुक्तकका साथ स्वागत गरेकी थिइन् भने प्रवासी नेपालीहरुको जीवनमा उज्यालो छाउने वातावरण बनाउने गरी काम गर्न नयाँ कर्मचारीहरुलाई आग्रह समेत गरिन् । खाँडले नेपाली महिलाहरुको नेपाल गएर फर्किनका लागि श्रम स्वीकृति तत्काल खुला गर्न जोड दिएकी थिइन् ।

एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले दूतावासका कर्मचारीलाई इतिहासमै पहिलोपटक ठूलो जमातले स्वागत गरेको स्मरण गराउँदै वैदेशिक रोजगारीमा धेरै समस्या भएको स्मरण गराए । उनले विगतका केही राजदूतहरुसँग तिक्तता अनुभव गरेको प्रस्ट पारे । साथै उनले दूतावासको फोन नियमित उठोस् भन्ने सुझाव दिँदै युएईको जेलमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्न सुझाब दिए । कँडेलले युएईमा पनि ब्लडमनी तिर्नु पर्ने धेरै मुद्दाहरु रहेको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment