
९ माघ, इटहरी । ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेकामा आलोचित धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले आफूले विधिपूर्वक र आवश्यकताका कारणले गाडी किन्न लागेको दाबी गरेका छन् ।
अहिलेसम्म धरानमा सञ्चालित एसियाली विकास बैंकको खानेपानी परियोजनाको गाडी प्रयोग गर्दै आएकामा आफ्नो लागि अर्को गाडी आवश्यक भएको उनले बताए ।
सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मेयरले विलासी गाडी किन्न लागेको भन्दै आलोचना भएकोबारे मेयर सुब्बाले अनलाइनखबरसँग भने भने, ‘कि त मेयर साइकलमै हिँड्ने नियम बन्नुपर्यो, होइन भने आवश्यक कामको लागि किनिएको गाडीमा किन तनाव?’
धरानको नगर परिषदबाट स्वीकृत कार्यक्रम अन्तर्गत नै आफूले नयाँ गाडी किनेको उनले बताए । कमिसनको प्रलोभन नभई आवश्यकताले गाडी किनेको मेयर सुब्बाको जिकिर छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले गाडी अभावमा विराटनगरबाट धरान आउँदा सार्वजनिक गाडी चढ्नुपर्ने बाध्यता रहेको मेयर सुब्बा बताउँछन् । ‘मेयरले गाडी किनेको मात्रै देख्ने तर सार्वजनिक गाडीमा यात्रा गर्ने प्रशाशकीय अधिकृत चाहिँ नदेख्ने ?’ उनले प्रश्न गरे ।
प्रमुख प्रशासशकीय अधिकृत तिम्सिनाले नगर परिषदले बजेट पारित गरेर किनिएको गाडीमा विवाद गर्न आवश्यक नभएको बताए । ‘सबै प्रक्रिया परा भएर र आवश्यक भएरै गाडी किनिएको हो तर लाखौंको गाडी भनेर कुरा आएको छ’, उनले भने, ‘हजारौंमा मात्रै त गाडी आउदैन होला ।’
‘धरानमा तत्काल तीनवटा गाडी आवश्यक’
पर्याप्त सवारी साधन नभएका कारण धरान उपमहानगरपालिकालाई काममा समस्या भएको मेयर सुब्बाले बताए । नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका लागि गाडी व्यवस्थापन गर्न समस्या परेको उनको भनाइ छ ।
गाडी अभावकै कारण प्रमुख प्रशासकीय अधिकृत तिम्सिना तीन महिनादेखि विराटनगरबाट बस चढेर कार्यालय आउने जाने गरेको मेयर सुुब्बाले अनलाइनखबरलाई बताए ।
उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाले भने ‘गाडी अभावका कारण मेयर, उपमेयर र प्रशासकीय अधिकृतहरुलाई विद्यालयको अनुगमन, फुटपाथ ब्यवस्थापन गर्नसमेत समस्या भएको छ’, उनले भने ‘अहिले किन्न लागेको गाडी उपमहानगरपालिकाकै सम्पत्ति हो । अहिले हामीलाई तीनवटा गाडी अत्यावश्यक छ ।’
प्रतिक्रिया 4