+
+
Shares

राति कलेज पढ्दा केटी देख्नै पाइएन: अर्जुन पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १३:५६

नेपाली संगीतमा युवापुस्ताका माझिएका प्रतिभा हुन्, अर्जुन पोखरेल । दर्जनौ चलचित्रमा हिट गीत दिएका अर्जुन कलेजमा इमान्दार विद्यार्थीको रुपमा चिनिन्थे । अर्जुन पोखरेलको कलेज लाइफ कस्तो थियो ? उनकै शब्दमाः

मैले आरआर कलेज पढेको हुँ । चितवनको पिठुवाबाट एसएलसी दिएर काठमाडौं आउादा त्यस्तै १६/१७ वर्षको थिँए । काठमाडौं मेरो लागि अलि नौलो थियो ।

स्कुल पढ्दा नै मैले गीत लेखेको थिएँ । गीतसँगीतप्रति त्यसबेलादेखिकै रुची हो । आरआर क्याम्पसमा संगीत पढन पाइन्छ भनेर गाउँमै सुनेको थिएँ । आरआरमा नाइट सिफ्टमा भर्ना भएपछि थाह भयो, सँगीत त दिउासो मात्रै पढन पाइने रहेछ । केही साथीहरुले सल्लाह दिए ‘म्युजिक त प्राइभेट पढेपनि हुन्छ ।’ अनि म आरआरमै आर्टस पढन थालेँ ।

पहिलो दिन कलेज जाँदा अचम्म लाग्यो । हाम्रो स्कुलमा एउटै कोठामा ८०/९० जना हुन्थे । कलेजमा पनि त्यस्तै रहेछ । राती बत्ती वालेर पढ्दा एकखालको रमाइलो र नौलो अनुभूति भयो । हरेक विद्यार्थीमा एकखालको उत्साह भएजस्तो लाग्थ्यो । जुन उत्साह ममा पनि थियो ।

रात्रिकक्षा पढेकाले केटीको अनुहार देख्नै पाइएन । मन पराउनु त टाढाको विषयहुन्थ्यो । कलेज पढ्दा म सफाचट भएर हिँड्थे । जतिसुकै हेण्डसम भएर हिँडे पनि केटीले देख्दैनथे ।

विद्यार्थीहर विभिन्न जिल्लावाट आएका थिए । त्यो विविधतामा कलेजको वातावरण मलाई एकखालको रंगीन लाग्यो । सबै नौला अनुहार । मेरो गाउँकै केही साथीहरु पनि आएका थिए । कलेजमा मैले पहिलो साथी चाहिं विक्रम तिमल्सेनालाई बनाएँ जो अहिले अष्ट्रेलियामा हुनुहुन्छ । यसैगरी पुरुषोत्तम दाहाल, प्रकाश दाहाल र पर्शुराम रिजाललगायतसँग पनि दोस्ती भयो ।

साहित्यकार मञ्जुलकी श्रीमति सुस्मिता नेपाल हामीलाई नेपाली पढाउनु हुन्थ्यो । पढाउने क्रममा उहाँ कविता सुनाउनुहुन्थ्यो । मेरो पनि डायरीमा गीत थियो । मैले पनि क्लासमै केही गीत सुनाएको थिँए । गीत सुनेर उहाँले ‘निकै राम्रो छ, तिमी म्युजिकमै लाग । मैले चिनेको संगीत स्कुल छ म पनि भनिदिन्छु’ भन्नुभएको म झलझली सम्झन्छु । उहाँको कुराले मलाई हौस्याएको थियो, प्रेरणा दिएको थियो ।

पाँच रुपैयाँमा दुध हालेको चिया र दुईपीस मालपुवा खान पाइन्थ्यो । त्यसकारण म भोक लागेपछि कलेजै पुग्थें । अन्य ठाउँको तुलनामा निकै सस्तो थियो आरआरको खाजा ।

सरकारी कलेज भएकाले कहिलेकाँही कुनै सरहरु ४/५ दिनसम्म पढाउन आउनुहुन्नथ्यो । त्यो मौकामा हामी गीत गाएर हल्ला गर्थ्यौं, अफिसमा गएर धर्ना दिन्थ्यौं ।

पेट्रोललगायत इन्धनमा मुल्य बढ्दा होहाल्ला गर्थ्यौं । नजिकै महेन्द्र पुलिस क्लब थियो । हामीले होहल्ला गरेपछि भ्यान आएर कलेज अगाडी बस्थ्यो । भ्यान देखेपछि हामी आफ्नो क्लासमा बस्थ्यौं ।

हाम्रो पिरियड समय पाँच मिनेट घटाइएछ । त्यो पनि कसरी भने पियनले हरेक पिरियडमा घडीको सुई पाँच मिनेट बढाइदिँदा रहेछन् । त्यो थाहा पाएपछि हामीले अफिसमै गएर घडी आफैंले घुमायौं ।

आर आर पढ्दा तीन ठाउँमा डेरा सरेँ । पहिलो डेरा पुरानो वानेश्वरमा थियो । महिनाको छ सय रुपैया तिर्नुपथ्र्यो । पछि अनामनगर हुँदै पुरुषोत्तम दाहालसंगै शोभाभगवतीमा सरेँ । शोभाभगवतिको डेरा सबैभन्दा अप्ठयारो थियो । कलेज आउन ४० मिनेट हिँड्नुपथ्र्यो । कतै जानुपरे २०/२५ मिनेट नहिँडेसम्म गाडी पाइदैन थियो ।

रात्रिकक्षा पढेकाले केटीको अनुहार देख्नै पाइएन । मन पराउनु त टाढाको विषयहुन्थ्यो । कलेज पढ्दा म सफाचट भएर हिँड्थे । आइरन नलगाई सर्ट पाइन्ट लगाउदिन थिएँ भने कपालमा तेल हालेर सर्लक्क कोर्ने चलन थियो । तर, जतिसुकै हेण्डसम भएर हिँडे पनि केटीले देख्दैनथे ।

पढाईमा म राम्रै थिँए । कहिल्यै पनि फेल भएर ‘पास भएँ’ भनेर झुक्याइन । परिक्षाको वेला बेलुका अवेलासम्म पढथेँ । सुतेपछि पनि एक डेढघण्टा निन्द्रा लाग्दैनथ्यो । कोर्सकै सन्दर्भ सम्झीरहन्थे । बिहान उठेर फेरि त्यहि अघिल्लो दिन पढेको दोहोर्‍याउथेँ ।

मलाई म्याथ सबैभन्दा सजिलो लाग्थ्यो । सरकारी स्कुल पढेकाले अंग्रेजी सबैभन्दा गार्‍हो लाग्थ्यो । राती पढ्ने भएकाले कलेज कहिल्यै बंक गर्नु परेन । कलेज पढ्दा मात्रै हैन, अहिलेसम्म पनि मैले रक्सि चुरोटको स्वाद लिएको छैन ।

जागिरको हकमा एकपटक लोकसेवा आयोगको र्फम भरेको छु । र्फम लिएर लोकसेवा आयोगको कार्यालयमा गएको भिड लामो रहेछ, फर्केर आएँ । त्यसपछि कहिल्यै भरिन । जागीर खान छाडेर सँगीतलाई नै व्यवसायिक रुपमा अपनाउँदै आजसम्म आइरहेको छु । सँगीत नै मेरो सँसार बन्यो । म आज जहाँ छु, त्यसका लागि कलेज लाइफले नै प्रेरणा र बातावरण दिएको हो । कलेजका पुराना साथीहरुमा पर्शुराम रिजाल, प्रकाश दाहाल, जगदीश खरेल र दिनेश रेग्मीसंग अहिले पनि भेट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?