Comments Add Comment

मधेसीको बलिदानी र मधेस सरकार

राजविराज नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकार सञ्चालन गर्ने काम सजिलो होइन ।’ उनले सरकार चलाउनु अप्ठ्यारोको काम भएको बताउँदै राम्रो गर्नका लागि सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रदेश नम्बर २ मा फोरम र राजपाको प्रष्ट बहुमत आएको छ सरकार बनाउनका निम्ति । केही सिट फोरम नेपालको बढी भएकाले उसले मुख्यमन्त्री पाउनुपर्ने बहस पनि भइरहेको छ । केही दिनमै २ नम्बर प्रदेशमा मधेसी दलको सरकार बन्नेछ ।

पहिलोपटक आफ्नै नेतृत्वको सरकारको अनुभव गर्ने मधेसवादी दलहरुलाई शुरुवाती दौरमा अप्ठ्यारो हुन सक्छ उपेन्द्र यादवले भनेजस्तै । उपेन्द्र यादवकै अर्काे आशारुपी भनाइलाई मान्ने हो भने सरकारले धेरै राम्रो समेत गर्न सक्छ । अत्यन्तै गरीव भएको देश सिंगापुर र कोरियाले अत्यन्तै छोटो समयमा धनी बनेको उदाहरण दिदैं उनले भनेका थिए, “२ नम्बर प्रदेश पनि चाँडै समृद्वितर्फ जान सक्छ ।”

उनले यसका लागि शिक्षा महत्वपूर्ण भएको बताएका थिए । यद्यपी २ नम्बर प्रदेशको शिक्षाको अवस्थालाई हेर्ने हो भने अत्यन्तै कमजोर छ । सामुदायिक विद्यालयका भवनहरु राम्रो भएपनि गुणस्तरीय शिक्षा छैन । यस प्रदेशमा अझै ५ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय पुग्नै बाँकी छ । मधेसी नेताहरुकै भनाइलाई मान्ने हो भने २ नम्बर प्रदेश अत्यन्तै गरीव प्रदेश हो । अहिले जारी शीतलहरीकै कहरलाई आधार बनाउँदै नेताहरुले भन्दै आएका छन्, “गरिवीकै कारण यहाँका जनता मरिरहेका छन् ।”

सरकार बनाउने नेताहरुको शुरुअाती अर्काे कथन रहँदै आएको छ, ‘मधेसमा राज्यले हेपेको छ । मधेससँग विभेद गरेर विकासीय कामलाई पछि पारेको छ ।’

अब सरकारमाथि लगाउँदै आएको आरोप मधेसी दलका नेताहरुको आफ्नै थाप्लोमाथि पर्नेछ । यो कुरालाई मधेसी नेताहरुले स्वीकार पनि गरिसकेका छन् । राजपाबाट विधायक बनेका मनिष सुमन भने बोल्ने हरेक कार्यक्रममा ‘अब जनताले राज्यभन्दा आफूहरुसँग अपेक्षा गरेका छन् । यो अपेक्षालाई हामीले पूरा गर्‍छौं ।’ भन्दै आएका छन् ।

सरकार बनाउने सवालमा मधेसी दलका नेताहरुले आफैंले बोल्दै आएको हरेक कुरालाई स्मरण गर्दै अघि बढ्नुको विकल्प छैन । समस्या देखाउने उनीहरुलाई नै समाधान पनि खोज्नुपर्ने समय आएको छ । अब समय र शक्ति दुबै उनीहरुकै साथमा छ । सरकार कसरी बनाउने ?, कसरी सञ्चालन गर्ने ?, आफैंले हेरेको र भन्दै आएका समस्यालाई कसरी समाधान गर्ने ? शिक्षा र विकासमा पछि परेको प्रदेशलाई कसरी उकास्ने ? जस्ता प्रश्नहरु उनीहरुतर्फ नै तेर्सिएको छ ।

जनताको जनादेश

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकिएसँगै सरकार बनाउने सन्दर्भमा बिभिन्न किसिमको बहस भइरहेको छ प्रदेश नम्बर २ मा पनि । फोरम नेपाल र राजपा गठबन्धन बनाएरै चुनाव लडेको थियो । र, गठबन्धनकै सरकार बन्ने नेताहरुले उदघोष पनि गरिसकेका छन् ।

चुनावअघि नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा बनाइएको गठबन्धन एउटा प्रयोग भएको र यो प्रयोग सफल भएमा पार्टी एकीकरणसम्म नै हुने प्रतिकृया दिएका थिए ।

उनले भनेजस्तै २ नम्बर प्रदेशमा प्रयोग सफल भएको छ । प्रयोग सफल भएपनि बाहिरी कोणबाट फोरमले वामसँग मिलेर सरकार बनाउने चर्चा नभएको होइन । फोरम नेपालकै अध्यक्ष उपेन्द्र यादवले एक रेडियोसँग कुरा गर्दै राजपा चना चटपटे जस्तो भएकाले एकता हुन नसक्ने आयश प्रकट गरेका छन् । यद्यपि राजपा अथवा फोरमकै कुनै नेतृत्व तहको या प्रभावशाली नेताबाट सरकार बनाउने बिषयमा यस्तो भनाई नआइसकेकाले बाहिरी कुरालाई केलाउनु पनि ठीक होइन ।

यद्यपि राजनीतिको खेल कहाँ कसरी प्रष्टफुटित हुन्छ भन्ने कुराको यकिन गर्न सबैलाई गाह्रै पर्छ । तथापि दुई नम्बर प्रदेशमा फोरम र राजपा मिलेर सरकार बनाउनुको विकल्प छैन । कारण, जनताले यही जनादेश दिएका छन् ।

सानोतिनो विवाद र राजनीतिक संलग्नता

प्रदेश नम्बर २ का आठ जिल्ला साना-तिना कुरामा धेरै अल्झिने गर्छन् । सानातिना कुराले कहिलेकाँही ठूलो रुप लिने पनि गर्दछ । जग्गा विवाद, पारिवारिक विवाद, सामाजिक विवाद जस्ता कुराले ठूला रुप लिएका घटनाहरु प्रशस्तै भएको देखिन्छ । यी घटना घर र समाजमा भएपनि सिधैं प्रहरीदेखि अदालतसम्म पुग्ने गरेको छ ।

खासगरी नेताहरुले आफ्नो मान्छे दोषी भए पनि बचाउन खोज्ने र निर्दाेषलाई फसाउने तथा पीडितलाई न्याय नदिनेसम्मको कृयाकलापमा विगतमा संलग्न भएकै हो । यी सानातिना कुरा सरकारसम्म नपुग्ला भन्न सकिन्न । यस्ता साना कुराहरुमा अल्झेमा दुई नम्बर प्रदेशको सरकार जनताकै नजरमा कमजोर सरकार नहोला भन्न गाह्रो छ ।

अर्काे कुरा हेर्ने हो भने यी प्रदेशमा बोक्सी, दाइजो प्रथाका साथै घरेलु हिंसाका घटना पनि व्याप्त हुने गर्दछ । यी घटनाहरुमा पनि नेताहरुले प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्नता देखाएकै हुन्छन् । भोलिका दिनमा बन्ने मधेसवादी दलको सरकार यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिन खोजे पनि जनतालाई मान्य हुने छैन ।

आफन्तलाई नियुक्ति, अर्काेलाई सास्ती

हुन त यो हाम्रो देशकै बिडम्बना हो, आफन्तलाई अवसर दिने र योग्य नेपाली नागरिकलाई सास्ती दिने काम । अब बन्ने मधेस सरकारलाई यी कुराहरुमा गम्भीर भएर सोच्नु जरुरी छ । ०६३ सालको मधेस आन्दोलन पश्चात बनेको सबै सरकारमा मधेसी दलको सहभागिता रह्यो । तर, जनताको आरोप अहिलेसम्म के छ भने सरकारमा जाने नेताहरुले आफ्नो स्वार्थ पूर्ती गरे, आफन्तलाई विभिन्न ठाउँमा नियुक्ति दिए, छोराछोरीलाई पढाउन विदेश पठाए । मधेसमा पढेलेखेका योग्य नागरिक भए पनि पाखा लगाए ।

यस्ता आरोपबाट यो सरकारलाई मुक्त हुनैपर्छ । प्रदेश तहमा हुने नियुक्ति स्वच्छ र इमान्दारीपूर्वक गर्नु नै मधेसवादी दलहरुका लागि फलदायी बन्न सक्छ ।

मधेसको बलिदानी र नेताहरुको कर्तव्य

मधेसका अनेक युवाले आफ्नो रगत बगाउँदै मधेसवादी दलका नेताहरुलाई यो ठाउँसम्म पुर्‍याएको कसैसँग लुकेको छैन । आजकै दिनलाई सम्भिmने हो भने ०६३ माघ ५ गते सिराहाको लहानबाट शुरु भएको आन्दोलनमा दर्जनौंले रगत बगाइसकेका छन् ।

माघ ५ गते भएको आन्दोलनको पहिलो शहीद बनेका रमेश महतोसहित हालसम्म भएका मधेस आन्दोलनका शहीद परिवार नेताहरुप्रति खुशी देखिएका छैनन् । ०६३ सालको आन्दोलनपछि ०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा राम्रो सिट ल्याएको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका मधेसी दलहरु टुटफुट हुँदै जाँदा शहीद परिवार मात्र होइन, आम मधेसी जनता पनि रुष्ट देखिए । फलस्वरुप, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेसी नेताहरुलाई त्यो स्वाद पनि चखाए ।

तर, यसपटक पुनः जनताले यी दलहरुलाई यहाँसम्म पुर्‍याइदिए कि अब सरकार सञ्चालन यी नेताहरुले नै गर्नेछन् । मौका पाएपछि आफ्नो मनोमानी भन्दा पनि शहीद परिवार र आम मधेसी जनताको भावनालाई बुझेर सरकार संचालन गर्नु उनीहरुका लागि जरुरी छ । यो एक किसिमको चुनौति पनि हो । तर, चुनौतिलाई राम्रोसँग चिरेर अगाडि बढ्न नसकिए आगामी दिनमा ०७० सालको संविधानसभाको निर्वाचनजस्तै हविगत नहोला भन्न सकिन्न ।

हातमा मौका आएका कारण आफन्त, परिवार, इष्टमित्रको मायामा नअल्झिकन लोभ, लालच, व्यक्तिगत स्वार्थलाई समेत त्यागेर अगाडि बढेमा मात्रै २ नम्बर प्रदेशको सरकार सफल बन्न सक्छ । यसर्थ सबैको भावनालाई कदर गर्दै, विगतको दिनमा गरिएका गल्तीलाई सच्याउनु नै मधेसवादी दलहरुका लागि बुद्विमानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment