Comments Add Comment

किन जोकर बनाइँदैछ सौगात मल्ललाई ?

बिक्रीमा दक्षता होइन, आवरण मात्र

१२ माघ, काठमाडौं । औसत उचाईका, कसिलो ज्यानका, गहुगोरो बर्णका सौगात मल्ल ‘हिरो’ हुन् । उनी शारीरिक आवरणले भन्दा पनि माझिएको अभिनयले ‘हिरो’ भएका हुन् ।

तर, फिल्ममेकर्सले उनको ‘दक्षता’ होइन, आवरण बिक्री गरिरहेका छन् ।

तात्तातो उदाहरणका लागि ‘लालपूर्जा’ हेरे पुग्छ । ‘कलात्मक’ बनाउने चक्करमा फिल्म पूरै ध्वस्त भएको छ । मुख्य पात्रको चरित्रलाई अलपत्र पारेर छाडिएको छ । मूख्य पात्र हुन्, सौगात ।

त्यसो त, यस विन्दुमा आएर मात्र सौगातको लय बिग्रिएको होइन । ‘कबड्डी-कबड्डी’पछिका अधिकांश फिल्मले उनलाई ‘अफ ट्रयाक’मा दौडाएका छन् ।

सौगातको ब्रान्ड बेच्ने चक्करमा फिल्ममेकर्सले उनलाई यति हल्काफुल्का ढंगले पेश गरिरहेका छन् कि उनको करिअर नै दुर्घटनामा पर्ने जोखिम छ ।

‘हिरो भनेको सौगात नै हुन्, उनलाई लिएपछि फिल्म गजब चल्छ’ भन्ने ह्याङओभरबाट मुक्त हुन नसकेका फिल्ममेकर्सले बुझेजस्तो लाग्दैन, वास्तवमा सौगात के हुन् ?

भर्सटायल अभिनेता

सौगात मल्ललाई उनकै दामली निश्चल बस्नेतले ‘हाकु काले’ बनाए, फिल्म ‘लुट’मा । आवरणमा भट्टी पसले तर भित्री नियत बैंक लुट्ने । हेर्दा अपत्यारिलो तर आइडिया मास्टर ।

लामो कर्ली कपाल पालेका अधवैंशे नेवारको हुलियामा सौगात कति फिट थिए भने धेरैले उनलाई ‘हाकु काले’ नै ठाने । पछि रामबाबु गुरुङले ‘कबड्डी कबड्डी’मार्फत् उनलाई शहरीया अल्लारेको रुपमा पेश गरे । थकाली खानदानको उरन्ठेउलो ठिटो बनेका सौगात उक्त चरित्रमा खास्सा देखिए ।

वास्तवमा उनी यस्ता अभिनेता हुन्, जसलाई थरिथरिको बान्कीमा ढाल्न सकिन्छ । चाहे जब्बर अधबैंशेको रुपमा होस् वा फन्टुस् श्रीमान् । चाहे लभर ब्वाई होस् वा बलिष्ठ तन्नेरी । सबै चरित्रमा सौगातले आफूलाई पेश गर्न सक्छन् । शंका छैन, उनी भर्सटायल अभिनेता हुन् ।

पछिल्लो छिमलका अभिनेता सलोन बस्नेतले हामीसँग भनेका छन्, ‘मलाई सौगात मल्ल एकदमै बेस्ट एक्टर लाग्छ । हाम्रो सर्कल (अनमोल केसी, संयम पुरी, गौरव पहाडी)ले मान्ने हिरो भनेकै सौगात दाइ हुन् ।’

यसरी बुझौं, उनी ‘हिरोहरुको पनि हिरो’ हुन् ।

तर, सौगातमा हिरोइजम छैन । हुलमा मिसाइयो भने उनलाई अटोग्राफ माग्ने वा आश्चर्यले हेर्ने ताँती नहुन सक्छ । किनभने, उनको हुलिया एकदमै सामान्य छ । सौगात भन्छन् नै, ‘मलाई भीडमा त्यति वास्ता गर्दैनन् ।’

सामान्य जीवनयापन रुचाउने सौगात अभिनयका साधक हुन् भन्न कञ्जुस्याईं गर्नु पर्दैन । उनी आफ्नो चरित्रलाई सकेसम्म स्वाभाविक, पत्यारिलो र रोचक बनाउन मरिमेट्छन् । उनी कुनै पनि चरित्रमा आफू हाबी नभइयोस् भन्नेमा बढी सतर्क छन् ।

दशकअघि ‘कागबेनी’मा ‘रमेश’ बनेका सौगातले त्यसपछि त्यस्तै हुलियामा कहिले पनि आफूलाई दोहोर्‍याएनन् ।

यसअघि हामीसँगको कुराकानीमा उनले भनेका थिए, ‘स्क्रिप्ट हातमा परेपछि क्यारेक्टरमा डुब्ने अभ्यास गर्छु । भीडमा जान्छु । मान्छेहरुले बोलेको, हिँडेको सबै याद गर्छु । आफूलाई राम्रो लागेको कुरा उनीहरुबाट टिप्छु ।’


सम्भावनाको उदय

राजेश हमालको पट्यारलाग्दो युगको अवसानसँगै केही चकलेटी हिरोहरु फुत्त-फुत्त देखापरे । तर, उनीहरुको अनुहारको बान्कीले फिल्मको साख जोगाउन सकेन । न त सर्कसजस्तो ‘स्टन्ट’मा दर्शक रमाउन सके ।

पर्दामा कमाल देखाउन नसक्ने तर बाहिरी रुपमा ‘हिरोइजम’ देखाउने हिरोहरुको उत्थान र पतनले नेपाली फिल्ममा हलचल पैदा गरेन ।

ठीक यही मोडमा आइपुगेपछि दयाहाङ राई, सौगात मल्लहरुको उदय भयो । उनीहरुले युवा दर्शकको ठूलो हिस्सा कब्जा गरे । नेपाली फिल्म हेर्न लाज मान्ने दर्शकहरु ‘सौगात’को नामले तानिएर टिकटको पंक्तिमा उभिन पुगे ।

‘कागबेनी’, ‘लुट’, ‘कबड्डी-कबड्डी’जस्ता फिल्मबाट सौगातले आफ्नो ‘ब्रान्ड भ्यालु’ बढाए । यो कुनै चमत्कारको बलमा आर्जित ‘ब्रान्ड’ थिएन, बरु सौगातको मिहिनेत र साधनाको प्रतिफल थियो । यति दुःखसाथ आर्जेको ब्रान्डलाई आलाकाँचा निर्माताहरुले सिद्राझैं बिक्रीमा राखे ।

गल्ती सौगातको पनि हो । उनी जस्तोसुकै टिमसँग पनि फिल्म खेल्न राजी भए । आफ्नो क्यारेक्टरमा केन्द्रित हुँदा उनले समग्र फिल्मलाई बिर्सिए । तर, फिल्म एउटा क्यारेक्टरको बलमा चल्न सक्दैन भन्ने हेक्का रहेन उनमा सायद ।

जोकर बनाइँदै सौगात

अहिले कमेडी फिल्मको धङधङी बोकेर निर्माताहरु अन्धाधुन्द दौडिरहेका छन् । निश्चल बस्नेत, रामबाबु गुरुङहरुले अपनाएको शैलीलाई जानी-नजानी सिको गर्दै फिल्म बनाउनेहरुको ठूलो झुण्ड चलायमान छ, यहाँ ।

उनीहरुको बुझाइ देखिन्छ, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की र बुद्धि तामाङमध्ये कसैलाई लिनुपर्छ । द्विअर्थी संवाद राख्नुपर्छ । दृश्यहरु हास्यरसयुक्त बनाउनुपर्छ ।

आफ्नै चेतना र चिन्तनको आलोकमा उभिएर फिल्म बनाउनेभन्दा ‘फलानोले गरेजस्तै’ फिल्म बनाउने लहरै चलेको छ । यसमा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा’ शृंखलाले पनि मोह बढाइदिएको छ ।

त्यसैले धमाधम ‘लुट’ वा ‘कबड्डी’जस्तै फिल्म बनाउने उपक्रम जारी छ । यसैको घनचक्करमा सौगात पेलिएका छन् ।

पछिल्ला केही फिल्म केलाउने हो भने जोकरभन्दा माथि उठ्न नदिइएको प्रष्ट हुन्छ, सौगातलाई ।

कुनै पनि फिल्मको अवधारणा तय भएपछि त्यसको कथाले नै पात्रहरुको माग गर्ने हो । पात्रअनुसार कलाकार चयन गर्न सक्नु निर्देशकको खुबी हो ।

तर, जस्तोसुकै कथा, विषय र प्रसंगमा पनि सौगातलाई बुख्याँचाजस्तै उभ्याइदिँदा त्यसले अरु त डुब्छन् नै, सौगातलाई पनि तैरन गाह्रो हुन्छ ।

कुनै पनि फिल्ममा क्यारेक्टर डिजाइन गर्दा, त्यसलाई कस्तो रुपमा पेश गर्ने, गेटअप कस्तो बनाउने, कस्तो लवजमा बोल्न लगाउने, कस्ट्युम डिजाइन कस्तो गर्नेदेखि अनुहारको रंग, कपालको स्टाइलसम्ममा ख्याल गरिन्छ ।

त्यति मात्र होइन, उक्त क्यारेक्टरलाई कस्तो फ्रेममा राख्ने र कुन पाटोबाट खिच्ने भन्नेसम्मको ज्ञान निर्देशकलाई हुन्छ । तर, हामीकहाँ जस्तोसुकै कथा होस्, जुरुक्कै उचालेर सौगातलाई क्यामेरा अघिल्तिर उभ्याइन्छ ।

अपरिपक्व निर्देशनको शिकार बनेका छन्, सौगात । उनीबाट जुन तत्व निकाल्नुपर्ने हो, त्यो खोजिएको छैन । के मात्र बुझिएको छ भने सौगात मल्लले खेलेको फिल्म भनेपछि दर्शकको ओइरो लाग्छ । सौगातले पनि यो कुरामा अनुमोदन गरिदिएका छन्, जसले उनलाई हिरो होइन, जोकर बनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment