Comments Add Comment

सेयर बजार स्थिर- आंशिक लगानी बढाउन ब्रोकरहरुको लबिङ

बजार 'न्युट्रल जोन'मा रहेको आरएसआई विश्लेषण


१३ माघ, काठमाडौं । नेप्से परिसूचक सातागत आधारमा मात्रै एक दशमलव ९७ अंकले घटेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक १४ सय ६ दशमलव पाँच विन्दुमा थियो भने गत साता अन्तिम दिन १४ सय चार दशमलव ५३ विन्दुमा झरेको छ ।

अघिल्लो साता तीन दिन मात्र कारोबार भएकामा यसपटक साताको पाँचै दिन बजार खुल्यो । र, कारोबार रकम करिब ५९ प्रतिशतले बढ्यो । दैनिक कारोबार रकम भने औसतमा घट्दो प्रवृत्तिमा देखिएको छ । सातामा एक अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

‘बजार स्थिरजस्तो त देखियो, बढ्ने दरिलो आधार भने देखिँदैन,’ एक ब्रोकर भन्छन् । बजार घट्नुका कारणहरुमा सुधार नआएसम्म कारोबारले अपेक्षित गति लिने सम्भावना कम देखिएको उनी बताउँछन् ।

बजार स्थिरजस्तै देखिएकाले आफ्नो लगानी क्षमतामध्ये २० देखि २५ प्रतिशत पुँजी बजारमा भित्र्याउन ब्रोकरहरुले लगानीकर्तालाई सुझाइरहेका छन् ।

‘बजारले निश्चित दिशा लिन सकेको छैन तर कतिपय कम्पनीको मूल्य निकै घटेकाले कम्तिमा २०/२५ प्रतिशत लगानी बढाउन हामीले सुझाव दिइरहेका छौं,’ ती ब्रोकर भन्छन् ।

अहिले बजार घट्नुको मुख्य कारण नै बैंकहरुमा देखिएको कर्जायोग्य लगानी अभाव हो । त्यसबाहेक पुस मसान्तसम्ममा अधिकांश कम्पनीको लाभांश प्राप्त गर्ने अवधि सकिने भएकाले पनि यो समय बजार घट्ने क्रम देखिने गरेको छ ।

दुई वर्षयता बैंक तथा वित्तीय संस्थाबाट पुँजी वृद्धिका लागि लाभांश प्राप्त गर्ने आशामा बजारले यो चक्रलाई खासै पछ्याएको देखिएको थिएन । तर, बैंक तथा वित्तीय संस्थाहरुले पुँजी वृद्धि गर्ने अवधि सकिएकाले पनि यसपटक लाभांशकै आशमा बजार बढ्ने सम्भावना कमजोर देखिन्छ ।

यसबाहेक सरकार निर्माणमा भइरहेको ढिलाइ, बैंक तथा वित्तीय संस्थाको मिश्रति किसिमको नाफा देखिएकाले पनि बजारमा वृद्धि उच्च हुन सकेको छैन ।

जलविद्युत् समूहको परिसूचक सातामा सबैभन्दा धेरै अंकले घट्यो । यही समूहको सानिमा माई हाइड्रोको कारोबार सबैभन्दा धेरै भएको छ । सातामा कम्पनीको १६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

स्थानीय बासिन्दा र कर्मचारीमा बिक्री भएको सेयरको लकिङ पिरियड सकिन लागेकाले मूल्य घट्ने र कारोबार हुने सेयर परिमाण बढ्ने गरेको छ । स्थानीय बासिन्दामा जारी भएका यस्ता सेयरको तीन वर्ष लकिङ पिरियड तोकिएको हुन्छ । उक्त अवधि पूरा नभएसम्म दोस्रो बजारमा यी सेयर किनबेच हुन पाउँदैनन् ।

गत साता बजारमा ५५ लाख कित्ता नयाँ सेयर थपिए । सूर्या लाइफको ६ लाख ५६ हजार कित्ता बोनस र ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर सूचीकृत भए । नयाँ सेयर सूचीकरणसँगै बजारमा आपूर्ति पक्षमा उच्च वृद्धि हुँदै गएको छ ।

पिभट विश्लेषण

एक सातायताको नेप्से परिसूचकका आधारमा निकालिएको पिभट विश्लेषणले नेप्सेले आगामी महिनाभित्रमा १३ सय ७८ विन्दुमै पहिलो टेवा पाउने संकेत गरिरहेको छ ।

उक्त विन्दुमा नेप्सेले टेवा पाउन नसकेमा १३ सय ५१ मा अर्को टेवाको सम्भावना देखिन्छ । नेप्सेले धेरै वृद्धि हासिल गर्न सक्ने भने देखिँदैन ।

यही अवधिमा नेप्सेले १४ सय ४३ विन्दुमा प्रतिरोध पाउने सम्भावना पनि छ । नेप्सेको उच्च, न्यून र अन्तिम विन्दुका आधारमा पिभट, टेवा र प्रतिरोध विन्दुहरु पत्ता लगाउने गरिन्छ । गत महिना नेप्सेले १४ सय ५६ मा उच्च, १३ सय ९० मा न्यून र १४ सय चारमा अन्तिम विन्दु बनाएको थियो ।

आरएसआई विश्लेषण

गत साता नेप्से परिसूचकको आरएसआई सूचक स्केलको ५० अंकमा पुगेको थियो । तर, क्रमिक रुपमा घटेर अन्तिम दिन ३७ मा आइपुगेको छ । आरएसआई विश्लेषणले बजार ‘न्युट्रल जोन’ अर्थात् सन्तुलित अवस्थामा नै रहेको संकेत गरिरहेको छ ।

नेप्सेको आरएसआई सूचक स्केल ३० माथि आएकाले बजार न्युट्रल जोनमा रहेको संकेत पाइएको हो । आरएसआई सूचक स्केलको ५० विन्दुसम्म पुगेर घटेको देखिन्छ । यद्यपि, स्केल ३४ मा टेवा पाएकाले केही आशावादी बन्न सकिन्छ ।

स्केल ३० मुनि बजार रहँदा ‘ओभर सोल्ड’ र ७० भन्दा माथि रहँदा ‘ओभर बट’ क्षेत्रमा रहेको मानिन्छ । नेप्से परिसूचकले १४ दिनमा जोडेको र गुमाएको अंकलाई आधार मानेर गरिने यो विश्लेषणले बजारमा किनबेचको चाप कस्तो छ भन्ने संकेत गर्छ ।

सिम्पल मुभिङ एभरेज

अघिल्लो साता नेप्सेको सात र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा आपसमा नजिक हुँदै गइरहेको देखिएको थियो । अहिले भने दूरी केही बढेको छ । २१ दिने रेखा सातदिनेभन्दा माथि नै छ ।

यी दुई रेखा नजिकिन लागेमा भने लगानी बढाउन सकिन्छ । यदि २१ दिने रेखालाई सातदिनेले काटेर माथि लागेमा बजार थप बढ्ने मानिन्छ ।

हेड एन्ड सोल्जरको डर

नेप्से परिसूचकको गत महिनाको रेखाचित्रले हेड एन्ड सोल्जर बनाउने सम्भावना देखाइरहेको छ । यद्यपि, त्यही आकृती निर्माण हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । यस्तो आकृति बनेमा नेप्से थप केही घट्ने सम्भावना छ ।

हालका लागि रेखाचित्रका आधारमा नेप्सेको प्रतिरोध वा लक्ष्य १४ सय ३७ र १४ सय ५६ छ । यसमा ब्रेक आउट भएमा बजार बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment