Comments Add Comment

उहिलेका डाक्टर भगवान, अहिलेका हाइटेक !

युवकको फोक्सो र युवतीको स्तनमा क्यान्सर देखिनु आश्चर्यजनक

विगत १५ वर्षयता युवामा समेत जटिल समस्या देेखिन थालेका छन् । २५ -३० वर्षको मानिसलाई हृदयाघात भैरहेको छ । ३०-३५ वर्षका मानिसलाई फोक्सोको क्यान्सर भैरहेको छ, जबकि क्यान्सर लाग्ने उमेर भनेकै ५५ वर्षभन्दा माथि हो । पाठेघरको क्यान्सर, स्तनको क्यान्सर हुने उमेर ५५ वर्ष रहेकोमा हाल १९-२० वर्षकै युवतीलाई समेत स्तन क्यान्सर हुनुले आश्चर्यचकित बनाएको छ । अहिलेको अवस्थाको वर्णन गर्ने हो भने रोगको कुरामा हामी पश्चिमाहरु भन्दा करिब १० वर्ष अगाडि छौं, शायद खानपानकै कारण यस्तो हुन सक्छ ।
    – बरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया

१३ माघ, काठमाडौं । छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया आफ्नो पालाका चर्चित डाक्टरमध्ये एक मानिन्छन् । कम औषधि प्रयोग गरेर विरामीको राम्रो जाँच गर्ने डाक्टरहरुको सुचीमा पिया अग्रपंक्तिमा पर्छन् । उनको मान्यता छ, विरामीलाई कम औषधिमै पनि राम्रो उपचार गर्न सकिन्छ ।

डा. पिया चिकित्सा क्षेत्रमा लागेको झण्डै चार दशक भयो । चार दशकमध्ये उनले करिब ३२ वर्ष त छातीसम्बन्धी रोगको उपचारमै बिताए । यस क्रममा उनले नेपालीहरुको स्वास्थ्यमा भएको उथलपुथल नजिकबाटै नियाल्ने राम्रो अवसर पाए ।

सन् १९७५ मा डा. पियाले जब शान्तभवनबाट काम सुरु गरे, त्यसबेला दम निकै कम हुने गर्थ्यो नेपालीहरुमा । हृदयाघातका विरामी खासै देखिँदैनथे ।

डा. पियालाई अहिलेको भन्दा उहिलेको खानपान र रहनसहन राम्रो लाग्छ ।

सन् १९८३/८४ तिर हृदयाघातका विरामी एक दिन बिराएर अस्पतालमा पुग्न थाले । दमका बिरामीहरु दिनहुँजसो अस्पताल पुग्न थाले । वि.सं ०४६ सालमा नेपालमा प्रजातन्त्र आएसँगै सबै कुरा अनियन्त्रित भयो । पेट्रोल, गाडी, खाद्यान्न लगायतका सबै कुरामा प्रजातन्त्र आयो । देशमा आएको प्रजातन्त्रसँगै पछिल्ला १० वर्षमा मानव स्वास्थ्य दिनहुँ घातक बन्दै गएको डा. पियाको अनुभव छ ।

आहा ! त्योबेलाको काठमाडौं !

डा. पियाको परिवार बन्दीपुरबाट चितवनमा बसाइँ सर्‍यो । उनी १० कक्षा पढ्न चितवनबाट काठमाडौ आए । काठमाडौमा उनी क्षेत्रपाटी बसेर लैनचौरस्थित जेपी हाईस्कूलमा पढ्थे ।

त्यसबेला मोबाइल फोनको जमाना थिएन । हरेक मानिसको भेटघाटको स्थल भनेको न्यूरोडको पिपलबोट हुने गथ्र्यो । कुनै साथी भेट्नु परे पिपलबोट पुग्नुपर्थ्यो । त्यसबेला न्यूरोडको पिपलबोटले अफिसियल ल्याण्डमार्ककै रुपमा काम गथ्र्यो । त्यहाँ गएपछि कोही न कोही भेटिएकै हुन्थ्यो ।

प्रत्येक साँझ उनी साथीहरुको जमात लिएर क्षेत्रपाटीबाट पकनाजोल हुँदै लैनचौर पुगेर १० रुपैयाँको चीज खान्थे । त्यतिबेला लैनचौरमा १० ग्राम चीज १० रुपैयाँमा पाइन्थ्यो । त्यही चीज खाँदै उनीहरु हिँडेर न्यूरोडको पिपलबोटसम्म पुग्ने गर्थे । र, फेरि सोही रुट क्षेत्रपाटी र्फकन्थे । यो क्रम दिनहुँजसो चलिरहन्थ्यो ।

त्यो जमानामा काठमाडौंमा गाडीको त्यति धेरै पहुँच थिएन । जसका कारण त्यतिबेलाका मानिस हिँडेरै स्कुल जाने, हिँडेरै कलेज जाने अनि हिँडेरै अफिस जाने गर्थे । डा. पिया सम्झन्छन्- ‘यसले गर्दा शरीरको यति राम्रो एक्सरसाइज हुन्थ्यो कि उनीहरुलाई अरु एक्सरसाइजको आवश्यकता नै पर्दैनथ्यो ।’

पहिलेका डाक्टर र अहिलेका…

सुरुमा डा. पिया शान्तभवनमा काम गर्थे । त्यसबेला सडकमा हिँड्दा होस् वा, भन्सार जाँदा होस् । तरकारी किन्न होस् वा अन्य कुनै काममा, जसले पनि उनलाई डाक्टर साब भनेर बोलाउँथे । डाक्टरलाई मानिसहरुले असाध्यै श्रद्धा गर्थे । ‘त्यतिबेलाका मानिसहरु डाक्टरलाई भगवानझैं पुज्ने गर्थे, कतिपय त डाक्टर साब भनेर ढोग्नै आउँथे,’ पिया सम्झन्छन्, ‘अहिले ती कुराहरु हास्यास्पद जस्तै लाग्छन् ।’

शायद त्योबेला डाक्टरहरु कम भएर पनि यस्तो भएको हुन सक्छ । तर, हरेक पेशामा आएको विकृतिका कारण पछिल्लो समय कुनै पनि पेशाामाथिको विश्वास कम हुँदै गएको उनको बुझाइ छ ।

विगतमा आफूले दिएको औषधि हातमा लिएर, ढोगाएर खाने गरेको सम्झँदै उनी भन्छन्- ‘त्योबेलामा बिरामीले औषधि ढोगेर खानु भनेको हामीप्रतिको विश्वास हो । डाक्टरले मलाई ठीक औषधि दिएको छ र यसले मलाई ठीक गर्छ भनेर विश्वास गर्नु हो ।’

विरामीको यस्तो विश्वासले रोग निको पार्नसमेत धेरै मद्दत गरेको उनको तर्क छ ।

उहिले रोग पनि सीमित, औषधि पनि सक्कली

त्यसो त त्योबेला रोग पनि सीमित थियो, औषधि पनि सीमित । नक्कली औषधि भन्ने बजारमै थिएन । त्यसबेला औषधिमात्रै नभएर तेलदखि खानेकुरासम्म सबै शुद्ध पाइन्थ्यो ।

डा. पियाले अनलाइनखबरसँग कुरा गर्दै ऊबेलाको समय सम्झिए, ‘तेल पनि हररर बास्ना आउँथ्यो, बासमती चामल ल्यायो भने घरैभरि मगमग बास्ना आउँथ्यो’, अहिले त बास्नै छैन ।’

अहिले पनि उहिले मानिस स्वस्थ्य देखिन्छन् । दाँतमा पनि एउटा वा दुईटा भन्दा बढी किरा लागेको देखिँदैन । अहिलेका बच्चा त के हो के, दाँत उम्रन पाएको छैन, सबैको किराले खाएर फिलिङ गर्नुपर्ने !

अहिलेको खानपानदेखि औषधिसम्मले पनि विरामीहरुको उपचार पद्दतिमा असर पार्ने गरेको बताउँदै डा. पिया भन्छन्, ‘त्योबेलामा जे खाइयो, स्वस्थकर खाइयो । उसबेला व्यायाम पनि राम्रै हुन्थ्यो ।’

चुरोटको धुँवा उडाउँदै बिरामी जाँचेको क्षण

त्यसबेला नेपालमा करिब २/३ सयको हाराहारीमा मात्रै चिकित्सक थिए । चिकित्सकहरु कम भएकाले बिरामीको चाप बढी हुन्थ्यो । कतिसम्म भने एउटा डाक्टरले दिनमा सयदेखि डेढ सय बिरामी हेर्नु पथ्र्यो, जसका कारण चिकित्सकलाई ब्रेक लिने समय त परै जाओस्, एक मिनेट बाहिर जाने समयसम्म हुँदैनथ्यो । त्यसपछि त के, डाक्टरहरु बहिरंग सेवामै पनि मज्जाले चुरोटको धुवा उडाउँदै बिरामी जाँच्थे ।

‘त्यतिमात्र कहाँ हो र ? आफू भने तनतन चुरोट तान्ने अनि बिरामीलाई भने धुमपान गर्नुहुँदैन भनेर समेत सल्लाह दिइन्थ्यो’, डा. पियाले विगत सुनाए ।

गलत खानपानले रोग निम्त्यायो

‘उसबेलाको खाना स्वस्थ्यकर हुन्थ्यो । दिनहुँ मासु खाने भन्ने त चलन नै थिएन,’ डा. सा’ब विगतको खानपान सम्झन्छन्, ‘हप्तामा एकपटक खसीको मासु टन्न खाइन्थ्यो । जंकफुड भन्ने छँदै थिएन । कोकाकोला भर्खर भर्खर देखिन थालेको थियो, त्यो पनि पाकिस्तानबाट आएको भन्थे । त्यो पनि टिनको बट्टामा पाइन्थ्यो, एउटा टिनकै तीन रुपैयाँ पर्थ्यो, जुन निकै महँगो थियो त्यसबेला ।’

डा. पियाले विगत र आगतको थप तुलनात्मक विश्लेषण गरे- ‘२५ पैसामा त हाम्रो खाजा नै आउँथ्यो । त्यसैले त्योबेलामा कोक खाने भनेको त लक्जरी थियो । तीन रुपैयाँमा त हलमा गएर फिल्म नै हेर्न सकिन्थ्यो ।’

डा. पिया थप्छन्- ‘खानाकै हिसाबमा हेर्दा पनि अहिले पनि त्यसबेलाका मानिस स्वस्थ्य नै देखिन्छन् । दाँतमा पनि एउटा वा दुईटाभन्दा बढी किरा लागेको देखिँदैन । अहिलेका बच्चा त के हो के, जन्मन पाएको छैन, सबैको किराले खाएर फिलिङ गर्नुपर्ने ।’

हाम्रो पालामा क्यान्सर भन्ने रोग एकदुई जनालाई मात्रै लागेको देखिन्थ्यो, अहिले त ३०-३५ वर्षका मानिसहरुमा पनि हृदयाघात, क्यान्सर लगायतको रोग देखिने गरेको छ

आफ्नो पालामा चकलेट आक्कल झुक्कल रुपमा मात्रै देखेका डा. पिया अहिलेका बच्चाहरु रुनासाथ चकलेट दिने चलनले उनीहरुमा विभिन्न रोगहरुको जोखिम निम्तिएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पालामा क्यान्सर भन्ने रोग एकदुई जनालाई मात्रै लागेको देखिन्थ्यो, अहिले त ३०-३५ वर्षका मानिसहरुमा पनि हृदयाघात, क्यान्सर लगायतको रोग देखिने गरेको छ ।

बदलिँदो जीवनशैली र गलत खानपानका कारण मानिसहरुमा यस किसिमका समस्या देखिएको डा. पियाको विश्लेषण छ ।

उनले फेरि विगत सम्झिए ‘हामीभन्दा पहिलेका मानिसले एक माना घ्यू पनि पचाउँथे । किनकि उनीहरु दिनभरि काम गर्थे, उकालो-ओरालो गर्थे । भारी बोक्थे । त्यसरी काम गर्दा त ढुङ्गा पनि पच्छ । हाम्रो पालामा त्यो केही कम भयो, अहिले त झन् एक्सरसाइज भन्ने त छँदैछैन । हिँड्ने भन्ने नै छैन । जहाँ जाँदँ पनि गाडीको प्रयोग गरिन्छ । खानाकै कुरा गर्दा पनि पकाउन सजिलो र सजिलै पाइने हुदाँ जंकफुडकै प्रयोग बढीमात्रामा गरिन्छ ।’

यसरी विनाकुनै कसरत यथेष्ट मात्रामा जंकफुडको प्रयोगले खाएको खाना पेटमा जम्मा हुदाँ सानै उमेरदेखि मानिसहरुलाई उच्चरक्तचाप, मुटुरोग लगायतका विभिन्न समस्या देखिने गरेको उनी बताउँछन् ।

उमेरगत विश्लेषण

डा. पियाका अनुसार विगत २० वर्षयता नेपालीहरुको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेको छ । विगत १५ वर्षयता भने युवास्वास्थाका मानिसहरुमा समेत जटिल समस्या धेरै नै देेखिन थालेका छन् ।

पाठेघरको क्यान्सर, स्तनको क्यान्सर हुने उमेर ५५ वर्ष रहेकोमा हाल १९-२० वर्षकै उमेरका युवतीलाई समेत स्तन क्यान्सर हुनुले आफूलाई आश्चर्यचकित बनाएको डा. पिया बताउँछन्

‘यतिसम्म कि २५ -३० वर्षको मानिसलाई समेत हृदयाघात भैरहेको छ । ३०-३५ वर्षका मानिसलाई फोक्सोको क्यान्सर भैरहेका छ,’ डा. पिया भन्छन्, जबकि क्यान्सर लाग्ने उमेर भनेकै ५५ वर्षभन्दा माथि हो ।’

पाठेघरको क्यान्सर, स्तनको क्यान्सर हुने उमेर ५५ वर्ष रहेकोमा हाल १९-२० वर्षकै उमेरका युवतीलाई समेत स्तन क्यान्सर हुनुले आफूलाई आश्चर्यचकित बनाएको डा. पिया बताउँछन् ।

त्यतिमात्र हैन, क्यान्सर रोगबारे किताबमा लेखेको कुरा भन्दा फरक लक्षण लिएरसमेत क्यान्सरका बिरामी आफूकहाँ आउन थालेको उनले सुनाए । ‘अहिलेको अवस्थाको वर्णन गर्ने हो भने रोगको कुरामा अहिले हामी पश्चिमाहरुभन्दा करिब १० वर्ष अगाडि छौं, डा. पियाले भने, ‘यो शायद खानपानकै कारण हुनसक्छ । यद्यपि, यस्तो हुनुको मुख्य कारणबारे नेपालमा खासै अनुसन्धान भएको छैन ।’

डा. पियाका अनुसार पछिल्लो समयमा युवावस्थामा देखिँदै गएको विभिन्न किसिमको क्यान्सर केही आक्रामक अवस्थामा छ ।

अनुभवकै आधारमा फोक्सोको पानी !

एकपटक एकजना बिरामी फोक्सोमा पानी जमेको समस्या लिएर डा. पियाकहाँ पुगिन् । ती बिरामी अरु कोही नभएर डा. पियाकै साथीकी बहिनी थिइन् । कैयौं डाक्टरकहाँ जाँदा पनि रोग पत्ता नलागेपछि ती साथीले बहिनीलाई डा. पियाका पुर्‍याएका थिए ।

डा. पियाले बहिनीलाई हेर्नासाथ ‘उनको फोक्सोमा पानी जमेको छ भनेर बताइदिए ।’

साथी चकित भए । सुरुमा त साथीले डा. पियाको कुरालाई हावामा उडाइदिए । डा.पियाको कुरा पत्याउँदा पनि पत्याएनन् । पत्याउन् पनि कसरी ? जाँचै नगरी डाक्टरले त्यस्तो कुरा भन्ने कुनै आधार पनि थिएन ।

त्यत्तिकैमा डा. पियाले तुरुन्तै ती बहिनीको फोक्सोबाट पानी निकाल्न आफ्ना मातहतका कर्मचारीलाई अर्‍हाए । फोक्सोबाट पानी पनि झिकियो । त्यसको जाँच पनि भयो । अन्ततः रिर्पोट पनि आयो, जहाँ लेखिएको थियो, ‘फोक्सोमा पानी जमेको’ ।

कुनै उपकरण थिएन । तर, अनुभव नै सबै कुरा थियो ।

डा. पियाले नेपालमा जुनबेला चिकित्सा जाँच शुरु गरे, त्यतिबेला उपचार पद्दतिको कुरा गर्ने हो भने मुश्किलले एक्सरे मेसिन हुन्थ्यो । रगत जाँच्ने केही उपकरण थिए । अरु त परै जाओस्, अल्ट्रासाउण्ड मेसिनसम्म हुँदैनथ्यो । जति जाँच हुन्थ्यो, डाक्टरको अनुभव र सीपकै आधारमा हुन्थ्यो ।

पहिले-पहिले उपकरण नभएका कारण हुनसक्छ, विरामीको हिस्ट्री लिनुपर्ने बाध्यता थियो । जबकि अहिलेका डाक्टरहरु हाईटेक भएर पनि हुनसक्छ, बिरामीको जाँच गरेर रोग पत्ता लगाउनमा भन्दा उपकरणमा बढी विश्वास गर्छन्

उपकरण मात्र हैन, कमजोर आर्थिक अवस्थाका कारण एक्सरे गर्ने हालतमा समेत हँुदैनथे बिरामीहरु । अनि के गर्ने ? त्यस्तो अवस्थामा आफूले जानेको सीप र अनुभवकै आधारमा बिरामीको जाँच गर्नुपर्थ्यो ।

कतिपय अवस्थामा आफ्नो सीपकै आधारमा छातीमा हानेरै पनि उनी छातीको ९० प्रतिशत समस्या पहिचान गर्थे ।

‘शायद त्यो हाम्रो बाध्यता पनि थियो, अरु केही उपाय नभएपछि जसरी भए पनि विरामीको सही उपचार त गर्नु नै थियो’, डा. पियाले अनलाइनखबरसँग भने ।

फोक्सोमा पानी जमेको विरामीको हकमा अहिले पनि विनउपकरण सामान्य उपचारकै भरमा ९९ प्रतिशत रोग पत्ता लगाई उपचार गर्ने गरेको उनले दाबी गरे । जबकि अहिलेका चिकित्सकहरु जाँचबुझबिनै उपकरणमाथि बढी भर पर्ने गरेको उनी बताउँछन् ।

उनी भन्छन्,’पहिले-पहिले उपकरण नभएका कारण हुनसक्छ, विरामीको हिस्ट्री लिनुपर्ने बाध्यता थियो । जबकि अहिलेका डाक्टरहरु हाईटेक भएर पनि हुनसक्छ, बिरामीको जाँच गरेर रोग पत्ता लगाउनमा भन्दा उपकरणमा बढी विश्वास गर्छन् ।’

डा. पियाको अनुभवमा अहिलेका बिरामी छिसिक्क केही भए पनि अस्पताल पुग्ने गर्छन् । जसका कारण चिकित्सकहरुलाई पनि विभिन्न उपकरणद्वारा चेकजाँच गर्न बाध्यता पर्छ । जब कि त्यसबेला सुविधा नहुदाँ बिरामीहरु ढीलो गरी अस्पताल पुग्थे, जसका कारण बिरामीहरुको रोग पत्ता लाग्न पनि चिकित्सकलाई सजिलो हुने गर्थ्यो ।

डा.पियालाई अहिलेको जीवन त्यति ठीक लाग्दैन । साथीहरु सबै रिटार्यड जीवन बिताइरहँदा डा. पिया भने अझै पनि आफ्नो पेशामा उत्तिकै व्यस्त छन् । कतिसम्म भने उनलाई साथीभाइसित रमाइलो गर्ने त परै जाओस्, भेट्ने फुर्सदसम्म हुँदैन । त्यसैले उनले अहिले सोच बनाएका छन् । प्रत्येक दिन बेलुकी ५ बजेउता कुनै काम नगर्ने ।

उनको दिनचर्या अहिले यसरी नै चलिरहेको छ ।

बिहान कफीदेखि बेलुकी भातसम्म

डा. पिया बिहान करिब ६ बजेको हाराहारीमा उठ्छन् । बिहान एक मग कफी खान्छन् । त्यसपछि मह पानी खाएर विस्तरा छोड्छन् ।

नुहाईधुवाई गरेर करिब आधाघण्टा अनुलोम-विलोम लगायत, हात तथा ढाडको योगा गर्छन् ।

पहिले-पहिले योगा गरेलगत्तै उनी खाना खाइहाल्थे । अहिले उमेर बढेसँगै उनले खानामा समेत ख्याल गर्न थालेका छन् । समयसँगै आफूलाई समेत परिवर्तन गरेका छन् उनले ।

पार्टीहरुमा जादाँ पनि खाने, दिउँसो पनि खाने र राति पनि खाने गर्दा शरीरलाई पचाउन गार्‍हो भएपछि करिब डेढ वर्षदेखि उनी राति एक छाकमात्रै खाना खान थालेका छन् । उनी साधारण खानेकुरा खान्छन् । खानामा उनलाई मलेखुको झुपडीमा तारेका माछा खुबै मनपर्छ । यसअर्थमा उनी कुनै खाना बार्दैनन् ।

दिनमा उनलाई एक कोसो केरा अनिवार्य चाहिन्छ । बेलाबेलामा ३/४ टुक्रा काजु, किसमिस, बदाम लगायतका खानेकुरा कुटुकुटु खाइरहन्छन् । त्यसबाहेक, प्रशस्त मात्रामा पानी पिउँछन् । यसरी खाना खाँदा शरीर स्वस्थ रहने गरेेको उनको अनुभव छ ।

डा. पिया राति साढे नौ बजेभित्र सुतिसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment