Comments Add Comment

हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

प्रहरी कार्यालयमा नारावाजी- 'कि सास चाहियाे कि लास चाहियाे'

१४ माघ, काठमाडौं । हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएका छैनन् । ललितपुरको थसिखेलमा रहेको अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका हुन् ।

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएको छ । यद्यपि, उनको अत्तोपत्तो लागेको छैन ।

महानगरीय प्रहरी वृत, सातदोबाटोका डिएसपी विनोद सिलवालले बेपत्ता तामाङको खोजी कार्य भइरहेको बताए । प्रहरीले अनुसन्धानका क्रममा विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको छ ।

विद्यार्थी वेपत्ता भएकाे चार दिन वितिसक्दा समेत विद्यार्थी नभेटिएपछि आक्रोशित अभिभावकहरुले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरेका छन् । उनीहरुले जोनको ‘कि सास चाहियो कि लास चाहियो’ भन्दै नारावाजी गरेका हुन् ।

गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा जोन हराए । प्रिन्सिपलको बयान अनुसार त्यसपछि उनीहरुले जोनको खोजी थाले । तर, उनी भेटिएनन् । र, साँझ प्रहरीलार्इ खबर गरियाे ।

बेलुकी ८ बजे उनको परिवारले जोन हराएको थाहा भयो । ‘हामीलाई ढिलो मात्र जानकारी दिइयो । उनले समयमै भनेको भए हामी तत्काल खोजीमा जुट्थ्यौं’, जोनका दाजु सविन तामाङले अनलाइनखबरसँग भने ।

प्रिन्सिपलले मदिरा सेवन गरेका कारण उनले समयमा प्रहरी र आफूहरुलाई जानकारी नगराएको परिवारको आरोप छ । उनीहरुले प्रिन्सिपलले बताएको घटना विवरण र अन्य विद्यार्थीले बताएको विववरण समेत मेल नखाएको बताएका छन् ।

‘टोलीमा रहेको विद्यार्थीहरुले त्यहाँ डेन्जर जोन लेखिएको वोर्ड वरिपरिबाट बच्चा हराएको भनेका छन्’, तामाङले भने, ‘तर, प्रिन्सिपलले त्यसबाट माथिदेखि नै हराएको भनेका छन् । उनकै भनाइ पनि छिनछिनमा फेरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment