१५ माघ, काठमाडौं । एमाले नेता बेदुराम भुसालले राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेले भुसाललाई प्रदेश ३ को खुला कोटाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । खुला सदस्यमा एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट रामबहादुर थापा वादल उम्मेदवार छन् ।
प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल र तेस्रो नम्बरमा भुसाल थिए । तर, नेमकिपा लगायतका साना दलले समर्थन नगरेपछि तीनमध्ये २ सिट मात्र वाम गठबन्धनले जित्न सक्ने देखिएको छ ।
त्यस्तो अवस्थामा एमालेको भोट वादललाई नआउने र उनले चुनाव हार्न सक्ने भन्दै माओवादी झस्किएपछि एमाले र माओवादी शीर्ष नेताहरुको बैठक सोमबार बसेको थियो, जहाँ भुसालको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।
त्यही सहमति अनुसार भुसालले उम्मेदवारी फिर्ता लिए । ‘बादलजीलाई अप्ठ्यारो पर्ने र त्यसले पार्टी एकतामै असर गर्न सक्ने कुरा आयो’ भुसालले भने, ‘पार्टी एकतामा नै अप्ठ्यारो पर्छ भने म त्याग गर्न तयार छु भनेर फिर्ता लिएँ ।’
यो पनि पढ्नुहोस्
बादललाई ‘डेन्जर जोन’मा पर्न नदिन बेदुरामको उम्मेदवारी फिर्ता !
प्रतिक्रिया 4