+
+
Shares

सहबासको समय जुधेर मर्छन् भाले चितुवा

अमृत सुवेदी अमृत सुवेदी
२०७४ माघ १५ गते २०:५०

१५ माघ, पोखरा । बजार क्षेत्रमै मृत चितुवा फेला परेपछि जिल्ला वन कार्यालयलाई प्रहरीले खबर गर्‍यो । प्रहरीले जिल्ला वन कार्यालयमा खबर गरेपछि वनले मृत चितुवालाई ल्याएर पोष्टमार्टम गर्‍यो । पोस्टमार्टबाट चितुवाको विष सेवनबाट मृत्यु भएको भेटियो ।

चितुवाले कसरी विष सेवन गर्‍यो त ? ‘पछिल्लो समय सहरी तथा ग्रामिण क्षेत्रमा चितुवा पुगेर कसैको कुखुरा, पाठापाठी खाइदिने क्रम बढेपछि विष राखेर उसलाई खुवाइएको हुन सक्छ,’ जिल्ला वन कार्यालय कास्कीका प्रमुख केदार बरालले अनलाइनखबरसँग भने, ‘वन क्षेत्र बढेसँगै चितुवाको संख्या बढी बढिरहेको छ, मर्ने क्रम पनि बढिरहेको छ ।’

माघ महिनामा मात्रै ३ चितुवा मरेका छन् । कास्कीका विभिन्न ठाउँमा चितुवा मृत फेला परेका थिए भने यो वर्षमात्रै कास्कीमा १० चितुवा मृत फेला परेका छन् ।

वैशाखदेखि हालसम्म विभिन्न ठाउँमा विभिन्न कारणले १० चितुवा मृत फेला परेका हुन् । मृत फेला परेका चितुवामध्ये ७ भाले र ३ पोथी छन् ।

साउन, भदौ र असोजमा १/१ वटा चितुवा मृत फेला परे भने पुसमा ४ वटा र माघमा ३ चितुवा मृत परेका हुन् ।

वन कार्यालय प्रमुख बरालका अनुसार २ वटा चितुवा विष सेवनबाट मरेको पोष्टमार्टम रिपोर्टले देखाएको भने अन्य भाले जुधेर, सवारी साधनमा ठोकिएर रोगी र बुढो भएर मरेका छन् । विष खुवाएर चितुवा मरेपछि वन कार्यालयले अनुसन्धान गरिरहेको बरालले जानकारी दिए ।

यो समय बढी भाले जुधेर मर्ने गरेको उनले बताए । ‘यो समय भनेको चितुवाको सहबासको समय हो । यो बेला भाले चितुवाले आफ्नो क्षेत्र कायम गर्छ त्यो क्षेत्रमा अर्को चितुवा आइपुग्यो भने जुधेरै मर्छन्,’ प्रमुख बरालले भने ।

भालेपोथी भेट हुने र समागमको समय पुसदेखि चैतको मध्यसम्म हुने भएकाले यो समयमा एकै ठाउँमा दुई भाले चितुवा बस्न सक्दैनन् ।

पछिल्लो समय भाले चितुवाको संख्या बढिरहेको वन कार्यालय बताउँछ । ‘पछिल्लो समय चितुवामात्रै होइन सबै खालका भाले जनवारको संख्या बढिरहेको छ,’ बरालले भने, ‘भालकोे संख्याभन्दा पोथीको संख्या निकै कम छ ।

पछिल्लो समय सहरी क्षेत्रमा समेत चितुवा देखिन थालेका छन् । गएको वर्ष पोखरा–१ बगरको एक पसलभित्रै छिरेर चितुवाले तान्डव मच्चाएको थियो । केही महिनाअघि एउटा चितुवा सवारी साधनमा ठोकिएर मरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार अधिकांश वन्यजन्तुमा सेक्स रेसियो मा असन्तुलन हुँदै गएको छ । जसका कारण भालेको संख्यामा वृद्धि र पोथीको संख्यामा कमी हुँदै गैरहेको छ ।

कुनै एक जंगल क्षेत्रमा दुइवटा भाले चितुवा रहन नसक्ने र दइ वटा मध्य एउटाले अर्कोलाई परास्त गरी मार्ने वा लखेट्ने हुँदासमेत भाले चितुवा एक आपसमा झगडा गरेर मर्ने गरेको पाइएको छ ।

वन क्षेत्र बढेसँगै चितुवाको संख्या बढ्यो

चितुवालाई गैडा, हात्ती जस्तो संरक्षित जनावरमा राखिएको छैन । जसका कारण चितुवाको यकिन संख्या यति नै छ भन्ने अवस्था छैन तर वन क्षेत्र बेढ्ने क्रमसँगै चितुवाको संख्या पनि बढिरहेको वन कार्यालय बताउँछ ।

वन तथा भूसंरक्षण मन्त्रालयले गरेको वनको मापनले मध्यपहाडी भूभागमा विगत १० वर्षमा वनको क्षेत्र बढ्दै गएको छ । गाउँघरका बारी र टारीसमेत खेती गर्न छाडिएपछि वन क्षेत्र बढ्दै छ । जसको कारणले चितुवाको संख्यामा पनि व्यापक वृद्धि भएको वनका प्रमुख बरालले बताए ।

कास्कीमा ९३ हजार ६ सय ४९ हेक्टर जमिन वन क्षेत्र छ । पछिल्लो समय कास्कीमा २ प्रतिशत वन क्षेत्र वृद्धि भएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?