Comments Add Comment

रमेश बिजीको गुनासो: लोकदोहोरी क्षेत्रमा सरकारको हेपाहा प्रवृत्ति

जापानमा आमा सम्झिएर भक्कानिए कलाकर्मी

३० जनवरी, टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले लोकदोहोरी क्षेत्र अझैपनि नेपाल सरकारको नजरमा पर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिष्ठान जापान शाखाको पहिलो अधिवेशनमा सहभागी हुन जापान आएका बिजीले लोकदोहोरी क्षेत्रलाई सरकारले हेपाहा प्रवृत्तिले हेर्ने गरेको गुनासो पोखे ।

‘प्रतिष्ठानबाट कयौं पटक माग लिएर सरकारसमक्ष पुग्यौं तर केही पाउन सकेनौं’, बिजीले अझैपनि आशातित हुँदै थपे,’सरकारले पक्कै एकदिन प्रतिष्ठानको कुरो सुन्नेछ ।’

त्यस्तै बिजीले लोक कलाकारहरुलाई राजनैतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेको भएपनि त्यहीँ कलाकारको अवस्था र पीडा बुझ्न भने कहिल्यै नसकेको गुनासो गरे ।

उनको अनुसार प्रतिष्ठानको पहिलो माग लोकदोहोरी सेन्सर बोर्ड हो । तर, यसलाई पनि सरकारले बेवास्ता गरेको भन्दै अनलाइनखबरसँगको कुराकानीमा सरकारप्रति गुनासो गरे ।

उनले भने,’सेन्सर बोर्ड नहुँदा पछिल्लो समय गीतसंगीत क्षेत्रभित्र विकृति भित्रिदै गएको छ ।’

जापानमा आमालाई सम्झिएर भक्कानिए बिजी

कति वर्ष भयो आमा तिम्ले पकाएको

तिम्रो छेउमै बसी थपीथपी नखाएको

जिन्दगीको पहिलो अन्न लिटो

आमा तिम्ले पकाएको पिठो पनि मिठो

आउने मान्छे भेटे आमा तिम्रो फोटो पठाइदेऊ

तिम्रो हातले पकाएको रोटो पठाइदेऊ

रमेश बिजीले माथि उल्लेखित हरफ भन्दै गर्दा बिजीसँगै हलमा सहभागी कलाकर्मीहरु भावुक बने ।

बर्षौंदेखि आमालाई भेट्न र आमाले पकाएको खान नपाएका जापानमा रहेका कलाकर्मीको अनुहारमा देखिएको भावुकताले आमाप्रतिको मायालाई दर्शाइरहेको थियो ।

आफ्ना प्रायः सिर्जनामा परदेशीएका नेपालीहरुको दुःख पीडालाई गीतमार्फत प्रस्तुत गर्दै आएका बिजीले कार्यक्रममा आफ्ना पुराना सिर्जनाहरु समेत सम्झिन भ्याए ।

‘सररर पानी घट्टमा’, ‘देउरालीमा ध्वाजा’लगायतका गीतले परदेशीएका नेपालीहरुको कथा बोल्ने भन्दै सम्झिएका हुन् ।

प्रतिष्ठानको स्थापनाकालदेखि नै सक्रिय रहेका बिजी लोक गीतसंगीतमा रमाउँदै गर्दा आफ्नो लागी जिवनसंगिनी समेत खोज्न भ्याएनन् । उनले प्रतिष्ठानकै धराली बन्नाले आफुँ अझै अबिवाहित रहेको कुरा खुलाए ।

त्यस्तै गीतमार्फत आमालाई थुप्रै पटक सम्झिएका बिजीले बाबाको सम्झनामा बनाएको गीत समेत बजारमा ल्याउने तयारीमा छन् । ‘शिरैको टोपीको घेरो फाटेको’, ‘छोरो अमेरिका छ’ गीतमा बिजीले बाबालाई सम्झिएको बताए ।

जापानमा बिजीलाई सम्मान

स्याङ्जा समाज जापानले सर्जक रमेश बिजीलाई सम्मान गरेको छ । स्याङ्जा जिल्लाबाट लोक गीतसंगीतमा आफ्नो छुट्टै पहिचान बनाएका बिजीलाई कला र साहित्य क्षेत्रमा समग्र जिल्लाकै नाम उच्च राख्न गरेको येगदानको कदर गर्दै समाजले सम्मान गरेको हो ।

त्यस्तै बिजीले उक्त सम्मान ग्रहण गर्दे आफूलाई सो सम्मानले अझ धेरै जिम्मावारीबोध बनाएको बताए ।

‘कला र साहित्य क्षेत्रमा स्याङ्जा जिल्ला सदैव अगाडी रहेको हुँदा यो पहिचानलाई जोगाई राख्न म आफ्नो तर्फबाट निरन्तर लागि पर्ने छु’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment