
१७ माघ, इटहरी । १२ वर्षदेखि लिम्बुवान राज्यको माग गर्दै आएका नेता कुमार लिङ्देनले अबको आन्दोलन प्रदेश र केन्द्र दुवैसँग हुने बताएका छन् ।
अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने माग गर्दै आएको लिङ्देन अध्यक्ष भएको संघीय लिम्बुवान मञ्चले देश र प्रदेश दुवैमा आफ्ना मााग जोडदार रुपमा राख्ने उनले बताए ।
‘हामी अब प्रदेशको नाम लिम्बुवान राख्ने मु्द्दामा प्रदेश सरकारसँग लड्छौं’, अनलाइखबरसँगको कुराकानीमा लिङ्देनले भने, ‘हाम्रो १० प्लस १ प्रदेशको माग भने केन्द्र सरकारसँग हुनेछ ।’
९३ जना प्रदेश सांसदमा प्रदेश एकमा एकजना मात्रै समानुपातिक सांसद पाए पनि लिम्बुवान आन्दोलन बलियो हुने लिङ्देनको दाबी छ । ‘हामीले पहिल्यैदेखि जित्दै आएका छौं । संघीयता नै सुन्न नमान्ने देशमा ७ वटा संघीय राज्य स्थापनामा सहमत गराउनेसम्मको वातावरण हाम्रै आन्दोलनले बनाएको हो’, लिङ्देनले भने, ‘७ प्रदेशबाट ११ बनाउने अबको हाम्रो मुद्दा पनि बलियो हुन्छ ।’
केन्द्रसँग जल, जमिन र जंगलको अधिकारको विषयमा र भन्सार र भाषाको आन्दोलन भने प्रदेशसँगै गर्ने लिङ्देनलेे बताए । लिम्बुवान आन्दोलन जातीय आन्दोलन नभएर भूगोल र पहिचानको भएको पनि उनले दोहोर्याए । ९ जिल्ला मागेको आन्दोलनमा १४ जिल्लाको प्रदेशले कसरी लिम्बुवान दिन्छ भन्ने प्रश्नमा लिङ्देनले प्रतिप्रश्न गरे, ‘मधेसमा मधेस प्रदेश हुन्छ भने पूर्वमा लिम्बुवान प्रदेश किन हुँदैन ?’
प्रतिक्रिया 4