+
+

अमेरिकामा पनि चरम गरिबी ! नपत्याए राष्ट्रसंघको प्रतिवेदन हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १४:३०

वासिंटन डिसी । अमेरिकालाई समृद्धि र वैभवको अर्को नामका रुपमा लिइन्छ । त्यहाँका हरेक नागरिकले सुखी र सम्पन्न जीवन बाँचिरहेको विश्वास गरिन्छ ।

तर, वास्तविकता अली फरक छ । अमेरिकामा पनि गरिब नागरिक छन् । चरम गरिबी र मानवअधिकारको रिपोर्ट बनाउन खटिएका संयुक्त राष्ट्रसंघका एक विशेष प्रतिनिधिले १० दिन अमेरिकामा बिताए र आफ्नो प्रतिवेदनमा अमेरिकामा गरिब र धनीबीचको डरलाग्दो अन्तराललाई उजागर गरेका छन् ।

उनको प्रतिवेदनको परिचयात्मक भाग यस्तो छ:

मैले विगत दुई हप्ता अमेरिकाको भ्रमणमा बिताएँ । म अमेरिकामा चरम गरिबीको मारमा परेका नागरिकको मानवअधिकार उपभोग अवस्थालाई हेर्न संघीय सरकारको निमन्त्रणामा गएको हुँ । मैले क्यालिफोर्निया, अलाबमा, जर्जिया, पुयर्टो रिको, वेस्ट भर्जिनिया र वासिंटन डिसीको यात्रा गर्दा दर्जनौं विशेषज्ञ र नागरिक समुहहरुसँग छलफल गरेँ, राज्य र संघीय सरकारका उच्चपदस्थ अधिकारीहरुलाई भेटेँ र चरम गरिबीमा बाँचिरहेका वा घरवारविहिन मानिसहरुसँग कुरा गरेँ । मेरो भ्रमणलाई सहजिकरण गरिदिएकोमा म ट्रम्प प्रशासनप्रति आभारी छु ।

मेरो भ्रमण असमानता र चरम गरिबीसँग सम्वन्धित अमेरिकी नीतिहरुको दिशामा आएको नाटकीय परिवर्तनको बेलामा भयो । प्रस्तावित कर सुधार प्याकेजले अमेरिकालाई संसारको सबैभन्दा असमान समाज बनाउनेतर्फ धकेलेको छ र यसले १ प्रतिशत धनाढ्य र ५० प्रतिशत गरिब अमेरिकीहरुबीचको सम्पत्ति र आयमा पहिल्यै रहेको असमानताको उच्च तहलाई ह्वात्तै बढाउनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रवक्ता रियानल संकेत गरेको तथा प्रशासनले कार्यान्वयन गर्न थालिसकेको सामाजिक कल्याणमा नाटकीय कटौतीले पहिल्यै छियाछिया अवस्थामा रहेको सामाजिक सुरक्षाको जालोलाई च्यातिदिएको छ ।

अमेरिका संसारको सबैभन्दा धनी र शक्तिशाली हुनुका साथ प्राविधिकरुपमा अग्रगामी देश हो । तर, न यसको सम्पत्तिले न शक्तिले न त प्रविधिले नै निरन्तर गरिबीमा बाँचिरहेका ४ करोड जनतालाई सम्वोधन गर्नसकेको छ ।

विगत दुई सातामा मैले धेरै कुरा सुनेँ र देखेँ । मैले लस एन्जेलसको ‘स्किड रो’ मा जसोतसो बाँचिरहेका धेरै मानिसहरु भेटेँ । मैले सान फ्रान्सिस्कोका प्रहरी अधिकृतले घरवारविहीन मानिसहरुको समुहलाई त्यहाँबाट जान आदेश दिएको, तर कहाँ जाने भनेर सोधिँदा कुनै जवाफ दिन नसकेको देखेँ । मैले आफ्ना सबै दाँत गुमाएका मानिसहरु देखेँ किनकी अत्यन्त गरिबलाई उपलब्ध अधिकांस कार्यक्रमले वयस्कको डेन्टल केयरलाई समेट्दैन । र, मैले पुयर्टो रिकोमा पूर्णरुपमा असुरक्षित कोइलाको पहाड नजिक बसेका मानिसहरु भेटेँ, जुन उनीहरुमाथि बषिर्न्थ्यो र उनीहरुलाई बिरामी, अशक्त बनाउनुका साथै मृत्यूको समेत कारण बन्थ्यो ।

अवश्य पनि, यो सम्पूर्ण कथा होइन । मैले धेरै सकारात्मक कुराहरु पनि देखेँ । मैले राज्य र विशेषगरी महानगरका अधिकारीहरुसँग भेटे जो तिनीहरुको समुदायका २० प्रतिशत चरम गरिबहरुका लागि सामाजिक संरक्षण सुधार गर्न प्रतिवद्ध थिए । मैले धेरै ठाउँहरुमा उर्जावान नागरिक समाज देखेँ ।

मैले सान फ्रान्सिस्कोमा एउटा क्याथोलिक चर्चको भ्रमण गरेँ जुन प्रत्येक दिन सेवाहरुको बीचमा घरवारविहिन व्यक्तिहरुका लागि खुला हुने गर्छ । मैले पुयर्टो रिकोमा असाधारण सहनशिलता र सामुदायिक ऐक्यवद्धता देखेँ । चार्लस्टन, वेस्ट भर्जिनियामा मैले गजबका सामुदायिक स्वास्थ्य केन्द्रहरु भ्रमण गरेँ, जसले २१ हजार बिरामीहरुलाई निशुल्क मेडिकल, डेन्टल र अन्य सेवाहरु उपलब्ध गराउँछ ।

फरक-फरक राज्य र क्षेत्रका मानिसहरुसँग कुरा गर्ने क्रममा मलाई बारम्बार सोधियो कि अरु देशहरुको तुलनामा अमेरिका कस्तो छ । यस्ता तुलनाहरु सँधै सटिक हुँदैनन, तर तथ्यांकहरुको विश्लेषण गर्दा अमेरिकाको सम्पत्ति, फरक क्षमता र कार्य आचरण तथा यसले हासिल गरेका सामाजिक तथा अन्य परिणामहरुका विषयमा प्रष्ट तस्वीर देख्न सकिन्छ ।

  • अधिकांश सूचकहरुका आधारमा अमेरिका विश्वको एउटा धनी राष्ट्र हो । यसले राष्ट्रिय सुरक्षामा चीन, साउदी अरेबिया, रुस, बेलायत, भारत, फ्रान्स र जापानले संंयुक्तरुपमा गर्ने खर्चभन्दा बढी खर्च गर्छ ।
  • अमेरिकाको प्रतिव्यक्ति स्वास्थ्य खर्च ओइसीडीका राष्ट्रहरुको औसतभन्दा दोब्बर छ र अन्य सबै राष्ट्रहरुको भन्दा धेरै उच्च छ ।
  • अमेरिकाको बाल मृत्यूदर २०१३ मा विकासित संसारमा सबैभन्दा उच्च थियो ।
  • अन्य कुनै पनि सम्पन्न प्रजातान्त्रिक देशको तुलनामा अमेरिकाका नागरिकहरु छोटो र रोगी जीवन बाँच्छन् । अमेरिका र अन्य विकासित राष्ट्रहरुबीच स्वास्थ्यको खाडल निरन्तर अढ्दो छ ।
  • अमेरिकाको असमानता स्तर अधिकांस युरोपेली राष्ट्रहरुको तुलानामा अत्यन्त उच्च छ ।
  • जिका सहित उपेक्षित उष्ण प्रदेशीय रोगहरु अमेरिकामा बढ्दो रुपमा फैलिइरहेका छन् । १ करोड २० लाख अमेरिकीहरु यस प्रकारका रोगहरुबाट ग्रस्त रहेको अनुमान गरिएको छ ।
  • विकसित देशहरुमध्ये अमेरिकाका नागरिकहरुमा सबैभन्दा बेसी मोटोपाना पाइन्छ ।
  • पानी र सरसफाईको पहुँचका आधारमा अमेरिका विश्वमा ३६ औं राष्ट्र हो ।
  • तुर्कमेनिस्तान, एल साल्भाडोर, क्यूबा, थाइल्यान्ड र रुसलाई उछिन्दै विश्वमै सबैभन्दा बढि कैदीहरु अमेरिकामा छन् । यसको दर ओइसीडीको औसतभन्दा झण्डै पाँच गुणा बढि छ ।
  • युवाहरुको गरिबी दर ओइसीडी भरीमा अमेरिकामा सबैभन्दा उच्च छ । देशमा रहेका एक चौंथाई युवाहरु गरिबीमा बाँचिरहेका छन् जुन दर ओइसीडीमा १४ प्रतिशतभन्दा कम छ ।
  • ओइसीडीमा रहेका ३७ राष्ट्रमध्ये गरिबी र असमानताको आधारमा अमेरिका ३५ औं स्थानमा छ ।
  • वर्ल्ड  इनकम इनइक्वालिटी डाटाबेसअनुसार सम्पूर्ण पश्चिमी मुलुकहरुमध्ये अमेरिकामा असामानताको दर सबैभन्दा उच्च छ ।
  • अमेरिकामा बाल गरिबी दर सबैभन्दा धनी ६ राष्ट्रहरु -क्यानाडा, बेलायत, आयरल्यान्ड, स्वीडेन, नर्वे र अमेरिका – मध्ये सबैभन्दा उच्च छ ।

– द गार्जियनबाट अनुदित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?