१ जून, २००१ मा राजा वीरेन्द्र शाह र उनको स-परिवारको नृशंस हत्या गरियो । वीरेन्द्र शाहका माइला भाइ ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । त्यसलगतै, मोरङ, पथरीस्थित लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय सदस्य डम्बर नेम्बाङको घरमा पहिलोपल्ट जनमुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य कुमार लिङ्देन र मेरो भेट भएको थियो ।
त्यस अवसरमा कुमारले ‘काङसोरे’ पत्रिकाका लागि भनेर मेरो अन्तर्वार्ता लिएका थिए । साथै उनले लिम्बुवान मुक्ति मोर्चामा प्रवेश गर्ने आशय पनि व्यक्त गरे । तर, कुमार लिङ्देनले न काङसोरे पत्रिका निकाले, न त मोर्चामा नै प्रवेश गरे । बल्कि, लिङ्देनले सन् २००२ मा लिम्बुवानविरोधी गोरेबहादुर खपाङ्गीको राष्ट्रिय जनमुक्ति पार्टी र आफ्नो जनमुक्ति पार्टी, नेपालको पुनर्एकीकरण पो गरे ।
जनमुक्ति पार्टी, नेपाल सन् १९९७ मा राष्ट्रिय जनमुक्ति पार्टीबाटै फुटेको थियो ।
राजा ज्ञानेन्द्र शाहले ४ अक्टोबर, २००२ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री मनोनित गरे । राष्ट्रिय जनमुक्ति पार्टीले मन्त्रिपरिषदमा आˆनो पार्टीको पनि प्रतिनिधित्व गराइयोस् भनी दरबारमा विन्तीपत्र हाल्यो । नभन्दै, ११ अक्टोबरमा राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव गोरेबहादुर खपाङ्गीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्री मनोनित गरे । खपाङ्गीलाई मन्त्री बनाइनुमा कुमार लिङ्देनको ठूलो योगदान रह्यो ।
ज्ञातव्य छ, २ मे, २००३ मा राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत् प्रतिनिधिसभालाई विघटन गरे । अन्ततः १ फेब्रुअरी, २००५ मा राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै बर्खास्त गरे । र, ज्ञानेन्द्र शाह स्वयमले राज्यको कार्यकारी अधिकार हत्याए ।
तथापि, ७ अपि्रलदेखि २४ अपि्रल, २००६ सम्म भएको दोस्रो जनआन्दोलनमा नेपालमा राजतन्त्रको समाप्ति र गणतन्त्रको अभ्युदय भयो । तत पश्चात्, ११ अगष्ट, २००६ मा झापा, बिर्तामोडमा राष्ट्रिय जनमुक्ति, पार्टीको पूर्वाञ्चल क्षेत्रीय समितिका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले ‘संघीय लिम्बुवान राज्य परिषद’ गठन गरे ।
त्यसलगत्तै, ११ नोभेम्बर, २००६ मा मोरङ, उर्लाबारीमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य कुमार लिङ्देनले ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ गठन गरे । यसैबीच कुमार लिङ्देनले सञ्जुहाङ पालुङ्वालाई उनको संघीय लिम्बुवान राज्य परिषदलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ संगठन बनाउन सहमत गराए ।
कुमार लिङ्देनले १३ वटा जातीय प्रान्तको माग गर्दै एउटा जातीय आन्दोलनका रूपमा लिम्बुवान आन्दोलनको सञ्चालन गरे । यसै क्रममा लिङ्देनले १३ वटा जातीय प्रान्तमध्ये झापा, मोरङ तथा सुनसरी जिल्लालाई ‘कोचिला जातीय प्रान्त’ माग गरे । र, लिम्बुवानमा क्षेत्रीय विखण्डन गराउने दुष्प्रयास समेत गरे ।
३० फेब्रुअरीदेखि २ मार्च, २००७ सम्म पाँचथर, फिदिममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषद्को प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरियो । सम्मेलनले “लिम्बुवान विरोधी काटिन्छ, तातो रगत चाटिन्छ” नारा तय गर्यो ।
परिषदका कार्यकर्ताले कथित लिम्बुवान विरोधी याम श्रेष्ठलाई खुकुरीले छप्काए । र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषदको नारालाई सम्मेलनस्थल फिदिममै प्रयोग गरे ।
यद्यपि, लिम्बुवान आन्दोलन र मेरो नाम पर्यायवाची नै बनेको थियो । यस्तो अवस्थामा म (वीर नेम्वाङ) लाई लिम्बुवानको राजनीतिबाट किनारा नलगाई कुमार लिङ्देन लिम्बुवानको राजनीतिमा जम्न सक्दैनथे ।
तिनताकका राजावादीहरूलाई कालोमोसो दलिन्थ्यो, जुत्ताको माला लगाइन्थ्यो । यस्तो दुरावस्थामा कुमार लिङ्देनले वीर नेम्बाङ राजावादी हुन् भनी लेख लेखे/लेखाए । भाषण गरे/गराए । कुमार लिङ्देनले मलाई अरू लाञ्छना नलगाएर राजावादीकै लाञ्छना लगाउनुमा कहीँ मलाई पनि कालोमोसोे दलुन् र जुत्ताको माला लगाऊन् भन्ने कुत्सित अभिप्राय त अन्तर्निहित थिएन ? भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।
यसप्रकार, कुमार लिङ्देनले मलाई राजावादीको लाञ्छना लगाएकोमा लिम्बुवानका प्रबुद्ध वर्गलाई जँचेन छ । र, १० सेप्टेम्बर, २००७ मा सुनसरी, धरानस्थित सैनिक भवनमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य शेरबहादुर इङ्नाम, संस्कृतिविद् तथा साहित्यकार लाओती येहाङ -धनप्रसाद), किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन नुगो र महासचिव योगराज वनेमले कुमार लिङ्देनलाई मसित माफी माग्न लगाए ।
लिङ्देनले ‘मैले आदरणीय दाइ वीर नेम्बाङलाई राजावादीको लाञ्छना लगाएर ठूलो गल्ती गरेँ, अब उप्रान्त म उहाँलाई कहिल्यै राजावादीको लाञ्छना लगाउने छैन’ भनी मसित माफी मागे ।
‘लिम्बुवान विरोधी काटिन्छ, तातो रगत चाटिन्छ’ नारासहित लिम्बुवान आन्दोलनमा पदार्पण गरेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष सञ्जुहाङ पालुङवाले १४ सेप्टेम्बर, २००७ मा झापाको दमकस्थित किरात भवनमा ‘अरूण र तमोरमा धेरै पानी बगिसक्यो, अब भने रगत बग्नेछ’ भनी उत्तेजनापूर्ण भाषण गरे ।
संयोगवश, १९ सेप्टेम्बरमा झापा, केर्खामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताको ढुङ्गा प्रहारबाट १ महिनाकी सुत्केरी कमला श्रेष्ठ र ७ अक्टोबरमा केर्खामै प्रहरीको गोलीबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ता राजकुमार आङ्देम्बेको रगत बग्यो ।
यद्यपि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषदले राजकुमार आङदेम्बेलाई मात्रै शहीद घोषणा गर्यो । र, कमला श्रेष्ठलाई विभेदमा पारियो ।
इलाममा १३ डिसेम्बर, २००७ मा भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ सङ्गठन संघीय लिम्बुवान राज्य परिषदको विस्तारित बैठकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पक्षधर र संघीय लिम्बुवान राज्य परिषद् पक्षधर एकले अर्कालाई राजावादी भएको र आर्थिक अनियमितता गरेको आरोप-प्रत्यारोप लगाउँदै फुटे ।
अन्ततः त्यो फूट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदबीच पारस्परिक आक्रमण-प्रत्याक्रमणमा परिणत भयो । दृष्टान्ततः १४ फ्रेब्रुअरी, २००८ मा सुनसरी, धरानमा सयौँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ता खुकुरी, कट्टी, खुँडा र भालाजस्ता घातक हरियारले सुसज्जित भई एकले अर्कालाई सिध्याउन तम्तयार भए ।
यदि समयमै सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा नलिएको भए उक्त दिन ठाउँका ठाउँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ता सोत्तर हुने थिए ।
लिम्बुवान मुक्ति मोर्चाले जनताबाट कर असुल्न त परै, चन्दासम्म नउठाई आफ्नै बलबुँतामा लिम्बुवान आन्दोलन गर्दै आएको जगजाहेर छ । जबकि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद दुवैले लिम्बुवान आन्दोलनका नाममा जबर्जस्ती सवारी साधनहरूबाट २० रूपैयाँँदेखि २ हजार रूपैयाँसम्म सवारी कर असुले । व्यापारी, उद्योगपति तथा ठेकेदारहरूबाट १ लाख रूपैयाँदेखि २० लाख रूपैयाँसम्म चन्दा उठाए ।
यस सन्दर्भमा बीबीसी नेपाली सेवाकी रिपोर्टर सीता मादेम्बाको टिप्पणी यस्तो छः
‘..अन्तर्राष्ट्रिय अभिसन्धि १६९ को नाम लिँदै जल, जमीन र जङ्गलमा आदिवासीको पहिलो हक लाग्छ भन्दै अपव्याख्या गरी लिम्बुवानमा कर सङ्कलन गरी दुनियाँलाई दुःख दिएको छ । कर सङ्कलन गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गर्यो भने कार्यकर्ता छुटाउने नाममा यातायात बन्द गर्यो, बस् । यही नै उनीहरूको दिनचर्या बनेको छ । हिजो हात्तीछाप चप्पल लाएर हिँड्नेहरू आज पल्सर बाइकमा सरर गुडेको देखिन्छ । दायाँबायाँ मोबाइल बोक्यो, छाती फुलाएर लिम्बुवान भोलेन्टियर्स भन्दै हप्कायो, यसैमा गर्व गर्छन् आफूलाई ।’
यसरी, लिम्बुवान आन्दोलनलाई जर्बजस्ती चन्दा असुलीको धन्दा बनाइएकोमा अन्तर्राष्ट्रिय समुदायसमेत चिन्तित भए । दृष्टान्तरुवरूप, हामी इन्टरनेशनल क्राइसीस ग्रुपको प्रतिवेदनलाई लिन सक्छौँ । जसमा लेखिएको छ-
‘दुवै (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद) भोलेन्टियर दस्ता जबर्जस्ती चन्दा असुलीको धन्दामा लागेका हुनाले त्यसबाट भौतिक लाभ हुने देखेर लिम्बुवानसित खासै सरोकार नभएकाहरू पनि भोलिन्टियर बनेका छन् ।’
यससन्दर्भमा खुद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिवालय सदस्य लोकसागर साम्बाले त आˆनो पार्टीले सामुदायिक वन समितिहरूबाट समेत मोटो रकम असुलेको खुलासा गरेका छन् । साम्बाकै शब्दमा ‘साथीहरूले व्यापारीलाई तर्साउने, सामुदायिक वन समितिलाई थर्काउने गरेर मोटो रकम असुल्ने गरेका छन् ।’
आˆना नातेदार अर्थात् आफ्नो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मुखपत्र साझा लिम्बुवानका सम्पादक दिलकुमार लावतीलाई ‘लिम्बुवानका महानायक कुमार लिङ्देन मिराक’ शीर्षक व्यक्तिप्रधान लेख लेखाउने कुमार लिङ्देनद्वारा सञ्चालित कथित लिम्बुवान आन्दोलनको नमूना एक साप्ताहिकले आˆनो सम्पादकीय टिप्पणीमा यसरी चित्रण गरेको छ-
‘ …संघीय लिम्बुवान राज्य परिषद् र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरूपमा सरकारसमक्ष आफ्ना माग पूरा गराउन चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको थियो । तर, आन्दोलनका लागि आह्वान गरिएको पर्चा नै दुई प्रकारका भएकाले सुरुमा नै सर्वसाधारण अन्योलमा परेका थिए । त्यसमा पनि जबर्जस्ती चन्दा असुली गर्ने, बन्दको अघिल्लो रात पथरीमा दर्जनौँ गाडी रोकी यात्रु र गाडी धनीलाई आतङ्कित बनाउँदै चन्दा रकम असुल गर्ने, प्रेसको गाडी तोडफोड गर्ने, पत्रिका जलाउने, एम्बुलेन्स, शव बाहन तोडफोड गर्ने, घातक हतियार खुल्लमखुल्ला लिएर जनतालाई आतङ्कित बनाउँदै हिँड्ने, बन्दका कार्यकर्ताभित्रका व्यक्ति मादक पदार्थ सेवन गरी जथाभावी गालीगलौज गरी र अश्लील शब्दले होहल्ला गर्ने, साम्प्रदायिक सदभाव भड्काउने अभिव्यक्ति दिने र पत्रकारलाई धम्काउने जस्ता कार्यले यो आन्दोलनलाई अराजनैतिक बनाएको छ । आन्दोलनको माग सही भए पनि आन्दोलनको शैली गलत भएपछि आम जनताबाट समर्थन पाउन गाह्रो हुन्छ ।’
लिम्बुवान स्वायत्तता सुनिश्चित नगरिएको प्रतिवादमा लिम्बुवान मुक्ति मोर्चाले बहुदलकालमा सबै निकायको निर्वाचन बहिष्कार गरेको जगजाहेर छ । यद्यपि, गणतन्त्रकालमा २८ डिसेम्बर, २००७ मा नेपालको अन्तरिम संविधानलाई संशोधन गरी उक्त संविधानमा संघीय शासन प्रणालीको प्रावधान राखियो । र, कही संविधानसभा मार्फत् लिम्बुवान स्वायत्तता सुनिश्चित होला कि भनेर मैले १० अप्रिल, २००८ को संविधानसभा निर्वाचनमा पाँचथर, क्षेत्र नं. २ बाट सभासदमा उम्मेद्वारी दिएँ ।
यसरी मैले उम्मेद्वारी दिएको थाहा पाउनेवित्तिकै मसित प्रतिद्वन्द्विता जनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पनि पाँचथर, क्षेत्र नं. २ बाटै सभासदमा उम्मेद्वारी दिए । यस सन्दर्भमा म पहिलो संविधानसभा निर्वाचनमा पराजित हुनुका धेरै कारणमध्ये एउटा कारणचाहिँ कुमार लिङ्देनको अन्तर्घात पनि हो भन्दा अर्घेलो नहोला ।
जबसम्म नेपालमा राजतन्त्र थियो, तबसम्म कुमार लिङ्देनले मलाई राजावादीको लाञ्छना लगाउँथे । जब राजतन्त्र ढल्यो र गणतन्त्र आयो, तब उनले मलाई प्रो-इण्डियनको लाञ्छना लगाउन थाले । निर्वाचन प्रचार-प्रसारका क्रममा कुमार लिङ्देनले ‘वीर नेम्बाङ प्रो- इण्डियन हुन्’ भन्दै हिँड्दा २८ मार्च, २००८ मा पाँचथर, चिलिङ्देनमा लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ताहरू हिम्मत नेम्बाङ, दीपेन्द्र आङबुहाङ, कर्ण नेम्बाङ, बुद्धमाया सोङ्मी एवम् अनिता थेबेले ‘हाम्रा अध्यक्ष प्रो-इण्डियन भएको प्रमाण निकाल’ भनी र्याखर्याख्ती पार्दा लिङ्देनले ‘मैले आदरणीय दाइ वीर नेम्बाङ प्रो-इण्डियन हुनुहुन्छ भन्ने सुनेको मात्र हुँ, मसँग प्रमाण छैन’ भनी पुनः मसित माफी मागेका थिए ।
अन्ततः कुमार लिङ्देनले सञ्चालन गरेको कथित लिम्बुवान आन्दोलनले लिम्बुवान स्वायत्तताको मागलाई आघात मात्र पुर्याएन, अपितु, उक्त मागप्रति नै जनतामा वितृष्णा पैदा गरायो । त्यसैले लिम्बुवान आन्दोलनमा देखा परेको कर सङ्कलन गर्ने, चन्दा असुली गर्ने, साम्प्रदायिक सदभाव भड्काउने जस्ता विकृति-विसङ्गतिलाई निर्मूल गर्न र लिम्बुवान आन्दोलनलाई अनुशासित, शालीन र नियन्त्रित बनाउन भनी २६ जुलाई, २००८ मा ललितपुरस्थित चुम्लुङ हिममा एउटा छलफल आयोजना भयो ।
त्यहाँ राजनीतिक दलहरू लिम्बुवान मुक्ति मोर्चा, एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिष्ट पार्टी -एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस र सामाजिक संस्था किरात याक्थुङ चुम्लुङमा आवद्ध लिम्बुवानवासी नेता-कार्यकर्ता मिलेर ‘संयुक्त लिम्बुवान मोर्चा, नेपाल’ नामक साझा सङ्गठन निर्माण गरियो ।
संयुक्त लिम्बुवान मोर्चा, नेपालका बैठकहरूमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले कर सङ्कलन गर्ने, चन्दा असुली गर्ने र साम्प्रदायिक सद्भाव भड्काउने हाम्रो पार्टीको नीति छैन, हाम्रा कार्यकर्ता त्यस्ता क्रियाकलापमा संलग्न रहेको पाइए, म त्यस्ता कार्यकर्तालाई सख्त कारबाही गर्छु भनी प्रतिवद्धता जनाउँथे ।
तर, उनले न कर सङ्कलन र चन्दा असुली गर्ने कार्यकर्तालाई कारबाही गरे, न त आफूले साम्प्रदायिक सद्भाव भड्काउन नै छाडे । बल्कि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अपहरण गर्नसमेत कुनै कसर बाँकी राखेन ।
दृष्टान्ततः १० मे, २०११ मा मोरङ, बयरवनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ताले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ता राजेन्द्र दाहाललाई अपहरण गरे । जसले गर्दा लिम्बुवान आन्दोलनमा देखा परेका यावत् विकृति-विसङ्गति ज्यूँका त्यूँ रहे ।
यसैबीच, २० मार्च, २००९ मा स्ववियु निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै भएको विद्यार्थी आन्दोलनमा झापा, धुलाबारीमा प्रहरीद्वारा लिम्बुवान समर्थित विद्यार्थी मनिल तामाङको हत्या भयो ।
विडम्बना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद दुबै संगठनका नेताहरु दिवंगत तामाङ आ-आफ्नो पार्टीको शहीद भएको दाबी गर्दै मल्लयुद्धमा उत्रिए । आफ्नो शहादतमाथि यस्तो घृणित खिचातानी भएको देखेर मनिल तामाङको दिवङ्गत आत्मा कति अशान्त भयो होला ? किनभने, उनले कुनै पार्टी विशेषको स्वार्थका लागि भन्दा पनि लिम्बुवानवासीको बृहत्तर हितका लागि शहादत प्राप्त गरेका थिए ।
ज्ञातव्य छ, संयुक्त लिम्बुवान मोर्चा, नेपालले लिम्बुवान स्वायत्तता सम्बन्धी काठमाडौँमा अन्तक्रिर्या गर्ने, प्रधानमन्त्री, राष्ट्र्रपति तथा सभामुखलाई स्मरणपत्र दिने, दुईपल्ट लिम्बुवानस्थित नौ जिल्लाको सदरमुकाममा जनसभा गर्ने काम गर्यो । त्यसैगरी धरानमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जस्ता ऐतिहासिक कार्य सम्पन्न गरेको थियो ।
यसका बाबजुद, संयुक्त लिम्बुवान मोर्चा, नेपालको एक घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अनेक तिकडम गरेर संयुक्त लिम्बुवान मोर्चा, नेपाललाई छिन्नभिन्न पारे ।
यसैवीच १ अपि्रल, २०१२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वैकल्पिक पोलिटब्यूरो सदस्य विजय सुब्बाको संयोजकत्वमा ‘संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समिति’ गठन भयो । लिम्बुवान मुक्ति मोर्चाले संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिलाई बिनाहिच्किचाहट सहयोग गर्यो ।
जब १२ मे, २०१२ मा झापा, दमकमा आयोजित संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिको पहिलो र अन्तिम जनसभामा कुमार लिङ्देनले ब्राह्मण, क्षत्रीय, दशनामी (सन्यासी) विरुद्ध आफू मर्न, मार्न तयार रहेको अनपेक्षित अभिव्यक्ति दिए, तबमात्र लिङ्देनले संयुक्त लिम्बुवान मोर्चा, नेपाललाई छिन्नभिन्न पार्नु र संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समिति गठन गर्नुको रहस्योद्घाटन भयो ।
यस सन्दर्भमा कुमार लिङ्देन चाहन्थे- संयुक्त लिम्बुवान मोर्चा, नेपाल ब्राह्मण, क्षत्रीय, दशनामी (सन्यासी) विरुद्ध मर्न, मार्न तयार होऊन्, जुन संयुक्त लिम्बुवान मोर्चा, नेपाललाई कदाचित् स्वीकार्य थिएन ।
कुमार लिङ्देनले मलाई राजावादीको लाञ्छना लगाउँदै लिम्बुवानको राजनीतिमा पदार्पण गरेको माथि नै चर्चा भइसकेको छ ।
अन्ततः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिवालय सदस्य लोकसागर साम्बासहित २७ जना केन्द्रीय सदस्यले कुमार लिङ्देनलाई नै राजावादीको लाञ्छना लगाउँदै संघीय समाजवादी पार्टीमा प्रवेश गरे । यसबाट लिङ्देन आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा हान्दा रहेछन् । अर्थात् आफैं राजावादी भएर मलाई राजावादी भन्दा रहेछन् भन्ने भान हुन्छ । र, म राजावादी होइन है भन्दै गिडगिडाउँदै हिँडेको देख्दा मलाई कुमार लिङ्देनप्रति टीठ लाग्छ ।
(लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्वाङको प्रकाशोन्मूख ‘लिम्बुवानः संघीय आन्दोलनदेखि स्वायत्त आन्दोलनसम्म’ नामक पुस्तकको अंश)
प्रतिक्रिया 4