Comments Add Comment

चीनको सहयोगमा तराईका बाढी पीडितलाई राहत

१९ माघ, वीरगञ्ज । चीनको सहयोगमा पर्साका बाढीपीडितलाई राहत वितरण गरिएको छ । गणतन्त्र चीन सरकारले यूएनडीपी मार्फत पर्साको विन्दवासिनी गाउँपालिका वडा नं २ को १ सय ७७ जना बाढीपिडितहरुलाई राहत वितरण गरिएको हो ।

तराई क्षेत्रका बाढी पीडित कार्यक्रम अन्तर्गत वितरण गरिएको राहतमा ४ प्रकारका गैर खाद्य सामाग्री रहेको सुर्योदय युवा क्लबका कार्यक्रम संयोजक दिलिपराज कँडेलले जानकारी दिए ।

बाढी पीडित परिवारका लागि आवश्यक पर्ने उनीको पछ्यौरा, कम्बल, प्लाष्टिकको बाल्टिन, मग, खाना पकाउने भाँडा १ सेट, खाना खाने प्लेट, कप, डाडु पन्यु, किटनाशक झुल, धुँवा रहित खाना पकाउने स्टोभ र फिल्टर तथा एक महिनालाई पुग्ने स्वच्छताका सामाग्रीहरु वितरण गरिएको थियो । सामाग्री प्रति परिवकारका लागि झण्डै १५ हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको सुर्योदय युवा क्लबले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले राहत वितरणले गाउँका बाढी पीडितहरुको ओठमा मुस्कान ल्याएको बताए ।

पर्सामा कार्यक्रम मार्फत ३ हजार घरधुरी बाढी पीडितलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्राकृतिक प्रकोपका घटनाका पीडितहरुलाई आएर मल्हम लगाउने काम स्वागतयोग्य भएको बताए । ‘ २० औं लाखको क्षति भएको हुन्छ, धन जन मरेका हुन्छन् । त्यो सबैको क्षतिपूर्ति गर्न कठिन हुन्छ ।’ उनले भने ‘राहतले आहतमा परेकाहरुलाई मल्हम लगाउने काम मात्रै गर्छ ।’

बाढीबाट अति प्रभावित तराईका ७ जिल्लाका ३१ हजार ८ सय जना बाढी पीडितलाई राहत वितरण गर्ने लक्ष्य राखिएको परियोजनाका राष्ट्रिय सल्लाहाकार डा शैलेन्द्र थकालीले जानकारी दिए । ‘कार्यक्रमले शुरुमा २४ हजार बाढी प्रभावितलाई सहयोग गर्ने लक्ष्य राखेको थियो तर स्पटमा आउँदा बाढी पीडितको संख्या अझै बढी देखियो ।’ उनले भने ‘ तीन महिनाको कार्यक्रम हो, अढाई महिना वितिसकेको छ । लगभग धेरै ठाउँमा वितरण भइसकेको छ । कतै राहत वितरण भईरहेको छ ।’

तराईका प्रदेश नं २ को बारा र सिराहा बाहेकका ६ जिल्ला र प्रदेश नं १ को सुनसरीका बाढी पीडितलाई राहत वितरण गरिने परियोजनाका अधिकृतहरुले बताएका छन् ।

गत साउनमा आएको बाढीले तराईका ३५ जिल्लामा १६० जनाको मृत्यु भएको थियो । झण्डै ८० प्रतिशत भूभाग डुवानमा परेको तराईको दक्षिणी भागमा बढी क्षति पुगेको थियो । बाढीले ४३ हजार भन्दा बढी घरहरु ध्वस्त पारेको र २१ हजार नागरिक बाढीबाट विस्थापित भएको तथ्याङक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment