Comments Add Comment

देवघाटमा ८ करोड लागतमा पशुपतिनाथ भन्दा पनि ठूलो मन्दिर

१९, माघ, चितवन । हिन्दुहरुको पवित्र धार्मिकस्थल देवघाटबारे भक्तजनलाई लाग्न सक्छ यहाँ ठूला ठूला र भव्य मन्दिर नै मन्दिर होलान् । तर, देवघाट क्षेत्रमा आएर हेर्दा त्यस्ता ठूला र आधुनिक शैलीमा निर्माण भएका मन्दिरहरु पाइदैनन् । साना साना मठ मन्दिर परपम्रागत शैंलीका भने उल्लेख्य छन् ।

देवघाटमा एक भव्य र शनादार मन्दिर बनाउने अभियानमा लागेका गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले दानबाटै ८ करोड रुपैयाँको लागतमा एक भव्य मन्दिर निर्माण गराएका छन् ।

उनको सपना १३ बर्ष अघिको हो । इच्छा भएपनि पैसाको अभाव थियो । गिरीले यो सपना सबैलाई सुनाए । देशविदेशमा रहेका भक्तजनले सहयोग गरे । अहिले गिरीको ठूलो र भव्य मन्दिरको सपना पूरा हुँदैछ । ५ वर्षअघि निर्माण थालिएको यो विशाल मन्दिर सर्वसाधारण भक्तजनका लागि फागुन २ गतेपछि खुला हुँदैछ ।

मन्दिरको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट माघ २१ गते गर्ने कार्यक्रम तय भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । ‘माघ २१ गतेदेखि फागुन २ गतेसम्म पूजापाठ, यज्ञयज्ञादी हुनेछ, त्यसपछि मात्रै मन्दिर सर्वसाधारणका लागि खुल्ला हुनेछ’ उनले भने ।

मन्दिरको वरीपरी ८ वटा ठूला घण्टा राखिएका छन् । मन्दिर बनाउन सहयोग गर्ने दाताको नाम शिलालेखका रूपमा मन्दिर हाताभित्र लेखिनेछ । मन्दिर निर्माणमा सरकारको कुनै सहयोग नभएको गिरीले बताए । निर्माणाधीन मन्दिरमा नर्मदेश्वर शिवलिंग राख्नेक्रम जारी छ । मन्दिर छेउमा शिवको मूर्ति बनाएर १ सय ८ शिवलिङ्ग राख्न लागिएको हो । मन्दिरले ५ कठ्ठा जग्गा ओगटेको छ । पछि १० कठ्ठा बनाइने छ ।

स्वामी गिरीले भने, ‘जति काम भएको छ, सबै भक्तजनहरुकै सहयोगबाट भएको छ ।’ सुरुमा इन्जिनियरले ४ करोड खर्च लाग्ने इस्टिमेट निकाले पनि खर्च भने, निर्माण पूरा हुँदासम्म ८ करोडभन्दा बढी खर्च लाग्नेछ ।

‘यो मन्दिर पशुपति मन्दिरभन्दा ठूलो र अग्लो छ,’ उनले भने, ‘प्यागोडा शैलीमा निर्मित मन्दिर सञ्चालनमा आएपछि धार्मिक पर्यटनमा ठूलो टेवा पुग्नेछ ।’ गलेश्वर आश्रमको नियन्त्रणमा २ सय ६२ रोपनी जग्गा छ । ३ सय कुटी छन् ।
उनकै पहलमा २०२३ मा स्थापना गरिएको वेदवेदांग संस्कृत विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् ।

सोही विद्यालयको स्तरोन्नतिका लागिसमेत गलेश्वर आश्रम देवघाटधाम विराट धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको छ ।

उनका अनुसार महायज्ञ माघ २१ गतेदेखि फागुन २ गतेसम्म हुनेछ । गलेश्वर आश्रममा दैनिक ३ सय जनालाई भोजन तयार हुन्छ । आश्रममा आउनेले निशुल्क खान र बस्न पाउँछन् । यहाँ साढे ३ करोड लागतमा धर्मशालासमेत निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment