Comments Add Comment

मातृ मृत्युको कारण, रक्तश्राव र उच्चरक्तचाप !

सबैलाई थाहा छ, भारतको ताजमहल । सबैलाई यो पनि थाहा छ, ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएका थिए ।  तर, सबैलाई थाहा नभएको कुरा हो, शाहजहाँकी प्रिय रानीको मृत्युबारे । रानी मुमताजको मृत्यु सातौं पटकको प्रसवको बेला अत्याधिक रक्तश्रावले भएको थियो ।

अब हाम्रै देशको इतिहासतर्फ फर्कों ।

तत्कालिन श्री ५ ईन्द्र राज्य लक्ष्मीको मृत्यु प्रसवका बेला अत्याधिक रक्तश्राव (पोष्ट पार्टम हेमोरेज) का कारण मृत्यु भएको र सोहि कारणले उनको र जग्गादाता दयाविर कंसकारको परोपकार नामबाट थापाथलीमा प्रसुति गृह निमार्ण गरिएको हो ।

हिजोको त्यो समय र आजको समय उस्तै छैन । यसबीचमा बागमतिमा धेरै पानी बगिसक्यो । तर, मातृमृत्युको अवस्था अझै कहालिलाग्दो छ ।

विश्व स्वास्थ्य संघको २०१६ नोभेम्बरको प्रतिदिन अनुसार अझै पनि विश्वमा करिब ८ सय ३० महिला गर्भ तथा प्रसवकै कारण मर्ने गरेका छन् । सोको ९९ प्रतिसत संख्या विकासोन्मुख देशहरुबाट हुने गरेको जनाएको छ ।

किन मातृमृत्यु ?

मातृमृत्यु हुनुका पछाडि धेरै कारणहरु हुन सक्छ । कम उमेरमा बिवाह गर्नु, कम उमेरमा नै बच्चा पाउनु, तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परिक्षण नगर्नु लगायत अन्गिन्ती कारणहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मातृमृत्यु हुनुमा सहयोगी भुमिका खेलेका हुन्छन् ।

मानिसहरुको सचेतना बढ्दै गएको छ, समाजिक परिवर्तन, स्वास्थ्य सेवाको विस्तार अनि गर्भपतनलाई कानुनी मान्यता पछि अबैध गर्भपतनमा आएका कमिले गर्दा मातृमृत्यु दरमा निकै ठुलो सुधार भएको छ । सन् २०१६ को डेमोग्राफिक एण्ड हेल्थ सर्भेका अनुसार सन् १९९६ मा ५ सय ३९ रहेको नेपालको मातृमृत्यु दर सन् २०१६ मा २ सय ३९ मा सिमित भएको छ ।

तर मातृमृत्युको कारण अहिले पनि रक्तश्राव (प्रसव अगाडि र प्रसव पछाडि) र उच्च रक्तचाप तथा त्यसैले जन्माएको समस्या ईक्लेम्पसिया रहेको पाईन्छ ।

यसकारण जटिलता

प्रसव अगाडि भन्दा पनि प्रसव पछाडि अत्याधिक रक्तश्राव हुने, जसलाई पोष्ट पार्टम हेमोरेज अर्थात पिपिएच भनिन्छ । यो मातृमृत्यु दरका प्रमुख कारणका रुपमा थिए । प्रसव पछि पाठेघर खुम्चिन नसक्नु, शालनालका टुक्राहरु राम्ररी ननिस्कनु, बच्चा जन्मिने क्रममा घाउ लाग्ने तथा रगत जम्न सक्ने क्षमता कमजोर हुनु जस्ता कारणले प्रसव भए पछि रक्तश्राव हुने सम्भावना रहन्छ ।

यस्ता समस्याहरु समयमा नै पहिचान गर्न सक्नु अनि सोहि अनुसार प्रभावकारी उपचार पद्धती अपनाउन सकिने र आवस्यक परेको अवस्थामा विमारीलाई रगत पनि दिन सकिने स्वास्थ्य सेवा विस्तार भएका कारणले गर्दा पछिल्लो समयमा पोष्ट पार्टम हेमोरेज अर्थात पिपिएचका कारण हुने मातृमृत्यु दरमा कमि आएको देखिएको हुन सक्छ ।

मातृमृत्युको अर्को प्रमुख कारण र डेमोग्राफी एण्ड हेल्थ सर्भे २००८/०९ का अनुसार २० प्रतिसत मातृमृत्युका कारण उच्च रक्तचाप र यसले ल्याएका समस्याहरु हो ।

उच्च रक्तचापले मातृमृत्यु

उच्च रक्तचाप गर्भ रहनु भन्दा अगाडि पनि भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थमा देखिन सक्छ । २० साताको गर्भवती महिला वा शिशु पाएको २४ घण्टा भित्र लगातार रक्तचाप १४०/९० हुनु वा कम्तीमा ४ घण्टाको फरक पारेर दुई पटक रक्तचाप नाप्दा १४०/९० हुनु (पहिले रक्तचाप समान्य रहेको अवस्थामा ) लाई गर्भावस्थाको रक्तचाप वा जेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ । यस किसिमका उच्चरक्तचाप गर्भको कारणले वा शालनाल (प्लासेन्टा)का कारणले भएको हो ।

उच्च रक्तचापसंगै पिसावमा प्राटिन देखनुले ठुलो समस्या ल्याउन सक्छ । यसवाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मुत्यु समेत हुन सक्ने हुन्छ । गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै बच्चाको मृत्यु समेत हुन सक्छ ।

गर्भवती भएकी महिलामा देखा पर्ने यस किसिमको समस्यालाई इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढि देखिन्छ । शरिरका सम्पुर्ण रक्तनली, बिषेशगरी पाठेघर मृगौला र मस्तिष्कमा रक्तनलीहरु आवश्यक भन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप, प्रिइक्लाम्पसिया तथा ईक्लाम्पसिया हुन्छ ।

प्रि इक्लाप्पसियामा भएका गर्भवती महिला एक पटक मात्र पनि अचेत हुने वा वेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटक मात्र पनि इक्लाम्पसिया भएकमा, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैको लागि खतरा बढेर जान्छ ।

जेस्टेसलन हाइपर टेन्सन, प्रि–इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्याहरु हुन् । यसका लागि नियमित रुपमा, चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु पर्छ । यस्तो समस्याका लागि सुबिधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउदा पनि मृत्यु हुन सक्छ ।

के छ त समाधान ?

यी समस्याहरुको मुख्य कारण गर्भमा रहेको बच्चा तथा शालनाल हुने भएकोले अत्ति संवेदनशिल अवस्थामा तथा आमाको ज्यान जोगाउन गर्भको अवधि नपुग्दै बच्चाको जन्म गराउनु पर्ने हुन सक्छ ।

यी दुई कारणहरु बाहेक मातृमृत्युका अन्य कारणहरु पनि छन् । हरेक गर्भ आफैमा जोखिपुर्ण रहेकोले अनावश्यक रुपमा गर्भवती हुनु हुँदैन ।

परिपक्क वा २० बर्ष पार गरे पछि मात्र विवाह गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परिक्षण गर्ने र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउने कुराको विकाश हुदै गए पछि मातृमृत्यु दरमा कमी आएको र आउदै जानेमा दुई मत नहोला ।

(लेखक मोरङ सहकारी अस्पताल, बिराटनगरमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment