Comments Add Comment

जीवन घिमिरेको दाबीः शेरधन भन्दा म सिनियर !

मुख्यमन्त्रीका 'किङमेकर' होलान् त घिमिरे ?

२२ माघ, विराटनगर । सुरुमा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यलाई मात्रै प्रमुख दाबेदारका रुपमा हेरिएको थियो ।

तर, मोरङ क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद जीवन घिमिरे एकाएक मैदानमा देखिए । र, उनी यतिबेला मुख्यमन्त्रीको ‘किङमेकर’ बन्ने प्रयासमा छन् ।

कुल ९३ प्रदेश सांसदहरु रहेको प्रदेश १ मा एमालेको एकल बहुमत सहित ५१ सिट छ । एकल बहुमत रहेकाले जो एमालेको संसदीय दलको नेता हुन्छ, उही नै मुख्यमन्त्री हुने पक्कापक्की हुनाले एमालेमा दलको नेताको दाबेदारी अर्थपूर्ण छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा जीवन घिमिरेको दाबीले एमालेभित्रको संसदीय अंकगणित फेरबदल गराइदिने निश्चित छ । जसरी केन्द्रमा केपी ओली र माधव नेपालमध्ये कसलाई जिताउने भन्नेमा बामदेव गौतम निणर्ायक भएका थिए, त्यसैगरी प्रदेश १ को संसदीय दलको नेता चयनमा पनि घिमिरे ‘बामदेव’ जस्तै ‘किङ मेकर’ बन्न लागेको चर्चा सुरु भएको छ ।

उम्मेदवारी फिर्ता लिइन्न : घिमिरे

मुख्यमन्त्रीको दाबा गरिरहेका घिमिरे आफू वीचमा मुख्यमन्त्री दाबा गर्न नआएको बताउँछन् । अनलाइखबरसँग कुराकानी गर्दै घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि घोषणा नगरिएको बताए ।

भीम आचार्यकै टिमको भएर पनि किन उम्मेदवारी घोषणा गरेको भन्ने प्रश्नमा घिमिरले प्रतिप्रश्न गरे- ‘एकै टिममा पनि फरक-फरक दाबा हुँदैन र ?’

घिमिरेले आफू पदीय हिसाबले मुख्यमन्त्रीका अन्य दाबेदारभन्दा जुनियर जस्तो देखिए पनि राजनीतिमा जुनियर नभएको बताए ।

भीम आचार्य र आफू सँगै अनेरास्ववियुको केन्द्रीय सदस्य भएको घिमिरेले बताए ।

आफू कोशी अञ्चल सचिव हुँदा शेरधन राई भोजपुरको जिल्ला अध्यक्ष रहेको उदाहरण दिँदै घिमिरेले आफू राईभन्दा सिनियर रहेको बताए ।

घिमिरेको मत निर्णायक

एमाले संसदीय दलको नेता चयनमा घिमिरेको पक्षमा रहेको मत निर्णायक हुने देखिन्छ । माधव नेपाल समूहकै उम्मेदवारद्वय आचार्य र घिमिरे एकसाथ भिड्दा उनीहरुको मत बाँडिने र ओली पक्षका शेरधन राई संसदीय दलको नेता चुनिने सम्भावना बढी हुन्छ ।

एमालेको संस्थापन पक्षका नेताहरु आफूसँग २६ र माधव नेपाल समूहमा २५ मत रहेको तर्क गर्छन् । तर, माधव नेपाल समूहका नेताहरु भने माधव पक्षमा २८ र संस्थापन समूहमा २३ मत मात्रै रहेको जिकिर गर्छन् ।

घिमिरे आफैं पनि आफ्नो पक्षमा माधव नेपाल समूहको निर्णायक मत रहेको दाबी गरिरहेका छन् ।

जो होस् सबै पक्षको तर्कलाई मान्दा पनि घिमिरेको उम्मेदवारीले शेरधन राईलाई भन्दा भीम आचार्यलाई नै घाटा लाग्ने आचार्य पक्षकै नेताहरु समेत स्वीकार्छन् ।

जसले टिकट दियो, उसँगै फाइट ?

०३६ सालदेखि वामपन्थी रानीतिमा आएका जीवन घिमिरे एमालेका युवा तथा विद्यार्थी फाँटबाट अगाडि आएका नेता हुन् । भूगोलको राजनीतिमा भने उनलाई जसले टिकट दियो, उसैलाई हराउने घिमिरेको विगत भएको घिमिरेकै टीमका सुनसरीका एक एमाले नेता बताउँछन् ।

एमाले स्रोतअनुसार तत्कालीन कोशी अञ्चल इञ्चार्ज राजेन्द्र गौतमले टिकट दिएर घिमिरेलाई अञ्चल इञ्चार्ज बनाए । लगत्तै भएको एमाले महाधिवेशनमा उनै गौतमलाई हराएर घिमिरे केन्द्रीय सदस्य भए ।

त्यसैगरी घिमिरे अहिले आफूलाई प्रदेशको टिकट दिने र प्रदेश सांसाद बनाउने प्रदेश एक संयोजक तथा एमाले सचिव भीम आचार्यलाई नै संसदीय दलमा हराउने र मुख्यमन्त्री बन्न बाटो छेक्ने भूमिकामा उभिएको आचार्य पक्षका नेताहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ को सभामुखमा एमालेका गणेश काङवाङ र उषाकला राईको दाबी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment