+
+
Shares

टेलिभिजनको डिजिटाइजेसन प्रक्रियामा अन्योल

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ माघ २३ गते १४:०१

२३ माघ, काठमाडौं । सरकारी घोषणा कार्यान्वयन भयो भने आगामी वैशाखम १५ गतेपछि देशभर एनागल केबल टेलिभिजन सेवा बन्द हुनेछ । तर, सरकारले लागू गर्दै लगेको टेलिभिजनको डिजिटाइजेसन विरुद्धको मुद्धा सर्बोच्चमा विचाराधीन रहेकाले यो घोषणाको कार्यान्वयन के हुन्छ ? भन्ने अन्योल छ ।

सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न सुरु गरेपछि यो विवाद सर्बोच्च अदालत पुगेको छ । एनागल टेलिभिजन बन्द गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा अदालतले यो कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

सरकारले पनि लाइन काटिसकेका केबल टेलिभिजनलाई निर्वाचनको मुखमा मतदाता शिक्षा प्रभावित भएको भन्दै नेपाली च्यानलको प्रसारण प्रभावित नगर्ने गरी फेरि सेवा थाल्न निर्देशन दिएको थियो ।

त्यसअनुसार अहिले धेरैजसो केबल टेलिभिजन सीमित च्यानल मात्रै दिएर उपभोक्तालाई टेलिभिजन डिजिटलाइज्ड गर्न दबाव दिइरहेको नेपाल केबल टेलिभिजन संघका अध्यक्ष सुधिर भण्डारी बताउँछन् ।

सरकारले गत वैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा केबल टेलिभिजन डिजिटाइजेसनमा जान सीमा दिएको थियो । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक १५ सम्मको समयसीमा थियो ।

अब आगामी वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयको योजना छ ।

यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भइसक्नुपर्ने हो । तर, अदालतमा मुद्धा विचाराधीन रहेकाले सरकार आफैं अन्योलमा छ ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल टेलिभिजनको डिजिटाइजेसनको काम धमाधम भइरहेको बताउँछन् । उनले अदालतले फैसला नगरेसम्म एनागल टेलिभिजनको प्रसारण रोक्ने निर्णय गर्न कठिन हुने संकेत गरे ।

‘हामीले अदालतमा जवाफ पठाएका छौं । कानुन बनाएरै हआमीले एनालग हटाउन लागेका हौं,’ ढकाल भन्छन्,’ केबल टेलिभिजन सञ्चालहरु पनि सहत नै हुनुहुन्छ । पक्का पनि समस्या नआउला ।’

उनले स्वतःस्फुर्त रुपमा उपभोक्ताले डिजिटल केबल टेलिभिजिनमा उपभोक्ताहरु आइरहेको बताए । साथै अन्य प्रविधिका डिजिटल टेलिभिजन सेवा पनि जोड्ने काम चलिरहेको उनको भनाइ छ ।

एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएकाले यसलाई निरन्तरता दिनुपर्ने पक्षमा मन्त्रालय छ ।

डिजिटलाइज गर्ने प्रक्रिया

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्नेछ ।

तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।


यसका लागि केबल टीभी अपरेटरले भने आफ्नो हेड-इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । अध्यक्ष भण्डारी काठमाडौंका सबै केबल च्यानलहरु डिजिटलाइज्ड भइसकेको दाबी गर्छन् ।

यसका लागि सेवा प्रदायकले विभिन्न बिजनेश मोडेल ल्याएका छन् । यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेस पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।

यस्तै टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले मात्रै यो सेवा दिइरहेका छन् ।

यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो । ओरियन्ट डिजिटल, एनआर्इटीभी स्ट्रिम, सुबिसु केबल नेट र ब्रोडलिंक टीभीले यस्तो सेवा दिँदैछन् ।

डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात भने भएको छैन ।

राजश्व बढ्छ

सरकारले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको हो । अब परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउनेछन् ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्णरूपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

यसको कार्यान्वयन थालेसँगै अब परम्परागत प्रविधिको टेलिभिजन विस्थापित हुने क्रममा छ । अब केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजश्वमा पनि भारी वृद्धि हुनेछ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने प्रवक्ता ढकालले बताए ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।

अब भने वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।

गुणस्तरीय सेवा

यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर-पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन । किनभने डिजिटल टेलिभिजन सेवा दिन बजारमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

यसले केबल टेलिभिजनमा डिजिटाइजेसन अनिवार्य गरेकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ ।

त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट-टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् ।

अब नेपाल भित्रिने सबै सेट-टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट-टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ ।


अहिलेको केबल टेलिभिजनमा सेट-टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् ।

एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् । नेपालले यसका लागि बल्ल काम थालेको छ ।

डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टीभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ ।

टेलिभिजन सिग्नल डिजिटल भएपछि आफूलाई मन परेको प्याकेज लिएर हेर्न पाइने भएकाले ग्राहकलाई धेरै फाइदा हुने डीसहोमका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

‘अहिले केबल टेलिभिजनले जुन प्याकेज दिए त्यसैमा एड्स्ट हुनुपर्ने अवस्था डिजिटलमा हुने छैन । तर, अब भने ग्राहकले आफूलाई चाहिएको च्यानल मात्रै रोजेर हेर्न सक्ने अवस्था बन्नेछ,’ उनले भने, ‘ग्राहकले च्यानलअनुसार याकेज छानी-छानी उपयोग गर्न पाउनेछन् ।’

डीटीएच प्रविधिको डिसहोमले आफ्नो गुणस्तरीय डिजिटल सेवालाई ग्रामीण दूरदराजको भेगसम्म पुर्‍याइरहेको छ ।

कति महँगो ?

अहिलेको एनागल टेलिभिजनभन्दा यो केही खर्चिलो भएपनि यसको स्तरीयताले थोरै बढ्ने खर्चलाई चिर्ने दाबी सेवा प्रदायकहरुको दाबी छ । उनीहरु भन्छन्, गुणस्तरीय टेलिभिजनका लागि सरकारले थालेको डिजिटाइजेसनले उपभोक्तालाई सामान्य अवस्थामा भन्दा थोरै आर्थिक भार थपेपनि त्यसले टेलिभिजनको पिक्चर र साउन्ड क्वालिटीमा ल्याउने सुधार ज्यादै महत्वपूर्ण हुनेछ ।

यसले झ्यार-झ्यार टेलिभिजन हेनुपर्ने बाध्यता यसले हटाइदिनेछ । अब कि टेलिभिजनको क्वालिटी शतप्रतिशत क्लियर हुनेछ, त्यसमा १ प्रतिशत मात्रै क्वालिटी कमजोर भए प्रसारण सेवा नै बन्द हुन्छ ।

डिसहोम टीभीका अधिकारी डिजिटलाइज्ड हुने टेलिभिजनले ठूलो आर्थिक भार नथप्ने बताउँछन् । उनी डिजिटल प्रविधिमा आउने ग्राहकले महंगो शुल्कको भार बोक्नैपर्ने बाध्यता नहुने, बरु विकल्पहरु प्रशस्तै हुने बताउँछन् ।

स्तरीय टेलिभिजन हेरेबापत थोरै बढी रकम लागेपनि त्यसलाई सहजै ग्राहकले स्वीकार्ने टेलिभिजन सेवा प्रदायकहरुको भनाइ छ ।

डिजिटल टीभीको सेवा दिइरहेको डिसहोम डीटीएच प्रविधिमा आधारित छ । टीभी जोडेपछि पनि आफूलाई आवश्यक र आˆनो गच्छेअनुसार मात्रै प्याकेज लिन पाइने कम्पनीका महाप्रवन्धक अधिकारी बताउँछन् ।

‘हामीले टेलिभिजनका विभिन्न प्रकारका ग्राहकलाई ध्यानमा राख्दै फरक-फरक प्याकेज दिएका छौं । महिनाभर हेर्नेसस्तो प्याकेज पनि छ’ महाप्रवन्धक अधिकारी भन्छन्-‘त्यसपछिका प्याकेज भनेका ग्राहकको रुची र आवश्यक्ताअनुसार लिने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?