Comments Add Comment

गोरखाल्याण्डका नेता थुलुङ अझै भेटिएनन्

२३ माघ, काठमाडौं । गोरखाल्याण्ड आन्दोलनका अभियन्ता सञ्जय थुलुङ काठमाडौंबाट बेपत्ता भएको दुई साता वितिसक्दा समेत फेला पर्न सकेका छैनन् ।

काठमाडौंको धापासीस्थित आफन्तको घरमा बस्दै आएका उनीलाई गत ९ माघमा अज्ञात समूहले अपहरणको शैलीमा काठमाडौंबाट बेपत्ता बनाइएका थिए ।

आसम हतियार काण्डमा मुछिएका गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेस (जीटीए) सभा सदस्य समेत रहेका थुलुङ भारतको केन्द्रीय अनुसन्धान विभाग (सीआईडी) ले वान्टेड सूचीमा राखेको व्यक्ति हुन् ।

गोरखाल्याण्ड आन्दोलनका क्रममा २०१४ मा नागाल्याण्ड र पश्चिम बंगालको सीमा क्षेत्रबाट हतियारसहित उमेश कामी र गणेश क्षेत्री पक्राउ परेका थिए । उनीहरुले थलुङको निर्देशनमा हतियार दाजिर्लिङतर्फ लगिएको बयान दिएपछि सीआईडीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसयता फरार रहेका उनी केही महिनादेखि धरानमा बस्दै आएका थिए ।

काठमाडौंमा रहेका थुलुङका आफन्त प्रकाशचन्द्र मुखियाले सञ्जयलाई खोज्दै प्रहरी मुख्यालयदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्म गुहारी सकेका छन् । तर, पनि उनको पत्तो लाग्न सकेको छैन ।

केही अधिकारीहरुले भने उनलाई नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको हुन सक्ने आशंका गरेका छन् । नेपाली प्रहरी अधिकारी त्यो मान्न तयार छैनन् ।

‘नेपाल प्रहरीले पक्राउ गरेको भए सबैलाई जानकारी भइहाल्थ्यो’, प्रहरी प्रवक्ता मनोज नेउपानेले अनलाइनखबरसँग भने ।

थुलुङ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी दर्ता गरिएको थियो ।

वृतका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्रसिंह थापाले परिवारले दिएको उजुरीको आधारमा खोजी कार्य जारी गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीले खोजी जारी राखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment