Comments Add Comment

प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिन्छु : राजेन्द्र पाण्डे

२५ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रदेश ३ को मुख्यमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेदवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ’ उनले भने ।

बिहीबार रिपोर्टस क्लबमा नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको अनुभवी भएकाले मुख्यमन्त्रीको दाबी गरेको बताए ।

उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भीर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यसलाई सम्पन्न गर्न आफू लागि पर्ने पाण्डेको भनाइ छ ।

फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रबीच अब छिट्टै एकता हुने दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बसेर सबै कुरा टुँगो लगाउने पाण्डेले बताए ।

‘हिजो प्रचण्ड र ओली नै वाम गठबन्धन गर्नुभयो, निर्वाचनमा सर्वाधिक सफलता हात पर्यो, अब उहाँहरु मिलेर नै अब पार्टी एकता गर्नुहुन्छ, उहाँहरुले ध्यान दिनुहोला । कुन मोडालिटीमा एकता गर्नुहुन्छ, त्यो उहाँहरुको हातमा छ, तर एकता हुन्छ ।’

प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् । उनले भने,’सकेसम्म सरकार गठन सँगसँगै नभए एक दुई दिनपछि भए पनि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ ।’

नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्वय नेता ओली र प्रचण्ड एक/एक पदमा बस्ने भएकोले आली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए । एकता प्रक्रिया आँफैमा गाहा्रे काम भएकोले समय लाग्नु स्वभाविक भएको उनको स्पष्टोक्ति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment