Comments Add Comment

प्रदेश ७ : सभामुखमा एमालेका चार नेताको चर्चा

को होलान् विपक्षी दलको नेता ?

माघ २५, कैलाली । प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेसंगै प्रदेश ७ मा एमालेभित्र सभामुख को बन्ने भन्ने चर्चा र छलफल शुरु भएको छ ।

मुख्यमन्त्री माओवादीले लिने र सभामुख एमालेले लिने सहमति भएपछि एमालेका ४ जना सांसद सभामुख बन्ने दौडमा छन् ।

बझाङका अर्जुनबहादुर थापा, डोटीका पूर्णा जोशी, बैतडीका माया भट्ट र डडेल्धुराका पठानसिंह बोहराको नाम सभामुखको चर्चामा छ । थापा र बोहरामध्ये एक जना सभामुख बन्ने सम्भावना रहेको एमालेका एक नेताले बताए ।

एमाले प्रदेश कमिटीको निर्णयका आधारमा सभामुख को बन्ने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ । कञ्चनपुरबाट निर्वाचित तारा लामा तामाङको नाम पनि सभामुखको चर्चामा छ तर उनले संसदीय दलको नेतामा रुची देखाएका छन् । प्रदेशसभा बैठकले माघ २९ गते सभामुखको निर्वाचनको मिति तय गरेको छ ।

उपसभामुखमा २ महिला दाबेदार

वाम गठबन्धनको भागवण्डाअनुसार यो प्रदेशमा उपसभामुख माओवादीले लिने छ । माओवादीभित्र उपसभामुखमा दुई जना महिला दावेदार देखिएका छन् । बझाङका देवकी मल्ल र दार्चुलाकी निर्मला बडाल उपसभामुखका दावेदार हुन् ।

उपसभामुखमा मल्लको सम्भावना बलियो रहेको माओवादीका एक नेताले बताए । गत सोमबार बसेको संसदीय दलको बैठकमै मल्लले उपसभामुखमा आफ्नो दावी प्रस्तुत गरेकी थिइन् । बझाङबाट निर्वाचित भट्ट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । सभामुख/उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

दलको नेतामा ४ जनाको चर्चा

एमालेमा संसदीय दलको नेताका लागि चार जना नेता आकांक्षी छन् । कैलालीबाट निर्वाचित दीर्घ सोडारी, बाजुराबाट निर्वाचित प्रकाश शाह, बझाङबाट निर्वाचित अर्जुन थापा र कञ्चनपुरबाट निर्वाचित तारा लामा तामाङ दावेदार देखिएका छन् । थापा र लामाको नाम सभामुखमा पनि चर्चामा छ ।

यीमध्ये शाह र सोडारी संसदीय दलको नेताका बलियो दावेदार हुन् । प्रदेश सरकारको नेतृत्वबारे दुई दलबीच सहमति हुनुअघि दुवै जनाले मुख्यमन्त्रीमा दावी गरेका थिए । प्रदेश सरकार फेरबदल भए संसदीय दलको नेता नै मुख्यमन्त्रीको हुने भएकाले दलको नेतामा पनि नेताहरु आकांक्षी देखिएका छन् ।

एमाले कैलालीका जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोडारीले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताए । अधिकांश प्रदेशसभा सदस्यहरुको समर्थन आफूलाई रहेको र सबैभन्दा बढी सांसद भएको जिल्लाको अध्यक्ष भएको नाताले पनि आफू दावेदार रहेको उनको भनाइ छ । सहमतिकै आधारमा आफू संसदीय दलको नेता चयन हुने उनको विश्वास छ ।

एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको बताए । एमाले वैकल्पिक केन्द्रीय सदस्य शाहले भने प्रदेश सभामा एमालेमा सबै भन्दा सिनियर आफू रहेकाले दलको नेतामा आफ्नो दावी रहेको बताएका छन् । पार्टीले तराई र पहाडको सन्तुलन मिलाएर संसदीय दलको नेता चयन गर्नुपर्ने उनको धारणा छ ।

उनले भने, ‘एमालेका सबै प्रदेश सांसद भन्दा म नै सिनियर हुँ । मैले १० वर्षअघि नै जिल्लाको नेतृत्व गरिसकेको छु । दलको नेतामा मेरो दावी स्वाभाविक हो । दलको नेता बन्न म योग्य छु ।’ प्रदेश सभामा एमालेका २५ जना सांसद छन् ।

कांग्रेसमा रावल र खड्काको दावी

प्रमुख प्रतिपक्षको भूमिका रहने नेपाली कांग्रेसभित्र पनि संसदीय दलको नेता को हुने भन्ने चर्चा शुरु भएको छ । कांग्रेसभित्र डोटीबाट निर्वाचित भरत खड्का र कैलालीबाट निर्वाचित डा. रणबहादुर रावल संसदीय दलको नेताका दावेदार देखिएका छन् ।

रावलले सकभर सहमतिकै आधारमा नेता चयन हुने बताए । ‘हामी को बन्ने भन्ने छलफलमै छौं । सकभर सहमतिकै आधारमा संसदीय दलको नेता चयन हुन्छ’ उनले भने, ‘सहमति भएन भने लोकतान्त्रिक प्रक्रिया चुनावबाट चुन्छौं ।’ प्रदेश सभामा कांग्रेसका १२ जना सांसद रहेका छन् ।

प्रदेश ७ मा नेकपा माओवादीले भने संसदीय दलको नेतामा त्रिलोचन भट्टलाई चयन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment