Comments Add Comment

प्रदेश १ मा एमाले संसदीय दलको नेता चयन भोलि

एमालेका दुई समूह विराटनगरमा सक्रिय

२५ माघ, विराटनगर । प्रदेश १ को संसदीय दलको नेता चयनका लागि नेकपा एमालेमा सहमतिको सम्भावना क्षीण बन्दै गएको छ ।

संसदीय दलको नेताका दाबेदारहरुले अडान नछाडेपछि निर्वाचनमार्फत नेता चयन हुने सम्भावना बढेको हो ।

संसदीय दलको नेता चयन गर्न शुक्रबार निर्वाचन गर्ने एमालेले औपचारिक निर्णय गरेसँगै एक पक्षीय, दुई पक्षीय र त्रिपक्षीय छलफल तीब्र बनेको छ ।

‘तीन दिन यताबाट सहमतिमा संसदीय दलको नेता चुन्ने विषयमा छलफल र वैठक बसेको छ, यो क्रमले भोलि मनोनयन दर्ता हुनु अघिसम्म निरन्तरता पाउँछ, तर सहमतिबाट संसदीय दलको नेता चुन्ने विषय क्षीण बन्दै गएको छ’,एमालेका एक नेताले भने ।

एमाले पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरिरहेका छन् । उनीहरुले आफ्नो अडानलाई यथावत राखेका छन् ।

तर एमाले पार्टीभित्र घिमिरे र आर्चाय एउटै समूहको प्रतिनिधित्व गर्छन् । उनीहरू माधवकुमार नेपाल समूहका हुन् ।

राई पार्टीको संस्थापन पक्ष अर्थात केपी ओली समूहका हुन् । नेपाल समूहभित्रै दुई जनाको उम्मेदवारी परेको अवस्थामा मत बाँडिने भएको भन्दै घिमिरेमाथि उम्मेदवारी फिर्ता लिन दबाब बढेको छ । तसर्थ अन्तिम समयमा आएर घिमिरे संसदीय दलको नेता बन्ने होडबाट बाहिरने सम्भावना रहेको उनी निकट स्रोतको दाबी छ ।

चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका घिमिरे एमालेका केन्द्रीय सदस्य हुन् भने आचार्य एमाले केन्द्रीय कमिटी सचिवका साथै १नम्बर प्रदेश इञ्चार्ज हुन् । यता राई पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका साथै १ नम्बर प्रदेश सह-इञ्चार्ज हुन् ।

तीनै जनाले जीत सुनिश्चित हुने दावीसहित तीब्र लविङ सुरु गरेका छन् । पछिल्लो अवस्थामा पार्टीभित्र आचार्यको आलोचना बढेको, कार्यकर्ताबाट पनि सम्पर्क टुटेको र माथिल्लो तहका नेताले पनि नपत्याउने अनुमान गर्दै नेपाल समूहको बैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले उम्मेदवारीको घोषणा गरेका थिए ।

तर, माधवकुमार नेपाल र झलनाथ खनालले आचार्यलाई आधिकारिक ठान्दै घिमिरेलाई उम्मेदवारी नदिन निर्देशन दिएको बुझिएको छ ।

आचार्यलाई सघाउन नेपाल तथा खनाल समूहबाट अर्का सचिव योगेश भट्टराई दुई दिनयता पूर्वमा छन् ।

भट्टराई र पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले अहिले आचार्यको पक्षमा माहौल बनाउने काम गरिरहेका छन् ।

विराटनगरमा रहेका भट्टराईले भने ‘सहमतिको अन्तिम प्रयासमा रहेका छौं,पार्टीले अहिलेसम्म अबलम्बन गरेको अभ्यास भनेको सिनियरिटीको आधारमा पद बाँडफँट गर्ने छ त्यसका लागि प्रयास जारी छ ।’

अर्का पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय सल्लाहकार कमिटी सदस्य राजेन्द्र गौतमलगायत केपी पक्षका नेताहरु राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् । शेरधन राई पनि विराटनगरमा नै रहेका छन् ।

ढकालले प्रदेश १ मा जातीय क्लस्टर मिलाएर लार्नुपर्ने बताए । क्लस्टर नमिलाए अन्याय हुने भन्दै ढकालले पार्टीमा वरिष्ठता भन्दा पनि साझा व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्ने बताए ।

ओली र नेपाल पक्षका नेताहरु विराटनगरको छुट्टाछुट्टै होटलमा बसेर चुनावी रणनीति बनाउँदै छन् ।

निर्णायक बन्दै घिमिरे

एमालेमा दुई जनामात्र उम्मेदवार भएको खण्डमा संसदीय दलको नेता बन्न २६ मत आवश्यक पर्छ । नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् । २ जनाको समूहगत आवद्धता खुलेको छैन ।
यद्यपि नेपाल समूहका सबैले आचार्यलाई मत नदिने दावी ओली समूहको छ ।

अर्कोतिर नेपाल समूहका कतिपयले गुट परिवर्तनको तयारी गरिरहेको चर्चा पनि छ । नेपाल समूहकै जीवन घिमिरेले मुख्यमन्त्रीको दावी गरिरहेको बेला सोही समूहमा रहेका मोरङका राजकुमार ओझा, लिलावल्लभ अधिकारीसहित केही सांसदले पनि आचार्यलाई सहजै समर्थन नगर्ने देखिएको छ ।

त्यसबाहेक घिमिरेले अन्य कति मत प्रभावित गर्न सक्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । स्पष्ट कुरा के हो भने घिमिरेको समर्थन जता भयो उतैको पल्लाभारी हुने निश्चित देखिएको छ ।

के भन्छन् दाबेदारहरू ?

संसदीय दलको नेता तथा मुख्यमन्त्रीको दाबी प्रदेशमा सबैभन्दा पहिले शेरधन राईले गरेका हुन् । ‘मैले नै सबैको प्रतिनिधित्व गर्न सक्छु,’ उनले भने, ‘सहमतिबाट संसदीय दलको नेताको टुङ्गो नलागे संसदीय दलको नेताका लागि हुने निर्वाचन प्रक्रियामा म भाग लिने छु,’ उनले भने ।

एमालेका सचिव तथा मुख्यमन्त्रीका दाबेदार नेता भीम आचार्यले सिनियरिटीका आधारमा आफू मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन् । ‘संसदीय दलको नेता चुन्ने विषयमा अधिकतम छलफलको माध्यमबाट सहमतिमा टुग्यांउने प्रयास जारी रहनेछ’ उनले भने, ‘होइन भने प्रक्रियाबाट संसदीय दलको नेताको निर्वाचनमा म सहभागी हुन्छु ।’

अर्का नेता जीवन घिमिरेले आफू शेरधन राई भन्दा सिनियर भएको र आचार्यसँगै राजनीति गरेको कारण आफू योग्य र सक्षम रहेको बताएका छन् । ‘२६ गते ११ बजेसम्म सहमतिको प्रयास हुन्छ,’ घिमिरेले भन्ने ‘मेरो नाममा सहमति हुने सम्भावना छ, भएन भने म पनि निर्वाचन प्रक्रियामा सामेल हुन्छु ।’

को कस्को पक्षमा ?

दुबै समूहले क-कसले आफूलाई मत देलान् भनेर सूची बनाएका छन् । शतप्रतिशत मत दिने ‘हार्डकोर’, विगतका सम्बन्धमा आधारमा मत दिन सक्ने, जातीय आधारमा मत दिन सक्ने, भूगोलका आधारमा मत दिन सक्ने, कुनै कारणले अर्कालाई मत नदिएर लाभको मत आफूलाई आउनेलगायतका आधारमा सूची बनाएका छन् ।

नेपाल समूह

१. राजेन्द्र राई (भोजपुर)
२. तुलसी न्यौपाने (संखुवासभा)
३. बलबहादुर साम्सुहाङ (ताप्लेजुङ)
४. गणेश काम्बाङ (पाँचथर)
५. राजन राई (खोटाङ)
६. खिना लिम्बू (इलाम)
७. रामबहादुर मगर (इलाम)
८. लक्ष्मण तिवारी (तेह्रथुम)
९. निरन राई (धनकुटा)
१०. उपेन्द्र घिमिरे (मोरङ)
११. लिलाबल्लभब अधिकारी (मोरङ)
१२. राजकुमार ओझा (मोरङ)
१३. जीवन घिमिरे (मोरङ)
१४. कला घले (उदयपुर)
१५. गोपाल बुढाथोकी (झापा)
१६. विर्खराज प्रधान (झापा)
१७. हिराबहादुर थापा (झापा)
१८. भीम आचार्य (सुनसरी)
१९. प्रदिप भण्डारी (सुनसरी)
२०. जसमाया गजमेर विश्वकर्मा
२१. सावित्री जोशी
२२. उषाकला राई
२३. कृष्णकुमारी राई
२४. पदमकुमारी गुरुङ
२५. होमकुमारी साँवा
२६. यशोदा अधिकारी
२७. सरिता थापा
२८. सावित्राकुमारी रेग्मी
२९. सुनिताकुमारी चौधरी

ओली समूह

१. शेरधन राई (भोजपुर)
२. तेजमान कन्दंवा -तेह्रथुम)
३. उत्तमकुमार बस्नेत (सोलु)
४. बुद्धिकुमार राजभण्डारी (सोलु)
५.अम्बिरबाबु गुरुङ (ओखलढुंगा)
६. इन्द्रमणि पराजुली (धनकुटा)
७. ज्ञानेश्वर राजवंशी (मोरङ)
८. विमल कार्की (उदयपुर)
९. हिक्मत कार्की (झापा)
१०. अर्जुन राई (झापा)
११. श्रीप्रसाद मैनाली (झापा)
१२. एकराज कार्की (झापा)
१३. बसन्त बानिया (झापा)
१४. सर्वध्वज साँवा (सुनसरी)
१५. निलम बस्नेत (सुनसरी)
१६. जगदिश कुसियत (सुनसरी)
१७. काजिमान कागते (इलाम)
१८. विनादेवी राई
१९. आशारत्न जबेगु
२०. अम्बिका थापा

तटस्थ

१. गुलेफुन मियाँ
२. वसन्ती देवी यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment