Comments Add Comment

भरतपुर विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुलाई सास्ती


२७ माघ, चितवन । चितवनको भरतपुर विमास्थलमा लगेज स्क्यानर नहुँदा यात्रुले सास्ती भोग्नु परेको छ । लगेज स्क्यानर नहुँदा प्रहरीलाई संकटकालको समयको जस्तै झल्को दिने गरी खानतलासी गर्नुपर्ने बाध्यता छ ।

यात्रुहरुले विदेशसमेत लैजाने गरी समानहरु घरबाट नै प्याक गरेर ल्याएका हुन्छन् तर विमानस्थलमा सामान चेक हुँदा पुनः मिलाउनुपर्ने बाध्यता यात्रुलाई छ । विमानस्थलमा यात्रु स्क्यानर भए पनि लगेज स्क्यानर भने छैन ।

वुद्ध एयरबाट दिदीको सामान काठमाडौं पठाउन पुगेका रत्ननगर–१४ का रविन्द्र खनाललाई विमानस्थलमा रहेका प्रहरीले लगेजको चाबी खोल्न भने, तर चाबी उनीसँग नभई दिदीसँग थियो । विमानस्थलमा भोगेको सास्ती सम्झिँदै खनालले भने, ‘यति ठूलो विमानस्थलमा एउटा पनि लगेज स्क्यानर नहुनु दुःखद कुरा हो ।’

खनाल जस्तै गुनासो गर्दछन् भरतपुर ११ का अमित कौडेल पनि । ‘अन्यन्त्र लैजान तयार गरिएको लगेज प्रहरीले लथालिङ बनाएर खोतल्छ, सामान मिलाउँदा मिलाउँदै अर्को आपत,’ कौडेल भन्छन्, ‘लगेजभित्र गैरकानुनी सामान नै हालेर ल्याएजस्तो अनुभूति गराइन्छ ।’

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले लगेज स्क्यानर नहुँदा गुनासो बढेको स्वीकारे । ‘विषेश गरी महिलाहरुको सामानहरु व्यागबाट खोतल्दा असहज हुने गरेको छ, गुनासो पनि आएको छ,’ प्रमुख गौतमले भने, ‘घरबाट तयार गरेर ल्याएको ब्याग खोतल्दा यात्रुलाई ह्यमुलेसन फिल हुन्छ ।’

उनले यस वर्ष भरतपुरसहित देशका अन्य दुई विमानस्थलमा लगेज स्क्यानर ल्याउने तयारी भएको जानकारी आफूले पाएको अनलाइखबरसँग बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणको सञ्चार तथा उड्डयन शाखाले विमानस्थलमा लगेज स्क्यानरको व्यवस्था गर्दछ । एउटा स्क्यानरको मूल्य ६० देखि ७० लाखसम्म पर्दछ ।

भरतपुर विमानस्थल सुरक्षामा १४ जना प्रहरी छन् । तिमध्ये २ जना प्रहरी लगेज खोतल्नमै व्यस्त देखिन्छन् । लगेज स्क्यानर भएमा प्रहरीको जनशक्ति पनि धेरै नचाहिने विमानस्थल प्रमुख गौतमले बताए ।

भरतपुरबाट अहिले दैनिक पोखरा २ र काठमाडौं १२ वटासम्म उडान हुने गरेको छ । भरतपुर विमानस्थलले वार्षिक दुई करोड ३८ लाखभन्दा बढी आम्दानी गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment