Comments Add Comment

अड्डामार्गमा डोरमणिको डरः कांग्रेस चोक कि अष्टलक्ष्मीको झोक ?

हेटौंडालाई नमूना नगर बनाउने मेयरलाई नमूना प्रदेश बनाउने चुनौती

२९ माघ, काठमाडौं । प्रदेश–३ को मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने अड्डामार्गको घुम्तीमै ठूलो बोर्डमा लेखिएको छ, कांग्रेस चोक । हरियो साइनबोर्डमा लेखिएको कांग्रेस चोकलाई दाहिने पारेर मुख्यमन्त्री डोरमणि पौडेल सोमबार मध्यान्ह नहुँदै संघीय गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्रीको पदभार सम्हाल्न पुगे ।

डोरमणिका लागि मुख्यमन्त्रीको कार्यालय धेरै टाढा कहिल्यै थिएन । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको मुख्यमन्त्री कार्यालयबाट करिब सय मिटरको दूरीमा रहेको हेटौंडा उपमहानगरको भवनमा उनले १० वर्ष बिताएका थिए ।

मुख्यमन्त्रीका रुपमा डोरमणिको यो पहिलो यात्रा भए पनि अड्डामार्ग र कांग्रेसचोक वरपर उनी चिरपरिचित अनुहार हुन् ।

कांग्रेस र कांग्रेस चोक कहिल्यै चुनौती भएनन्

डोरमणिको जीवनमा कांग्रेस चोक कहिल्यै चुनौती भएन । यही कांग्रेस चोक भएर उनले अड्डामार्गमा धेरै वर्ष सफल जनप्रतिनिधिका रुपमा ओहोरदोहोर गरिरहँदा कहिल्यै अवरोध भएन ।

कांग्रेस चोक जस्तै कांग्रेस पनि उनको बलियो चुनौती कहिल्यै बनेन । उनले दुई पटक हेटौंडाको मेयर जित्दा कांग्रेसभन्दा राप्रपा बलियो प्रतिस्पर्धी थियो ।

मुख्यमन्त्री बनेर प्रदेश–३ को बागडोर सम्हाल्दै गर्दा डोरमणिलाई कांग्रेस चोकभन्दा पार्टीभित्रकै झोकको बढी डर हुनसक्छ । प्रदेश–३ मा कांग्रेस यसकारण पनि उनको ठूलो डर होइन, यहाँ एमालेको बहुमत हुँदा कांग्रेस तेस्रो पार्टी हो ।

दोस्रो ठूलो दल माओवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका डोरमणिले प्रमुख विपक्षी नेता पनि हेटौंडाकै इन्द्र बानियाँ पाएका छन् ।

हेटौंडावासी भएर मात्र होइन, राजनीतिक कदका हिसाबले पनि बानियाँले सधैं सम्मान गर्ने पात्र हुन्, डोरमणि । हेटौंडा राजधानी जोगाउनकै लागि पनि मुख्यमन्त्री र प्रमुख विपक्षी नेताको धेरै ठाउँमा स्वार्थ मिल्ने निश्चित छ ।

त्यसैले सदाझैं यसपटक पनि डोरमणिको चुनौती अड्डामार्गको घुम्ती कांग्रेस चोक र कांग्रेसका उदीयमान नेता बानियाँ होइनन् ।

अष्टलक्ष्मीको चुनौती– ‘हामी पनि हेरौंला’

डोरमणिको डर आफैंभित्र छ । संसदीय दलको नेतामा चुनाव हारेलगत्तै पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले अनलाइनखबरसँग भनेकी थिइन्, ‘अब कसरी काम गर्दा रहेछन्, हामी पनि हेरौंला । प्रदेश कमिटीको नीति निर्देशन मान्दा रहेछन् कि एकलौटी अगाडि बढ्दा रहेछन्, त्यो पनि हेरौंला ।’

‘हामी पनि हेरौंला’ र ‘त्यसपछि देखाउँला’ शैलीको अष्टलक्ष्मीको प्रतिक्रियाले डोरमणिले आगामी दिनमा कांग्रेस चोकभन्दा अष्टलक्ष्मीको झोंकको सामना गर्नुपर्नेछ भन्ने प्रष्ट सन्देश आइसकेको छ ।

डोरमणि मुख्यमन्त्रीको उम्मेदवार बन्नुनै धेरैका लागि ‘सरप्राइज’ थियो । उनले पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक शाक्यलाई पराजित गर्नु अर्को ‘सरप्राइज’ भयो । अब उनको चुनौती पार्टीमा पराजित भएको पक्ष विशेषतः शाक्यको सहयोग पाउनु हो ।

पराजयको पीडामा तत्काल आवेशको प्रतिक्रिया दिए पनि लामो राजनीतिक इतिहास बोकेकी शाक्यले सम्भवतः डोरमणिलाई डर देखाउने खालको बदलाभाव राख्ने छैनन् ।

संसदीय दलमा पौडेल सुविधाजनक बहुमतमा हुँदाहुँदै पनि पार्टीको प्रदेश कमिटीमा उनीसँग पराजित शाक्यको टिम बलियो छ । प्रदेश सरकार र पार्टी कमिटीबीच समन्वय गर्दै अगाडि बढ्न पौडेलले कति पहल गर्छन् ? उनीमाथि उठेको प्रश्न हो यो । उमेर र राजनीतिक अनुभव दुवैले पाका नेता पौडेल सम्भवतः यसमा पनि सफल हुनेछन् ।

नमूना नगरपालिकाका सफल कमान्डर

हेटौंडालाई देशभरकै नमूना नगर बनाउने श्रेय पाएका पौडेलको काँधमा मुलुककै सबैभन्दा ठूलो प्रदेश–३ लाई नमूना बनाउने चुनौती र अवसर आइपुगेको छ । पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक शाक्यलाई संसदीय दलको नेतामा पराजित गरेपछि उनी एकपटक पुनः राष्ट्रिय चर्चामा आए ।

वरियतामा तल, वरिष्ठतामा माथि

पौडेल अहिले एमालेको प्रदेश कमिटी सदस्य मात्र छन् । तर, अब उनले मुख्यमन्त्री बन्दै गर्दा पार्टी उपाध्यक्षदेखि संगठनको वरियतामा आफूभन्दा वरिष्ठ धेरै नेताको नेतृत्व गर्नुपर्ने भएको छ ।

प्रदेशसभामा पार्टी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका साथै पोलिटब्युरो सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र अरुण नेपाल सांसदका रुपमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरुको पंक्ति पनि प्रदेशसभामा छ । उनीहरुलाई आफ्नो मन्त्रिपरिषद्मा समेटेर लैजाने अभिभार उनको काँधमा छ । पार्टीको वरियतामा तल भए पनि पौडेल शासन सञ्चालनका सन्दर्भमा माथिल्लो योग्यता राख्ने नेता भएको र सबैलाई ‘दाइ’ भन्ने गरेकाले उनलाई गुटगत असहयोग भएन भने धेरै समस्या नहुन सक्छ ।

किनकि, वरियतामा उनी तल भए पनि वरिष्ठता, योग्यता, क्षमता र अनुभवका आधारमा अरुभन्दा माथि नै छन् ।

शहीद स्मारकदेखि हरित शहरसम्म

पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाका मेयर निर्वाचित भएका थिए । उनकै पालामा हेटौंडा देशकै नमूना नगरपालिका बन्यो । नेपालमै सबैभन्दा पहिलो प्लास्टिक निषेधित नगरपालिका हेटौंडा नै हो ।

हेटौंडाको हरित क्रान्ति तथा फराकिला र व्यवस्थित सडक उनकै पालामा बनेका हुन् । हेटौंडावासीले उनलाई विकासप्रेमी नेताका रुपमा चिन्नुको कारण पनि त्यही हो ।

डोरमणिलाई सधैं सम्झिइने अर्को योगदान हो, हेटौंडाको शहीद स्मारक । उनी मेयर भएको बेला उनकै पहलमा बनेको शहीद स्मारक नेपालकै उत्कृष्ट मानिन्छ । शहीद स्मारक हेर्नकै लागि वर्षमा ६ लाख मान्छे हेटौंडा जाने गरेको तथ्यांक छ ।

यो स्मारक संरक्षण समितिको अध्यक्ष पौडेल नै छन् । र, मुख्यमन्त्रीको सपथग्रहणलगत्तै पौडेल यही स्मारकमा पुगेर शहीदप्रति सम्मान अर्पण गरिसकेका छन् ।

योग्य व्यक्तिलाई जिम्मेवारी

दुई पटक मेयर भएका पौडेल नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गर्दा स्थानीय शासन प्रणालीको विज्ञ बनेर निस्किए । उनको रुचि पनि पार्टी संगठनभन्दा प्राज्ञिक क्षेत्रमा बढी भयो ।

स्थानीय तह पुनर्संरचना आयोगको सदस्यका रुपमा पनि उनको भूमिका महत्वपूर्ण रहेको आयोगका अध्यक्ष बालानन्द पौडेल सम्झिने गर्छन् ।

प्रादेशिक राज्यको पहिलो अभ्यास गरिरहँदा प्रदेश–३ का लागि पौडेल अवश्य पनि योग्य मुख्यमन्त्री हुन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका पौडेल राजनीतिकभन्दा सामाजिक रुपमा बढी चर्चामा आउने गरेका छन् । उनको व्यक्तित्वका कारण पनि पार्टीमा धेरैले उनको वरियता खोतलिराख्दैनन् ।

को हुन् डोरमणि ?

१५ चैन २००२ मा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइँसराईसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा भएका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका उनी पञ्चायतकालमा जेल र निर्वासनमा पनि परे । र, पार्टीभित्र सधैं केपी ओलीको निकट रहेर काम गरे ।

उनका लागि एउटा अवसर पनि छ । त्यो के भने उनी दुईतिहाइ बहुमतसहितको मुख्यमन्त्री बनेका छन् । पार्टी उपाध्यक्ष र पोलिटब्युरो सदस्यहरुदेखि संसदीय फाँटका अनुभवी नेताहरु प्रदेशसभामा छन् । यस्तै, जिल्ला विकास समिति र नगरपालिकाको नेतृत्व गरिसकेका स्थानीय शासनका विज्ञहरुमध्येबाट उनले मन्त्री बनाउने अवसर पाएका छन् ।

मुख्यमन्त्री र प्रमुख सचिव उस्तै

डोरमणिको अर्को सौभाग्य पनि छ, उनले प्रदेश सरकारको प्रमुख सचिवका रुपमा उनीजस्तै स्थानीय शासन र प्रादेशिक मामिलाका विज्ञ रेश्मीराज पाण्डेलाई पाएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लामो समय काम गरेका पाण्डे र पौडेलको ‘टिम स्पिरिट’ मिलिसकेको छ ।

पौडेलले आफ्नो अनुभव र विज्ञहरुको टिम पूरै परिचालन गरे भने उनी मेयरजस्तै सफल मुख्यमन्त्री बनेर अड्डामार्गबाट बाहिरिने अवसर पाउनेछन् ।

मेयर हुँदा नमूना काम गरेका पौडेलले मुख्यमन्त्री भएर कस्तो काम गर्लान् ? अबका पाँच वर्ष सबैको नजर उनीमाथि परिरहने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment