Comments Add Comment

भ्यालेन्टाइनका लागि भित्रियो २ लाख २० हजार स्टिक गुलाब

१ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेका लागि व्यवसायीले २ लाख २० हजार स्टिक गुलाब भित्र्याएका छन् । नेपाल पुष्प व्यवसायी संघका अध्यक्ष कुमार कसजुका अनुसार बुधबार मनाइन लागेको भ्यालेन्टाइनका लागि उक्त परिमाणको गुलाब भित्र्याइएको हो ।

आन्तरिक उत्पादन कमजोर रहेका कारण गुलावका लागि नेपाल मूलतः भारतीय बजारमै निर्भर छ ।

संघका अनुसार यसपटक भारतबाट एक लाख ७० हजार स्टिक गुलाब भारतबाट भित्रिएको छ । व्यवसायीले भारतका दिल्ली, बैङ्लौर, कोलकत्ता, पुना लगायतका क्षेत्रबाट गुलाब ल्याउने गर्छन् ।

भ्यालेन्टाइनका लागि नेपालको आन्तरिक बजारबाट करिब ५० हजार स्टिक गुलाब मात्रै आपूर्ति भएको संघको भनाइ छ । चितवन, काभ्रे, नुवाकोट, धादिङ र काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाबाट पनि केही परिमाणमा गुलाबको आपूर्ति हुन्छ ।

भ्यालेन्टाइनमा करिब २ करोड रुपैयाँ मूल्य बराबरको गुलावको कारोबार हुने संघको दाबी छ ।

१४ तारिकलाई भ्यालेन्टाइन डे मानिए पनि त्यसको एक साताअघि देखि नै मनाउने क्रम सुरु हुन्छ । व्यवसायीका अनुसार ८ तारिकदेखि नै गुलाबको कारोबार सुरु हुन्छ ।

भ्यालेन्टाइनका लागि खासगरी डच र टाटा गुलावको माग उच्च हुन्छ । हरेक वर्ष करिब १५ प्रतिशतका दरले माग बढेको संघको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment