Comments Add Comment

विवादित गायिका सरस्वती लामा भन्छिन्ः ‘लुगा लाउने नलाउने मेरो हक’

गायिका सरस्वती लामा आफ्नो गायकीका लागि भन्दा बढि छाडापनका लागि चर्चित छिन् । स्टेज शोहरुमा उत्तेजक हर्कत र यूट्यूवमा ‘अश्लिल’ कुराकानीले गर्दा उनको बदनामी भइरहेको छ ।

हालै बाँकेको कोहलपुरमा आयोजित एक महोत्सवले गायिका लामालाई विवादमा ल्याएको छ । उनले गीत गाउने क्रममा अश्लिलता प्रदर्शन गरेपछि कार्यक्रम नै रद्द गर्नुपरेको खबरहरु आइरहेका छन् ।

हाल काठमाडौंमा रहेकी लामालाई हामीले सोध्यौं, कार्यक्रम नै रद्द हुने गरी स्टेजमा के उत्पात गर्नुभयो ?

उनले. यसमा आफू निर्दोष र अन्जान रहेको दावी गरिन् ।

‘मैले नराम्रो हर्कत गरेकी छैन । मैले गीत गाउँदा दर्शकहरुबाट हुटिङ आउनु सामान्य कुरा हो,’ उनले भनिन्, ‘यतिमै कार्यक्रम स्थगित गर्नुपर्ने थिएन ।’

सरस्वतीका अनुसार कार्यक्रमको सबैभन्दा अन्त्यमा उनको प्रस्तुति थियो । उनले करिब १ घन्टा मञ्च ओगटेर गीत गाउने तयारी गरेकी थिइन् । पहिलो गीत ‘उर्वशी’ गाउँदा खासै समस्या आएन । त्यसपछि उनले आयोजकहरुको फर्माइसमा ‘काले दाई’ गाउन थालिन् । यही गीत गाउने क्रममा उनले लगाएको लुगा फुकालेपछि दर्शकहरु उत्तेजित बनेको प्रहरीको भनाई छ ।

सरस्वतीले पनि गीत गाउने क्रममा आफूले लगाएको ज्याकेट फुकालेको स्वीकारिन् ।

‘स्टेजमा आफ्नो ज्याकेट फुकाल्ने मेरो स्टाइल हो,’ उनले भनिन्, ‘तर, ज्याकेट फुकाल्दैमा म नाङ्गै भएकी थिइनँ ।’

सरस्वतीका अनुसार उनले ज्याकेट भित्र टिसर्ट र त्यसभित्र इनरवेयर लगाएकी थिइन् । तल छोटो हाफपाइन्ट लगाएकी थिइन् ।

‘टिसर्ट ह्वांगै खुलेको थियो रे नी त ?’ भन्ने प्रश्नमा सरस्वतीले जवाफ दिइन्, ‘यस्तो टिसर्ट त म घर बस्दा पनि लगाउँछु, घुम्न जाँदा पनि लगाउँछु ।’

उनले थपिन्, ‘कि सरकारले हामीलाई यतिसम्म देखाउन पाउने र यति छोप्नु पर्ने भनेर नियम बनाउनु पर्‍यो ? होइन भने कति लुगा लगाउने वा नलगाउने भन्ने मेरो कुरा हो ।’

सरस्वतीका अनुसार उनले गीत गाउँदा गायक स्वरुपराज आचार्य र नायिका केकी अधिकारी कार्यक्रमस्थलमै थिए भने गायक कमल खत्रि भर्खरै गाएर हिँडेका थिए ।

‘काले दाई’ गाउँदै गर्दा दर्शकहरुबीच घमासान हुन थालेपछि प्रहरीले स्टेजमा हस्तक्षेप गरेको थियो । प्रहरीका अनुसार उत्तेजित युवाहरुले एक महिला दर्शकको लुगासमेत च्यातिदिएका थिए । त्यसपछि प्रहरीले प्रस्तुति रोक्न सरस्वतीलाई आग्रह गरेपछि उनले कार्यक्रम सञ्चालकलाई माइक दिएर ब्याक स्टेज गएकी थिइन् ।

‘मलाई कार्यक्रम रोकेर केहीबेर आराम गर्न भनिएको थियो, तर फेरि स्टेजमा फर्किन दिइएन । उहाँहरुले कार्यक्रम नै रद्द गराउनु भएछ । किन बिनाकारण रद्द गरियो, म अचम्ममा परेकी छु,’ उनी भन्छिन् ।

सरस्वतीका अनुसार उनलाई प्रहरीले पहिले नै स्टेजबाट तल नर्झन आग्रह गरेको थियो र त्यसलाई उनले मानेकी थिइन् ।

‘उहाँहरुले भन्नुभएको थियो कि तपाईं स्टेजबाट झर्नुभयो भने हामी दर्शकहरुलाई थाम्न सक्दैनौं, त्यसैलै म पनि सम्हालिएर स्टेजमै गाइरहेकी थिएँ ,’ सरस्वती भन्छिन् ।

 

‘मैले आफ्नो प्रस्तुति पुरा गर्न नसके पनि आयोजकले मलाई निस्किने बेलामा सम्झौता बमोजिम पुरा पैसा दिनुभयो । कार्यक्रम बीचमै रद्द हुँदा उहाँहरु असाध्यै दुखि हुनुभएको छ ।’ सरस्वतीले भनिन् ।

सरस्वतीको अश्लिल चर्तिकलाका कारण कार्यक्रम नै रद्द भएको, प्रहरीले सरस्वतीलाई हिरासतमा लिएको जस्ता समाचार विभिन्न मिडियामा आएपछि आफ्नो परिवार तनावमा परेको उनले बताइन् ।

‘मलाई घरबाट फोन गर्नुभएछ तर मेरो मोबाइलको ब्याट्री सकिएको थियो । त्यसपछि उहाँहरु रातारात प्लेन चडेर कोहलपुर आउनुभयो,’ उनले सुनाइन् । पत्रकारहरुले काल्पनिकरुपमा घटना विवरण बनाएर समाचार सम्प्रेषण गर्दा आफूलाई आघात परेको उनको भनाई छ ।

‘यही निहुँमा मैले आत्महत्या गरेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरिन् ।

सरस्वती गायन क्षेत्रमा आएको धेरै भएको छैन । दुई वर्षअगाडि उनले आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् । त्यसयता ३०-३५ वटा गीत उनले गाएकी छिन् । तीमध्ये प्राय रक प्याट्रनका छन् । केही आधुनिक र लोकगित पनि छन् ।

स्टेजमा उत्तेजक प्रस्तुतिका कारण विभिन्न महोत्सवहरुमा उनको राम्रै ‘डिमान्ड’ हुन्छ । विदेशमा पनि उनको डिमान्ड हुन थालेको छ । केही समयअघि हङकङ गएर फर्केकी उनी चाँडै मलेसिया जाने तयारीमा छिन् ।

यूट्यूवमा सरस्वतीका केही ‘अश्लिल’ अन्तरवार्ताहरु भेट्न सकिन्छ । एउटा अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘कलाकार हिट हुन कि पूँजी चाहिन्छ, कि ‘मु…’ चाहिन्छ ।’

यसरी अश्लिल शब्द बोलेको विषयमा प्रश्न गर्दा उनी भन्छन्, ‘मैले यथार्थ कुरा बोलेकी छु, कसैलाई अश्लिल लाग्यो भने नहेर्दा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment