Comments Add Comment

नयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा यूटर्न !

एसएसपी भन्छन्–हामीसँग डकुमेन्ट छैन

४ फागुन, काठमाडौं । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’

मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद समेत रहेका सिलवालले भने सरकारी कागजात कीर्तेको मुद्दाबाट भने तत्काललाई राहत पाउने देखिएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले सिलवाल प्रकरणामा नरम शैली अपनाउने छनक दिएको हो । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् ।

काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर, उनी पक्राउ परेनन् ।

देउवा सरकार विदा हुनु अघि एसएसपी रविन्द्र धानुक बाग्लुङ सरुवा गरेर परिसर प्रमुख पोखरेललाई ल्याइयो । सिलवालविरुद्ध मुद्दा चलाउनकै लागि धानुकलाई हटाएर पोखरेललाई ल्याइएको दाबी एमालेको छ ।

परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेका भन्दै सिलवालको सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन्

महान्यायाधिवक्ता बसन्तराम भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले पनि यो दाबीलाई नै बल पुगेको थियो ।

भण्डारी (जसले शुक्रबार राजीनामा दिए) कै दबावमा आईजीपी नियुक्ति विवादमा अदालतमा पेश भएको कार्यसम्पादन मुल्यांकन कीर्ते प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पठाइएको थियो ।

तर, सरकारी वकिलले नमानेपछि उनी आफैंले मुद्दा दर्ता गर्न खोजे । बुधबार दिनभरको प्रयास असफल भएपछि महान्यायाधिवक्ता भण्डारीले बिहीबार मिसिलको फोटोकपी लगेर दर्ता गर्न खोज्दा अदालतले लिन मानेन ।

अहिले मिसिल वकिल कार्यालयमा अड्किएको छ । कार्यालयका प्रमुख सूर्यराज दाहाल भन्छन्, ‘हामी मिसिल अध्ययनको क्रममा छौं । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन्छ ।’

के गर्लान् नयाँ प्रहरी प्रमुखले ?

काठमाडौं प्रहरी परिसरमा अहिले नयाँ एसएसपी आएका छन् । केपी ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार समेत गठन भइरकेको छ । ओलीकै कारण नवराज सिलवाल एमाले प्रवेश गरेर सांसद बने ।

बिहीबार पनि एमाले संसदीय दलको बैठकमा माधव नेपालले सिलवाललाई देउवा र प्रहरी नेतृत्वले प्रतिशोध साँधेर फसाउने खोजेको बताएका थिए ।

यसबाट स्पष्ट छ कि सिलवालका सन्दर्भमा एमाले गम्भीर छ । उनीमाथि देउवा, मुख्य सचिव लोकदर्शन रेग्मी र अहिलेको प्रहरी नेतृत्वले व्यक्तिगत प्रतिशोध लिन खोजेको एमाले नेताहरुको ठम्याई छ ।

एमालेकै नेतृत्वमा सरकार बनिसकेको बेला अब सिलवाल हिजोको जस्तो खतराबाट मुक्त भएको देखिन्छ ।

सपथग्रहणमा आउँदा पक्राउ पर्छन् ?

अब नयाँ काठमाडौं प्रहरी प्रमुखले चाहिँ के गर्लान् ? धेरैको चासो छ । अनलाइनखबरको जिज्ञासामा परिसरका प्रमुख पोखरेलले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा पुगिसकेकाले पक्राउ पर्ने – नपर्ने केही भन्न नसकिने बताए ।

‘नवराज सिलवालको केश मैले अनुसन्धान गरेको होइन । यसअघिकै प्रमुखबाट अनुसन्धान भएको फाइल सरकारी वकिल कार्यालयमा पुगेको छ’, एसएसपी पोखरेलले भने, ‘अहिले हामीसँग डकुमेन्ट पनि छैन । थप अनुसन्धान हामीले होइन, सरकारी वकिलले गर्ने हो ।’

उनले सरकारी वकिल कार्यालयमा मिसिल गइसकेपछि मुद्दा चलाउने या नचलाउने वकिलकै हातमा रहेको बताए ।

सांसदको सपथ लिन सिलवाल आएको खण्डमा उनी पक्राउ पर्छन् या पर्दैनन् ? भन्ने जिज्ञासामा पनि उनले मिसिल नै वकिल कार्यालयमा पुगिसकेकाले आफूले केही भन्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment