Comments Add Comment

भम्पा राईलाई प्रश्न– भुटानका एजेण्टहरु कहाँ बस्छन् ?

एउटा कार्यक्रममा भुटान सरकारको ‘एजेण्ट’ नेपालको शरणार्थी शिविरमा अझै छन् भनेर भुटानी नेता टेकनाथ रिजालले भन्ने गरेका छन् भनेर डा. भम्पा राईले भनेको सुनें । यो विषयमा धेरै टीकाटिप्पणी गर्न चाहन्नँ । तर, यति भन्छु, डा. साप, करिब २ वर्ष अघि मैले भुटान स्वतन्त्र जनमञ्चका उपाध्यक्ष हर्कजंग सुब्बासँग उहाँकै छाप्रोमा विशेष कुराकानी गरेको थिएँ । त्यसबेला हर्कजंग सुब्बाले भनेको अझै सम्झिन्छु । उनले भनेका थिए,“भुटान सरकारका चम्चाहरु डा.भम्पा राईसँग बसेर उनकै घरमा खाना खान्छन् ।’

पछि टिमाइका पूर्व शिविर सचिव युवराज राईको अनुरोधमा मैले त्यो कुराकानी पत्रिकामा प्रकाशन गरिनँ । मैले लिएका अन्तरवार्ताहरुमध्ये पत्रिकामा प्रकाशन नगरेको पहिलो अन्तरवार्ता त्यो नै थियो ।

हाम्रा नेताहरुमा फुट सिर्जना नहोस् भन्ने हेतुले त्यो अन्तरवार्ता प्रकाशन नगरेकाे थिएँ । त्यसबेला यो विषय धेरैले थाहा पाइसकेका थिए । अब यो कुरा सत्य हो या होइन, त्यो कुरा चाहिं मलाई कति पनि थाहा छैन ।

अब, भुटानका एजेण्टहरु कहाँ बस्छन् ? कोसँग बसेर खाना खान्छन् त्यो मेरो लागि विशेष विषय नै भएन । अमेरिकाबाट सञ्चालन भैरहेको खुल्ला विचार कार्यक्रममा डा भम्पा राईको त्यो अन्तरवार्ता कार्यक्रम सुनेपछि केही लेखौं लेखौं लागेको थियो । तर, समय व्यस्थापन गर्न नसकेका कारण म चुपचाप बसेको थिएँ ।

एक जना अगुवा के भन्ने अनि अर्को जना के भन्ने ! हुन त यसरी नै चलेको छ हाम्रो सबथोक । सुन्नमा आए अनुसार त्यसबेला डा.साप र हर्कजङ सुब्बाको राम्रोसँग बोलचाल थिएन रे ! अहिले के कस्तो छ, त्यो जानकारीमा आएको छैन ।

प्रसङ्ग मोडौं, अमेरिका रहेका भूटानीहरुको संस्था भनिएको ओबीसीएका अध्यक्ष दिलिप दाहालले नेपालमा रहेका भूटानी शरणार्थीहरुका समस्याको विषयमा नेपालका नेताहरुलाई बुझाएको ज्ञापनपत्रको डा.सापहरुले प्रेस विज्ञप्ति नै जारी गरेर विरोध गर्नुभयो अनि घर फिर्ती अभियानलाई विसर्जन गराउने षडयन्त्र हो समेत भन्नुभयो ।

जसले जे भनुन्, मेरो मुख्य सरोकार रहेन, म डा.सापलाई धेरै भन्दा पनि धेरै सम्मान गर्छु । तर, डा. भम्पा राई अरूले भूटानी शरणार्थीहरूको विषय उठाएको मन पराउनुहुन्न । आफू मात्र भूटानी शरणार्थीहरूको नेता हुँ भन्नेजसो गर्नु हुन्छ । भूटानी शरणार्थीहरुको विषयमा बहस गर्ने, नेताहरुलाई ज्ञापन पत्र बुझाउनेहरुलाई डा. साप त्यति धेरै रुचाउनुहुन्न । यो कुरा कमै मात्रलाई थाहा छ होला सायद ! केहीले थाहा पाएर पनि चुपचाप बसिरहेका होलान् ।

डा. साप, विदेशमा रहेका भूटानीहरुलाई पनि देशको माया धेरै भन्दा धेरै लाग्छ । कतै सुन्ने गरेको छु, खोइ कसले भ्रम फैलायो ? विदेशमा भएका भूटानीहरुप्रति देशको माया अलिकति पनि छैन भनेर निक्कै प्रचार गरिएको रहेछ । खोई कसले त्यस्तो गर्याे ? त्यस्तो गर्नु गलत मात्र होइन, एकदमै ठूलो पाप हो । हामीहरुले पनि नेपालमा रहेका भूटानी शरणार्थीहरुको विषयमा बहस गर्न पाउनुपर्छ । डा. साप, तपाईले यस्तो कुरामा साथ अनि समर्थन गर्नुपर्छ । बेक्कारमा प्रेस विज्ञप्ति प्रकाशन गर्दै किन बस्नु हुन्छ ? तपाईहरुले तेत्रो वर्ष भूटानी शरणार्थीहरुका लागि बहस, आन्दोलन अनि छलफल गर्नुभयो तर, अहिलेसम्म पनि त्यो बहस, आन्दोलन अनि छलफलले तेस्रो मुलुक पुनर्वास बाहेक अरु केही नापिएन ।

फेरि, तपाईहरु तेस्रो मुलुक पुनर्वासको पक्षवाला पनि होइन । डा.सापहरु स्वदेश फिर्ती बाहेक कुनै पनि विकल्प रोज्न तयार कहिले हुनुभएन । तर, डा सापलाई थाहा हुनुपर्ने हो, शिविरमा स्वदेश फिर्नका लागि शरणार्थीहरु कत्तिको तयार भएर बसेका छन् भन्ने कुरा ।

भुटानी शरणार्थीहरुको नेता या अगुवा भनेर शिविरका एक समूहका शरणार्थीको मात्र आवाज उठाउनु अनि त्यही मात्र विषयमा बहस अनि ज्ञापनपत्र बुझाइरहनु महापाप र पाखण्डीपन हो । डा.साप, तपाई शिविरका सबै भूटानी शरणार्थीहरुको अगुवा हो भन्ने ठान्नुहुन्छ भने सबैको भावना बुझ्ने हरदम कोसिस गर्नुहोस् ।

यो लेख पढिरहनु हुनेहरुले ‘एक मुठी भुत्ला छैन, भालुसँग निहुँ खोज्यो यो गिरी केटोले’ भन्लान् । तर, भनुन ! डा सापप्रति उच्च सम्मानसहित यो लेख लेखेको हुँ ।

एक भेटमा भुटानी नेता टेकनाथ रिजालले भुटानी शरणार्थीहरु भुटानी नेताहरुसँग एकदमै नकारात्मक भैसकेका छन् भन्ने कुरा सुनाएका थिए । रिजालले शरणार्थीहरुले नेताहरुलाई गलत तरिकाले टिप्पणी गर्न थालिसके भनेको अझै म सम्झिन्छु । तर, डा.साप यो लेख लेखेर तपाईंलाई दश दुनियाँको अगाडि नराम्रो बनाउन खोजेको होइन । तपाईंको सेवाप्रति जति नै प्रशंसा गरे पनि म थाक्दिनँ । तर, भुटानी शरणार्थीको मुद्दा उठाउने कुरामा तपाईंको जति नै जहिले नै आलोचना गरे पनि म कहिल्यै थाक्ने छैन ।

यति धेरै बहस, छलफल अनि विभिन्न रेडियो, टेलिभिजनमा अन्तरवार्ता दिनुहुन्छ अनि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाउनुहुन्छ । तर, खोई ? अहिलेसम्म के नाप्नुभयो ? अहिलेसम्म भूटानी शरणार्थीको मुद्दामा स्वदेश फिर्तीवला विकल्पमा के प्रगति भयो ? नेपालमा नयाँ प्रधानमन्त्री चयन भैसकेका छन् । अब डा. सापहरुको काम भनेको नयाँ प्रधानमन्त्रीलाई त्यही पुरानो कुरा लेखेर ज्ञापन पत्र बुझाउने काम हो । अब त्यसो नगरौं डा. साप । सकेसम्म शरणार्थीको दागबाट हाम्रा मान्छेलाई हटाउने भरपुर कोसिस गर्नुहोस् । तपाईजस्तो विशेष व्यक्तिलाई थाहा हुनु पर्ने हो डा साप स्वदेश फिर्ती के कारणले हुन सकिरहेको छैन भन्ने कुरा ! अब त्यही कुरामा बल गरेर शिविरका भूटानी शरणार्थीहरु भविष्य माथि धेरै नखेल्नु होला । सक्नु हुन्छ भने, भूटानी शरणार्थीको मुद्दा उठाउने सबैजसो व्यक्ति या समूहको विषयमा बुझेर समर्थन अनि सहयोग गर्नुहोस्, सक्नुहुन्न भने चुपचाप बस्नुहोस् ।

अहिले अमेरिकामा रहेका केही भूटानी युवाहरुले भूटानी शरणार्थीको समस्यप्रति गम्भीर भएर समाधानप्रति चासो देखाइरहेका छन् भन्ने सुनेको छु बरु सक्नुहुन्छ भने तिनीहरुलाई समर्थन अनि सल्लाह दिनुहोस् । दुनियाँ संसारलाई रमिता देखाउन प्रेस विज्ञप्ति प्रकाशन गरिरहनु जुरुरी छैन ।

डा. साप, हाम्रा शिविरमा रहेका मान्छे तपाई जस्ता नेतासँग एकदमै निराश भैसकेका छन् । अब स्वदेश स्वदेश मात्र भनेर बसिरहने हो भने शरणार्थीको दागबाट हाम्रा मान्छे कहिले पनि हट्ने छैन्न । होइन, देशलाई माया नै गर्नुपर्दैन स्वदेश फिर्ती भन्ने मुद्दा एकदम गलत छ मैले कहिले पनि भनेको छैन अनि भन्न पनि भन्दिनँ । तर, नेता भैसकेपछि स्वदेश फिर्ने आशा राखेर बसेका शरणार्थी शिविरमा कति छन् भन्ने कुरा स्पष्ट रुपमा थाहा हुनुपर्छ । तर, डा. सापहरुलाई त्यो कुरा थाहा नै छैन । भूटानी शरणार्थीको समस्याको समाधान भनिएको भूटानी शरणार्थीको तेस्रो मुलुक पुर्नवास, स्थानीयकरण र स्वदेश फिर्तीमध्ये स्वदेश फिर्ती मुद्दालाई मात्र बोकेर हिड्ने मान्छे कुनै पनि हालतमा भूटानी शरणार्थीहरुको नेता हुनै सक्दैन ।

हो, डा.सापले भूटानको धेरै माया गर्नु हुन्छ अनि त्यो मुद्दा बोक्नु भयो होला । डा.साप, हामी पनि भूटान देशलाई धेरै भन्दा धेरै माया गर्छौ तर सबै विकल्पमा छलफल गर्न चाहन्छौ अनि त्यहि तरिकालाई मन पराउछौ अनि सम्मान गर्छौ

डा.सापप्रति उच्चा सम्मान साथ एउटा सादर अनुरोध गर्दछु– डा.साप दुनियाँ आसे पासेहरुको कुरा नसुन्नु होस, भूटानी शरणार्थीको मुद्दामा छलफल गर्न चाहने युवाहरुलाई साथ, सहयोग अनि सल्लाह दिनुहोस्, सबै भूटानी शरणार्थीको मुद्दा उठाएर भनौं या बोकेर हिँड्नु होस् अनि एउटा कुरा ख्याल गर्नुहोस, शिविरमा बसेका सबै शरणार्थीहरु स्वदेश फिर्नका लागि शिविरमा बसेका छैन्न ! धन्यवाद !

हाल अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment