Comments Add Comment

पर्वतारोहणको वसन्त सिजनः सगरमाथातिर आइसफल डाक्टरहरु

मार्चदेखि अप्रिलसम्म एक महिनामा बाटो तयार हुने


८ फागुन, काठमाडौं । पर्वतारोहणको वसन्त ऋतु सिजन शुरु हुँदैछ । र, पर्वतारोहीहरु आधारशिविरतिर उकालो लाग्नुअघि आइसफल डाक्टरहरु भर्‍याङ र डोरी टाँग्न सगरमाथातर्फ लम्किने तयारीमा छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाबाहेक अन्य हिमालमा आइसफल डाक्टरहरुले बाटो बनाउँदैनन् । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा शिखरमा पाइला टेक्दा यस्ता कुनै सुविधा उपलब्ध थिएनन् ।

अर्थात्, उनीहरु आइसफल डाक्टरको सहायताबिनै आफैं बाटो पहिल्याउँदै चुचुरोमा पुगेका थिए ।

हिलारी र शेर्पाले ‘समिट’ गरेपछि नै हो, सगरमाथामा पर्वतारोहीहरुको आँखा परेको पनि । सन् १९५३ देखि १९६३ सम्मका १० वर्षमा धेरै आरोहीले शिखर चुम्ने प्रयास नगरेका होइनन् । तर, सुविधाजनक मार्ग तयार नभइन्जेल धेरैले असफलता बेहोरे ।

सन् १९२२ देखि नै शुरु भएको थियो, सगरमाथाको आरोहण प्रयास । तर, ३१ वर्षे प्रयासमा हिलारी र शेर्पाका पाइला मात्र सफल बने ।

को हुन् आइसफल डाक्टर ?

आरोहीहरु सगरमाथाको शिखरतर्फ बढ्दै गरेका श्रव्यदृष्य सामग्री प्रशस्तै भेटिन्छन्, इन्टरनेट सर्चमा । र, डोरी र भर्‍याङको सहाराबाट साहसिक यात्रामा उक्लिइरहेका हुन्छन्, उनीहरु ।

ती सबै उनीहरुले साथमा लगेका हुँदैनन् । उनीहरु आधारशिविर पुग्नुअघि नै हिमाली भेगमा अभ्यस्त शेर्पाहरुले भर्‍याङ, पुल, अंकुश र डोरी राखिसकेका हुन्छन् । आफ्नो ज्यानै जोखिममा राखेर भर्‍याङ र डोरी राखी पर्वतारोहणमा योगदान दिनेहरुलाई नै आइसफल डाक्टर भनिएको हो ।

त्यसक्रममा अनेकन् अवरोध छिचोल्नुपर्छ, आइसफल डाक्टरहरुले । र, उनीहरुले तयार पारिदिएको मार्ग पछ्याउँदै शिखर चुम्ने हुन्, पर्वतारोहीहरुले ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार यस वर्षको अपि्रलदेखि शुरु हुने वसन्त सिजनका लागि बाटो बनाउन मार्च पहिलो साता नै आइसफल डाक्टरहरु सगरमाथा उक्लँदैछन् ।

यसबीचका करिब एक महिनासम्म हिम पहिरोको सम्भावित स्थान पहिल्याएर सुरक्षित ठाउँमा भर्‍याङ, पुल, अंकुश र डोरी राखिसक्ने छन्, उनीहरुले । हिउँ पर्नुअघिको सिजनमा प्रयोग गरिएको रुटमा हिम पहिरोको जोखिम देखिए उनीहरुले ट्रयाक नै परिवर्तन गर्छन् ।

 नेपालमा २५ आइसफल डाक्टर, कमाइ एक सिजनमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म

सगरमाथा आरोहणको ६५ वर्षे इतिहासमा तीन सयभन्दा बढीको ज्यान गइसकेको छ । पर्वतारोहण संघका महासचिव गुरुङका अनुसार सन् १९५३ पछि निरन्तर पर्वतारोहीहरुको ज्यान गएपछि सरकारले आइसफल डाक्टरको अवधारणा ल्याएको हो ।

दुई मुख्य, २३ सहयोगी

नेपालमा २५ जना आइसफल डाक्टर छन् । सगरमाथासँग अभ्यस्थ भएकाहरुले मात्र यस्तो जिम्मेवारी पाउँछन् । अहिले आङ्तामे र ग्याल्चिन नामका दुई जना मुख्य आइसफल डाक्टर छन् । र, उनीहरुका २३ जना सहयोगी ।

खासगरी, सन् १९६३ देखि सगरमाथामा आइसफल डाक्टरको व्यवस्था मिलाइएको हो । फागुन तेस्रो साता जाडो कम हुने गर्छ । र, उनीहरुको जिम्मेवारी शुरु हुन्छ ।

मुख्य आइसफल डाक्टरहरुले एक सिजनमा अढाइदेखि तीन लाख रुपैयाँसम्म कमाउँछन् । र, सहयोगीहरुको हातमा एक सिजनमा करिब दुई लाख रुपैयाँ पर्छ । अहिले वर्षमा दुई पटकसम्म आइसफल डाक्टरहरुलाई बाटो बनाउने जिम्मेवारी दिने गरिएको छ ।

उनीहरु पर्वतारोहीहरुका जीवनदाता सावित भएका छन् । उनीहरुको साहसकै कारण शिखर उक्लिने क्रममा आरोहीको मृत्यु हुने घटना कम भएको गुरुङ बताउँछन् ।

आधारशिविर र क्याम्प-१को बीचमा पर्ने खुम्बु आइसफल सबैभन्दा खतरनाक विन्दु मानिन्छ, सगरमाथा आरोहणमा । त्यहाँ भर्‍याङ र पुल हालेर आइसफल डाक्टरहरुले आउजाउ सहज बनाइदिन्छन् । त्यसबाहेक हिलारी स्टेप पनि पर्वतारोहीहरुका लागि अर्को कठिन विन्दु हो, जहाँ अंकुश र डोरी टाँगेर उक्लिन मद्दत पुर्‍याउँछन् ।

आरोहीहरु त आइसफल डाक्टरहरुले बनाइदिएको बाटोमा सहजै ओहोरदोहोर गर्न सक्छन् । उनीहरुले भने आफैं खतरनाक यात्रा तय गर्नुपर्छ ।

तस्वीरहरूः सगरमाथा प्रदूषण नियन्त्रण समितिको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment