Comments Add Comment

बुढीगण्डकीमा देउवा सरकारको निर्णय उल्टाउने ओलीको संकेत


८ फागुन, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्बन्धमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउने संकेत गरेका छन् ।

चिनियाँ सञ्चार माध्यम साउथ चाइना मर्निङ पोष्टसँको अन्तर्वार्तामा उनले बुढीगण्डकी आयोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीसँगको सम्झौता खारेज गर्ने अघिल्लो सरकारको निर्णय उल्टाउने संकेत गरेका हुन् ।

ओलीले पद बहालीपछि दिस विक इन एसियाका लागि दिएको अन्तर्वार्तामा भनेका छन् ‘यस परियोजना रद्द गर्दा राजनीतिक पूर्वाग्रह वा प्रतिस्पर्धी कम्पनीको दबाबले पनि महत्वपूर्ण काम गरेको हुन सक्छ । तर हाम्रा लागि जलविद्युत् नै मुख्य ध्यान हो र जेसुकै होस् हामी बुढीगण्डकी परियोजना फेरि सुरु गर्नेवाला छौं ।’

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उर्जा मन्त्रालयले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउन गेजुवासँग सम्झौता गरेको थियो ।

तर त्यसपछिको देउवा सरकारका उर्जामन्त्री कमल थापाले गत कात्तिक २८ गते चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेर स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको थियो ।

देउवा सरकारको उक्त निर्णयको विरोधमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका थिए ।

देउवा सरकारको निर्णय अवैधानिक भएको भन्दै गेजुवाले पनि आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment