८ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् ।
देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार तीन सदस्य सिफारिस गरेको छ । यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।
कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयबारे नयाँ सरकारले गर्ने निर्णयहरुका आधारमा सम्वन्ध परिभाषित हुने बताएको छ ।
मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने भन्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ ।’
शर्माले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरुका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहारअनुरुप हाम्रो सम्वन्ध परिभाषित हुन्छ ।’
राष्ट्रियसभाका तीन सदस्यका लागि अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिएर नयाँ नाम पठाएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।
राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयनमा ढिलाइप्रति पनि प्रवक्ता शर्माले आपत्ति जनाए । उनले भने, ‘एउटा सरकारलाई एउटा चश्माले हेर्ने, अर्को सरकारलाई अर्को चश्माले हेर्नेखालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’
कांग्रेसले आफू जिम्मेवार प्रतिपक्षका रुपमा विनम्र ढंगले प्रस्तुत हुने तर, कमजोर ढंगले प्रस्तुत नहुने बताएको छ । प्रवक्ता शर्माले भने, सरकारको आगामी दिनको रबैया हेरेर संसदमा व्यवहार गर्छौं ।’
यो पनि पढ्नुस्
राष्ट्रियसभामा खतिवडा, विडारी र पौडेल मनोनित, माथिल्लो सदनले पायो पूर्णता
राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः कांग्रेस
प्रतिक्रिया 4