
८ फागुन, विराटनगर । आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट मंगलबार मुद्दा थप गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।
नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली र पदम राईलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पूर्व राज्यमन्त्री समेत रहेका राई केन्द्रका जनसरकार उपप्रमुख हुन् ।
पार्टीको युवा संगठनको राष्ट्रिय भेलामा सहभागी हुन आएका वली र राईसहितका २ सय ९१ जना नेता कार्यकर्तालाई प्रहरीले मोरङ र सुनसरीका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका अरु सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
हिरासतमा रहेका नेता राईले आफूहरुलाई प्रहरीले म्याद थपका लागि पक्राउ पूर्जी थमौतीको प्रयास गरे पनि हस्ताक्षर गर्न अस्वीकार गरेको बताए । ‘आफूहरुलाई झुटा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको छ,’ उनले भने ।
विराटनगरको राजवंशी चोकमा भीड जम्मा गरेको र राज्य विरुद्धमा नाराबाजी गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कार्यक्रम विथोलिए पनि बन्यो रेडफोर्स
यसैबीच नेकपाको नयाँ युवा दस्ता गठन भएको छ । विराटनगरमा प्रहरीले कार्यक्रम बिथोलिदिएपछि भोलिपल्ट इटहरीमा बन्दसत्र आयोजना गरी ४५ सदस्यीय योङ रेड फोर्स गठन भएको छ ।
हिरासतमै रहेका राईले दिएको जानकारी अनुसार इटहरीमा बसेको बैठकले बाबुराम राईको नेतृत्वमा समिति गठन भएको हो ।
प्रतिक्रिया 4