Comments Add Comment

प्रदेश सरकारको कन्तविजोग : न बस्ने कुर्सी छ, न काम गर्ने कर्मचारी

८ फागुन, काठमाडौं । प्रदेश ६ को भौतिक पूर्वाधार विकास मन्त्रालयका नायव सुब्बा भुईंमा बसेर काम गरिरहेका छन् । उनी रहरले त्यहाँ बसेका भने होइनन् ।

मन्त्रालयमा बस्ने कुर्सी समेत नभएका कारण उनले कार्पेटमा बसेर भए पनि काम गरेका हुन् । क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षणको भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालय खडा गरिएको छ मन्त्रीको कार्यकक्ष बाहेक अन्यत्र कार्पेट मात्र छ ।

मन्त्रालयको हालत देखेर मन्त्री खड्ग खत्री छक्क परे । मन्त्रालय भवनको झ्याल-ढोका पनि फुटेका छन् । कर्मचारीहरु पनि अझैसम्म आइपुगेका छैनन् ।

जम्मा दुई जना कर्मचारी भेटिए । नायव सुब्बा र लेखामा एक जना कर्मचारी मात्र थिए । नायव सुब्बा भईंमै बसेर काम गरिरहेका थिए भने लेखा शाखा बाहेकका अन्य कर्मचारीको कार्यकक्षमा कुनै फर्निचर पनि थिएन ।

संघीय संरचना अनुसार पहिलो पटक प्रदेशको मन्त्री बन्दा उत्साही बनेका खत्री मन्त्रालय पुगेको पहिलो दिनले नै निराश बने । ‘पहिलो दिन भनेर १० बजे नै कार्यलय आएँ तर, यहाँ त बेहाल रहेछ’ उनने अनलाइनखबरसँग भने, ‘संघीय संरचना अनुसार पहिलो पटक प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बन्न पाउँदा उत्साहित छु । तर, अवस्था यस्तो छ कि यो मेरो तहबाट हुने काम होइन ।’

मन्त्रालयका लागि खटाएका कार्मचारी अझैसम्म नआएकोमा मन्त्री खत्रीले आक्रोस पाखेका छन् । ‘पठाएका कर्मचारी आइपुगेकै छैनन्, कार्यालय रित्तो छ,’ आक्रोशित हुँदै उनले भने, ‘यो त अति गैरजिम्मेवारी भयो, कर्मचारी विना कसरी काम गर्ने ?’

मन्त्रालयका सचिवसमेत गायव छन्, जसले गर्दा मन्त्रीले चाहेर पनि कुनै पनि काम गर्न सक्ने अवस्था छैन ।

जबकी भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४ जना कर्मचारीको दरबन्दी छ । तर, तीन जना मात्रै हाजिर भएका छन्, बाँकी २१ जना कहाँ छन् भन्ने केही पत्तो छैन् ।

भौतिक पूर्वाधार मात्र होइन, प्रदेश ६ मा अरु मन्त्रालयको अवस्था पनि यो भन्दा भिन्न छैन ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसी पनि मंगलबार नै कार्यालय पुगिन् । कार्यालय सामान्य व्यवस्थापन गरिएको रहेछ । उनले त्यसमै चित्त बुझाइन् । उनले भनिन्, ‘केन्द्रको सिंहदरबार जस्तो त विस्तारै बनाउने हो ।’

कार्यालय व्यवस्थापनमा चित्त बुझाए पनि उनको पहिलो दिनको पहिलो योजना भने सफल हुन सकेन । मन्त्री केसी पहिलो दिन कर्मचारीहरुसँग भेटघाट र छलफल गर्ने योजनाका साथ मन्त्रालय पुगेकी थिइन् तर, कर्मचारी नै आएका छैनन् ।

लगत्तै उनी मुख्यमन्त्रीलाई भेट्न पुगिन् । मन्त्रालयका समस्याहरुका बारेमा जानकारी गराइन् । ‘आज कर्मचारीहरुसँग भेटघाट गर्ने र सल्लाह सुझाव लिने योजना थियो,’ प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन्, ‘आज त्यो हुन सकेन ।’

मन्त्री केसीले कुरा गरिरहँदा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा टुप्लुक्क आइपुगे ।

मन्त्री बुढा आफ्नो कार्यकक्षमा पुगेर प्रदेश सरकारका प्रवक्ता केसीको कार्यालयमा आएका थिए । उनले पनि त्यही गुनासो पोखे, ‘कार्यालय व्यवस्थापन नै छैन, कर्मचारी हाजिर भएका छैनन्, काम कसरी गर्ने ?’

प्रदेश ६ का सबै मन्त्रीको पहिलो दिनको अनुभव सुखद रहेन । न त मन्त्रालयको व्यवस्थापन हुन सकेको छ न सरकारले खटाएका कर्मचारी नै आइपुगेका छन् । ‘मन्त्रालयको व्यवस्थापनको अवस्था कमजोर पाइएको छ,’ मन्त्री केसीले

भनिन्, ‘आज मैले पनि अवलोकन गर्छु, भोलि मुख्यमन्त्रीलाई रिपोर्टिङ गर्छु ।’

२१५ कर्मचारीको अत्तोपत्तो छैन

केन्द्र सरकारले सबै प्रदेशका मन्त्रालयहरुका लागि कर्मचारी खटाएको छ तर, कार्यक्षेत्रमा पुगेका छैनन् । प्रदेश ६ का लागि केन्द्रले २१५ जना कर्मचारी खटाएको थियो तर, अहिलेसम्म जम्मा ६२ जना कर्मचारी मात्रै पुगेका छन् । हाजिर हुनेमा नासु, शाखा अधिकृत, उपसचिव र सहसचिव तहका कर्मचारी छन् ।

बाँकी कर्मचारी कहाँ छन् भन्ने जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत छैन छ । केन्द्रबाट पनि कुनै जानकारी नआएको र कर्मचारीहरु पनि सम्पर्कमा नआएको प्रमुख सचिव सुरेश प्रधानले बताएका छन् ।

प्रदेश ६ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१ जनाको दरबन्दी रहेकोमा १२ जना कर्मचारी मात्रै हाजिर भएका छन् । यस्तै प्रदेशसभा सचिवालयमा २८ जनाको दरबन्दी रहेकोमा जम्मा ४ जना कर्मचारी हाजिर भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३ जनामध्ये ९ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा २३ मध्ये ९ जना, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४ मध्ये तीन जना कर्मचारी मात्रै हाजिर भएका छन् ।

यस्तै सामाजिक विकास मन्त्रालयमा ३० मा दुई जना, उद्योग, पर्यटन, वन तथा वातावरण मनत्रालयमा २९ मा तीन जना र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा २९ को दरबन्दी रहेकोमा ८ जना कर्मचारी मात्रै हाजिर भएका छन् ।

यतिसम्मकी प्रदेश प्रमुखको कार्यालयमा पनि ३ जना कर्मचारी अहिलेसम्म हाजिर भएका छैनन् । प्रदेश प्रमुखको कार्यालयमा १३ जना कर्मचारी दरबन्दी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment