Comments Add Comment

चितवनको आँपटारी-देवघाट सडक २ लेनको बनाइने

१५ फागुन, चितवन । पवित्र धार्मिकस्थल देवघाट जाने सडक दुई लेनको बनाउने प्रकृया अघि बढेको छ । सडक साँघुरो भएका कारण यातायात आवागमनमा समस्या आएपछि देवघाट क्षेत्र विकास समितिले सडक विस्तारको काम अघि बढाएको हो ।

आँपटारी देवघाटको ढ्याग्रे खोलामा कल्भर्ट हाल्न र रिटेनिङ वाल लगाउन ५० लाख रकम विनियोजन गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

यसअघि ढ्याग्रे खोला नजिक सडक डिभिजन कार्यालयले केही रुखहरु काटेर सडक निर्माण थाल्ने प्रकृया अघि बढाएपछि जिल्ला वन कार्यालयले रोकेको थियो । सो सम्वन्धी विवादका कारण आँपटारी-देवघाट सडक विस्तारको काम केही ढिलाइ भएको थियो ।

एकसाता अघि जिल्ला वन कार्यालयका पदाधिकारीसहितको बैठकमा ढ्याग्रे खोला नजिक काटिने रुखहरुको संख्या बराबर हुने गरी देवघाट क्षेत्र विकास समितिले वृक्षरोपण गर्ने सहमति भएको छ । अब सडक बिस्तारको कामले अब गति लिने अपेक्षा गरिएको छ ।

‘सबै विवादको टुंगो लाग्यो,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘अब १५ दिनभित्रै निर्माणको काम अघि बढ्छ ।’

हाल आँपटारी-देवघाट सडकमा एउटा मात्र गाडी पास हुन्छ । यसले गर्दा दुर्घटनासमेत बढाएको छ । सडक विस्तारको लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) पनि सम्पन्न भएको छ । चितवनबाट देवघाट पुग्ने मुख्य चार सडकमध्ये आँपटारीको सडक सबैभन्दा बढी चल्ने सडक हो । पूर्व तथा पश्चिमबाट आएका भक्तजनहरु यही सडकबाट पवित्र धार्मिकस्थल देवघाट पुग्ने गर्छन् ।

बसपार्क ढलान गर्ने तयारी

देवघाटको पुल नजिकको बसपार्कलाई ढलान गर्नका लागि थप ६८ लाखको टेण्डर खोल्ने प्रक्रिया अघि बढेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धमेन्द्र झाले जानकारी दिए । यसको लागि भौतिक तथा यातायात मन्त्रालयले बजेट विनियोजन गर्ने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

बाटो विस्तारका लागि रकम अपुग हुने भएकाले थप रकमको जोहो गर्न क्षेत्र विकास समिति लागेको समिति अध्यक्ष पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिकाले देवघाटको सडक निर्माणका लागि कुनै पनि सहयोग नगरेको अध्यक्ष पौडेलले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment