Comments Add Comment

टर्कीमा नेपाली अपहरण श्रृङ्खलाः नेपाली एजेन्ट पक्राउ पर्छन्, विदेशी पर्दैनन्

अनुसन्धान अधिकारी भन्छन्– टर्कीमा रहेका हरेक नेपाली खतरामा

१५ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परे । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किए ।

त्यसरी अपहरणमा पर्नेमा मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु थिए । उनीहरुले आफूहरुलाई ७ दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागिएको बताएका छन् ।

उनीहरु नेपालबाट मकाउका लागि भनेर भारततर्फ छिरेका थिए । तर, भारत पुगेपछि भिसा नै नलागेको चाल पाए ।

त्यसअवधिमा उनीहरुले न त घर फर्किन पाए, न त परिवारसँग आफ्नो दुःख सुनाउने मौका नै पाए । भारतमा ३ महिना विताएपछि मकाउभन्दा टर्कीमा राम्रो कमाइ हुने भन्दै विभिन्न प्रलोभन देखाइयो ।

अन्ततः उनीहरु टर्कीका लागि उडे । तर, त्यहाँ उनीहरुले न भने जस्तो काम पाए, न राम्रो कमाइ गर्न नै सके । बरु, उल्टै फिरौती तिरेको रकम बराबरको ऋण बोकेर स्वदेश फर्किएका छन् । र, यो ऋण तिर्न फेरि अर्को देश जाने तयारीमा छन् ।

टर्कीमा नेपाली अपहरणमा परेको यो पहिलो घटना भने होइन । यसअघि पनि सोही प्रकृतिको घटना सार्वजनिक भएको थियो ।

गत साउनमा रुकुमका झलक नकाल टर्किस र बंगलादेशी नागरिकबाट अपहरणमा परेका थिए । आकर्षक तलबसहित विभिन्न सेवासुविधा पाउने प्रलोभनमा १४ लाख खर्च गरेर टर्की पुगेका उनलाई छुटाउन नेपालमा रहेका परिवारले ९ हजार अमेरिकी डलर बुझाउनु पर्‍यो । अनि मात्र उनी अपहरणमुक्त भए ।

झलक पनि भारत हुँदै अवैध रुपमा टर्की पुर्‍याइएका थिए । केही समय त्यहाँको प्लाष्टिक कारखानामा काम गरे । तर, भनेजस्तो तलव सुविधा केही थिएन ।

उनी सामान्य चिनजान भएका साथी प्रकाश ओलीमार्फत त्यहाँ गएका थिए, जो पहिल्यै टर्की गएका थिए ।

दुवै घटनाको पीडितले स्वदेश फर्किने वित्तिकै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिए । जसका कारण यो विषय सार्वजनिक भयो ।

तर, अझै थुप्रै अपहरणका घटनाहरु प्रहरी समक्ष नआएको अधिकारीहरुको दाबी छ । प्रहरी अधिकारीहरुका अनुसार टर्कीमा अपहरणमा परेका नेपालीको संख्या कम्तिमा पनि ७ छ ।

सीआईबीका एक अधिकारी भन्छन्, ‘पीडित व्यक्ति सकुशल फर्किएपछि कानुनी झमेलामा फस्न चाहँदैनन् । फेरि उनीहरुले माग्ने रकम पनि व्यक्तिको योग्यता अनुरुप छ । त्यसैले पनि हामी कहाँ उजुरी कम आएको हो ।’

ती अधिकारीका अनुसार ब्यूरोले अन्य अपहरणका घटनाहरुमाथि पनि खोजबिन गरिरहेको छ ।

कहाँ पुग्यो अनुसन्धान ?

त्यहाँ जंगलमा मुढा बोक्नु पर्ने, पालमा सुत्नु पर्ने र खाना समेत राम्रो खान नपाउने गरेको गुनासो फर्किएर आएका नेपालीले सुनाउने गरेका छन्

रुकुमका झलक अपहरण प्रकरणको हकमा उनको परिवारले बंगलादेशमा फिरौती बुझाएको थियो भने अनुसन्धान नेपालबाट भएको छ ।

तर, अझैसम्म न अपहरणकारी पक्राउ परेका छन् न उनले बुझाएको रकम नै फिर्ता हुन सकेको छ ।

सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘त्यसवेला उहाँका परिवारले बैंकिङ च्यानलबाट रकम पठाएको भए त्यसलाई फिर्ता पठाउन सहज हुन्थ्यो । तर, अन्य प्रक्रियाबाट रकम पठाउँदा फिर्ता गराउन गाह्रो भएको हो ।’

घटनामा संलग्न ३ नेपाली नागरिकलाई सीआईबीले त्यसवेलै पक्राउ गर्‍यो । थानकोटका सुरेन्द्र गौतम, भोजपुरको खावा–७ का पासाङ शेर्पा र संखुवासभाको खाँदबारीका लोकमान राईलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

त्यसमध्ये गौतम धरौटी बुझाएर छुटिसकेका छन् । अन्य दुई जनालाई पनि १० लाख रुपैयाँ धरौटी मागिरएको छ । यद्यपि, उनीहरुले धरौटी रकम बुझाएका छैनन् ।

घटनामा संलग्न ४ जना अझै फरार छन् । नेपाली नागरिक सुरज लिम्बु, कुमार लिम्बु, समा जोशी र मुनिर नामक पाकिस्तानी नागरिक फरार रहेका हुन् ।

मुनिरले नै नकालको अपहरण गरेको प्रहरीको भनाइ छ । नेपाली नागरिक सोमा मुनिरको प्रेमिका हुन् । उनीहरुको नेपाली ठेगाना खुलेको छैन । सीआईबीका एक अधिकारी उनीहरु अझै पनि टर्कीमै हुन सक्ने आशंका व्यक्त गर्छन् ।

१४ माघमा अपहरणमा परेका तीन नेपालीको हकमा भने एक जना एजेन्ट पक्राउ परेका छन् । सप्तरीको कञ्चनपुरका एजेन्ट २८ वर्षीय ओमप्रकाश पञ्जियार पक्राउ परेका हुन् । अन्य दुई एजेन्ट दीपेश गुप्ता र पर्शुराम यादव फरार छन् ।

विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । प्रारम्भिक बयानका क्रममा उनले आफूले पैसा लिएर पठाउने काम मात्रै गरेको बताएका छन् ।

मिर्जा कासिफ नामका पाकिस्तानी व्यक्तिले नेपालस्थित उनको परिवारमा फेसबुकमार्फत सम्पर्क गरेर फिरौती मागेका थिए । सीआईबीले दुई भारतीय र दुई पाकिस्तानी एजेन्टलाई प्रतिवादी बनाएर मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ ।

न खान पाइन्छ, न त राम्रो तलब नै !

पछिल्लो समय टर्की पुगेर आउने गरेका थुप्रै नेपाली आफू ठगिएको गुनासो लिएर प्रहरी समक्ष पुग्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार त्यहाँ कतिपय नेपालीले भात समेत खान पाएका छैनन् ।

‘यहाँबाट राम्रो हुन्छ भन्ने प्रलोभनमा परेर उनीहरु टर्की गएको देखिन्छ’, उनले भने, ‘तर, त्यहाँ जंगलमा मुढा बोक्नु पर्ने, पालमा सुत्नु पर्ने र खाना समेत राम्रो खान नपाउने गरेको गुनासो फर्किएर आएका नेपालीले सुनाउने गरेका छन् ।’

नेपाल फर्किएर पीडितले प्रहरी समक्ष उजुरी गरेर पनि कमै मात्र मुद्दा चलेका छन् । उनीहरुलाई त्यहाँ पठाउने एजेन्टले पैसा फिर्ता दिन्छु भनेर प्रलोभन देखाएपछि उनीहरुले जाहेरी नदिने गरेको प्रहरी अधिकारी बताउँछन् ।

कतिपय व्यक्ति प्रहरी समक्ष पुगेपछि एजेन्टले ठगिएका व्यक्तिका रकम फिर्ता गरेको रेकर्ड समेत छन् ।

कतिलाई टर्की नै युरोप हो भन्ने भ्रममा पारेर पनि त्यहाँ लगिएको छ

टर्कीमा रहेका हरेक नेपाली कति सुरक्षित ?

टर्कीमा नेपाली अपहरणमा परेका घटनालाई नजिकबाट नियालिरहेका एक प्रहरी अधिकारी त्यहाँ रहेका हरेक नेपाली खतारामा रहेको बताउँछन् ।

‘राम्रो तलब पाउने प्रलोभनमा नेपाली युवा अवैधानिक बाटोबाट त्यहाँ पुगेका छन्’, ती अधिकारीले भने, ‘तर, त्यहाँ नेपालीले पाउने १५ देखि २० हजार रुपैयाँ मात्रै हो । त्यहाँका स्थानीयको तलब नै अधिकतम २५ हजार हो ।’

‘त्यहाँ नेपालीले पाउने काम भनेको स्कीलफुल काम होइन । लेभर क्लासको काम हो’, उनले थपे, ‘कतिलाई टर्की नै युरोप हो भन्ने भ्रममा पारेरमा पनि त्यहाँ लगिएको छ ।’

टर्कीसम्म नेपालीलाई पुर्‍याउने एजेन्ट ३ तहमा छन् । पहिलो तहमा विदेशिन चाहने युवा खोज्ने नेपाली एजेन्ट छन् । नेपाली एजेन्ट मध्ये कतिपयलाई टर्कीमा के काम लगाइने हो भन्ने बारे कुनै जानकारी छैन ।

दोस्रो तहमा भारतीय एजेन्ट छन् । जसले युवालाई टर्कीसम्म पुर्‍याउने गर्छन् । तेस्रो तहमा टर्की पुगेका युवालाई रिसिभ गर्ने पाकिस्तानी एजेन्ट देखिएका छन् ।

यो पनि पढ्नुस् 

टर्कीमा अपहरित नेपालीको फिरौती पाकिस्तान पुग्यो

टर्कीमा अपहरित नेपालीको वयानः सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती माग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment