+
+
Shares

प्रहरी हेडक्वार्टरमा गृहमन्त्री बादल, राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने बाचा

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन १६ गते १८:३०

१६ फागुन, काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा अधिकारीहरुबाट सुरक्षा व्रिफिङ लिएका छन् ।

बिहान करिब साढे ८ बजे प्रहरी हेडक्वार्टर पुगेका बादललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा ब्रिफिङ सुनाएका थिए । अर्यालले करिब दुई घण्टा आफ्ना कुरा राखेका थिए ।

लगत्तै गृहमन्त्रीले सात वटै प्रदेशका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुसँग भिडियो कन्फरेन्समार्फत त्यहाँको सबै प्रदेशको स्थितिको बारेमा जानकारी लिएका छन् ।

एक अधिकारीले भने, ‘ब्रिफिङमा प्रदेशमा शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि, त्यसको नियन्त्रण तथा प्रहरीका अन्य गतिविधिहरुको बारेमा कुराकानी भएको हो ।’

७ वटै प्रदेशका एआईजीसँग भिडियो कन्फरेन्सपछि गृहमन्त्रीले प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुलाई सम्बोधन पनि गरेका छन् ।

थापाले भ्रष्टचारमुक्त र सुशासनयुक्त प्रहरी आफ्नो प्राथमिकतामा रहेको बताए ।

गृहमन्त्री बादलले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताए । साथै प्रहरीलाई स्रोत, साधनयुक्त बनाउने आश्वसन समेत दिएका छन् ।

प्रहरी प्रशासनभित्र रहेका समस्यालाई हल गर्न प्रथमतः नीतिगत समस्या हल गर्नु पर्ने उनको भनाइ थियो ।

प्रहरीमा देखिएको सरुवा, बढुवाको समस्यालाई स्थायी ढंगले हल गर्ने समेत उनले आश्वसन दिए ।

प्रहरीको क्षेत्रमा बजेट वृद्धिका लागि पहल गर्ने वचन दिँदै उनले प्रहरी भ्रष्टचारमुक्त र सुशासनयुक्त हुनु पर्ने बताए ।

यसअघि १४ फागुनमा गृहमन्त्रीमा नियुक्त भएलगत्तै थापाले नेपालको प्रहरीलाई विश्वकै नमुना बनाउने बताएका थिए ।

थापाले त्यहाँ रहेको कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याव र पोलिग्राफ सेक्सनको निरीक्षण समेत गरे।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?