
१७ फागुन, काठमाडौं । मोहन वैद्य (किरण) माओवादी अध्यक्ष प्रचण्डका विगतका राजनीतिक गुरु हुन्, जो अहिले प्रचण्डको भन्दा बेग्लै ‘नेकपा क्रान्तिकारी माओवादी’ बनाएर त्यसैको अध्यक्षता गरिरहेका छन् । उनै प्रचण्डका गुरुले प्रचण्ड-ओलीको पतन निश्चित र अनिवार्य भएको विश्लेषण सुनाएका छन् ।
विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई बिराटनगरमा केपी ओली नेतृत्वको सरकारले गिरफ्तार गरेको भन्दै वैद्यले ओली सरकार कम्युनिष्ट नभएर फासीवादी बाटोमा अघि बढेको बताए ।
ओली सरकारले देउवाले समेत गर्न नसकेको काम गरेको तर्क गर्दैै वैद्यले भने- ‘यिनीहरुको पतन निश्चित छ । अनिवार्य छ ।’
गोपाल किरातीको नेतृत्वमा राजधानीमा आयोजित ‘अखिल क्रान्तिकारी’को भेलालाई माओवादी नेता वैद्यले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा उनले आफूहरु आगोको झिल्को भएको बताए । र, अब क्रान्तिकारी कम्युनिष्टहरु एक भएर क्रान्ति सफल पार्नुपर्ने उनले दाबीसमेत गरे ।
अहिले भइरहेको वाम एकता अनि सरकारले गरेको विप्लवका नेतामाथिको धरपकड’ बारे प्रचण्डका विगतमा राजनीतिक गुरु एवं माओवादीका वैचारिक नेता वैद्यको टिप्पणी उनकै शब्दमाः
अहिले दक्षिणपन्थी गठबन्धन जसरी भएको छ, कम्युनिष्टका नाममा, वामका नाममा यिनीहरुले विकास, समृद्धि अथवा हामीहरु कम्युनिष्ट हौं भनेर धेरैधेरै भन्दै आएका छन् ।
तर, एउटा कुरा के देखापर्यो भनेर भन्नुहुन्छ भने केपी ओली प्रधानमन्त्री हुनेवित्तिकै देउवा सरकारले पनि हात नहालेको काम भयो । नेकपाका कार्यकर्ता नेताहरुलाई पकड्ने काम भयो । कम्युनिष्ट भन्नेले कम्युनिष्टहरुलाई ।
कामरेड हेमन्तप्रकाश ओली र कामरेड पदम राई लगायतका साथीहरु एउटा सामान्य प्रकारको शान्तिपूर्ण कार्यक्रममा थिए ।
युवाहरुको भेला, सम्मेलनको कार्यक्रममा जाँदाखेरि, शान्तिपूर्ण तरिकाले काम गर्दाखेरि उहाँहरुले जुन धरपकड गर्नुभो, यसले के देखापर्छ भने देश र जनताको मुक्तितिर होइन, उहाँहरुले देशलाई फासीवादतिर लैजाँदै हुनुहुन्छ । उहाँहरु कम्युनिष्ट हो कि के हो भन्नेखालको कुरा प्रष्टै देखिन्छ ।
जनयुद्ध लडेका हामीहरु, झापा विद्रोह गरेका नेताहरु, यही हो ? कम्युनिष्ट हो कि हैन ? प्रष्टै देखिन्छ । त्यसकारणले कुरा के हो भने उहाँहरुको पतन निश्चित छ । अनिवार्य छ ।
सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ । क्रान्तिकारीहरु सुरुमा सानै हुन्छन् । तपाईहरुले लक्ष्मीप्रसाद देवकोटा पढ्नुभएको होला, के नेपाल सानो छ ? भन्ने निवन्ध धेरै शानदार छ ।
जनयुद्ध लडेका हामीहरु, झापा विद्रोह गरेका नेताहरु, यही हो ? कम्युनिष्ट हो कि हैन ? प्रष्टै देखिन्छ । त्यसकारणले कुरा के हो भने उहाँहरुको पतन निश्चित छ । अनिवार्य छ ।
हात्ती ठूलो छ कि मान्छे ठूलो छ भनेर भन्ने हो भने हात्ती ठूलो हुन्छ । आँखाको नानी झन् सानो हुन्छ । मुटुको टुक्रो झन सानो हुन्छ । सानोको मूल्य हुन्छ । ओज हुन्छ । गरिमा हुन्छ । फेरि त्यो सानो ठूलो हुन्छ ।
त्यसैले हामी ठूला छौं भनेर कुनै घमण्ड गर्नुपर्दैन । हामी क्रान्तिकारी भनेको आगोको झिल्को हो । निभ्दैन । माओले भनेको हामीलाई थाहा छ । एउटा सानो झिल्कोले सारा जंगलमा आगो लगाउँछ भनेर भन्या हो । हामी झिल्को हौं ।
त्यसकारण हामी हमेसा क्रान्तिकारी आशावादले समृद्ध हुनुपर्छ । हामी नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाऔं । हामीले क्रान्ति गरौं । हाम्रो आदर्श हो साम्यवाद ।
पुँजीवादी जनवादी क्रान्ति पूरा भएको छैन । पुँजीवादी जनवादी क्रान्तिलाई पूरा गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा दृढतापूर्वक अगाडि बढौं । तपाईहरुले विद्रोह गर्नुभएको छ, संगठन बनाउनोस् । र, हामीले फेरि मिहेनत गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने ऐतिहासिक मिसनमा हामी दृढतापूर्वक अगाडि बढौं ।
अब हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु छितरिएर हुँदैन, एक ठाउँमा आउनुपर्ने हुन्छ । क्रान्तिकारीहरुको वीचमा एकता हुन जरुरी छ । एकतावद्ध हुन जरुरी छ । हामीले कोशिस गरिराखेका छौं ।
हामीले ऋषि कट्टेलजीसँग कुरा गरिराखेका छौं । हामीले मोहनविक्रमजीसँग पनि कुराकानी गरिराखेका छौं । र, सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग हामीले यो अभियान अगाडि बढाइराखेका छौं ।
हामीले गोपाल किरातीजीसँग पनि कुरा गरिराखेका छौं । आहुतीजीसँग पनि कुराकानी भएको छ । लोकेन्द्र विष्टजीसँग त अझ अगाडिबाट कुरा हुँदै आइराखेको छ ।
प्रतिक्रिया 4