Comments Add Comment

झलनाथलाई राष्ट्रपति बनाउन सकारात्मक छुः वामदेव

माधव नेपाल मौन, विद्या भण्डारी दोहोरिने संकेत

१८ फागुन, काठमाडौं । होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए ।

गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए ।

जवाफमा गौतमले भने- अहिले पार्टीमा केपी ओलीको एकलौटी चलेको बेला छ । देखिहाल्नुभयो, प्रदेशका मुख्यमन्त्री छनोटदेखि मन्त्रीसम्म । झलनाथप्रति म सकारात्मक नै छु, तर त्यस्तो वातावरण आउलाजस्तो लाग्दैन ।

आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेले फागुन २२ सम्म आफ्नो उम्मेदवार तय गरिसक्नुपर्ने छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने अधीक सम्भावना रहेको भनिएका बेला एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनालले आफ्नो लागि लबिङ तीब्र पारिरहेका छन् ।

झलनाथको लबिङ, माधवको मौनता !

हालसालै माधव नेपाल र वामदेव गौतमसँग आफ्नो पक्षमा लबिङ गरिदिन आग्रह गरेका पूर्वप्रधानमन्त्री खनालले विहीबारै वामदेवनिकट स्थायी कमिटी सदस्य किरण गुरुङलाई पनि सोही आग्रह गरे ।

स्रोतका अनुसार खनाल स्थायी कमिटीमा आफ्नो पक्षमा बहुमत देखाएर आफूलाई राष्ट्रपति उम्मेदवार बनाउन ओलीमाथि दबाव दिन खोजिरहेका छन् ।

अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले अहिलेसम्म राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याउने वा अर्को नेतालाई पठाउने भन्नेबारे मुख खोलेका छैनन् ।

पछिल्लो समय केपी ओलीसँग नियमित परामर्शमा रहेका माधव नेपाल अहिले नै खनालको पक्षमा खुल्ने सम्भावना छैन । केपी ओली के चाहान्छन् भनेर बुझेका कारण पनि एमाले नेताहरुले खनाललाई सान्त्वना दिने बाहेक मसक्कै आँटेर खनाललाई नै राष्ट्रपति बनाउँ भन्न चाहेका छैनन् ।

एमालेका एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसँग भने- राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भनेर स्थायी कमिटीमा भोटिङ हुनेवाला छैन । कसको पक्षमा कति नेता छन् भन्ने खासै अर्थ नभएको अवस्थामा कोही बोल्ने देखिँदैन । विद्या भण्डारीलाई नदोहोर्‍याउँ भन्नेमा धेरै नेता सहमत हुन सक्छन् तर पार्टीको मूल नेतृत्व विद्यालाई नै दोहोर्‍याउन बाध्य छ भन्ने हामीले बुझेकाले झलनाथ कमरेडलाई सान्त्वना दिनमात्रै सकिन्छ ।’

वामदेवलाई इलाम १ को अफर !

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री खनालले वामदेवलाई आफ्नो पक्षमा पार्नका लागि आफू राष्ट्रपति भएपछि खाली हुने इलाम- १ बाट सांसद जिताउने जिम्मासमेत लिन तयार रहेको बताएका छन् ।

तर, बर्दियामा अन्तरघातका कारण हारेका वामदेवलाई इलाम लैजाने कुरा नै अर्को आत्मघाती कदम हुने उनका निकटस्थ नेताहरुले बताइसकेका छन् ।

एमालेका केही नेताले ठूला नेताहरुको व्यवस्थापनका लागि राष्ट्रपति नदोहोर्‍याउनु उपयुक्त भए पनि देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने तर्कसमेत गरेका छन् ।

एमालेबाट विद्या भण्डारी नै उम्मेदवार बन्ने ९० प्रतिशत सम्भावना रहेको भन्दै ती नेताले कथम् कदाचित विद्या नहुने अवस्थामा ओलीको रोजाई सुवास नेम्वाङ रहेको दाबी गरे । उनले भने- राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुननै दोहोरिने सहमति ओली र प्रचण्डको तहमा भइसकेको छ । अब अरु नेताले जति चलखेल गरे पनि २२ गते एमाले स्थायी कमिटीले औपचारिकरुपमा विद्यालाई नै उम्मेवार बनाउने निर्णय गर्नेछ, केही नेताले विरोध गरे पनि निर्णय हुन्छ ।

एमाले पार्टीभित्र अहिले पनि विद्या भण्डारीको होल्ड रहेका कारण उनलेे चाहँदा रोक्ने अवस्था नरहेको ओली निकट नेताहरुले बताइरहेका छन् । मन्त्री, मुख्ययमन्त्री र राष्ट्रियसभा सदस्यमा समेत हिस्सा खोजिरहेकी भण्डारीले राष्ट्रपतिमा दोहोरिन खोज्दा रोक्ने अवस्थामा ओली पनि छैनन् ।

उपराष्ट्रपति पनि पासाङ नै

माओवादीले पनि उपराष्ट्रपतिमा नन्दवहादुर पुन पासाङलाई नै निरन्तरता दिने निश्चित भइसकेको छ । माओवादी नेता वर्षमान पुनले एक अन्तर्वार्तामा संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई पूरा ५ वर्ष कार्यकालका लागि अवसर दिनुपर्ने बताइसकेका छन् ।

विद्या भण्डारीजस्तै नन्दवहादुर पुन पनि माओवादीमा शक्ति सन्तुलन कायम राख्ने पात्र भएकाले उनको निरन्तरता हुन लागेको हो ।

यसअघि राष्ट्रपतिमा दाबी गरिरहेका अमिक शेरचनले उपराष्ट्रपति भने पनि खाने भन्दै पार्टीभित्र लबिङ गरिरहेको स्रोतले जनाएको छ । तर, प्रचण्ड र वर्षमान पुनलगायत माओवादीका अधिकांश नेताहरु पासाङको व्यवस्थापनप्रति संवेनदशील छन् । त्यसैले पासाङलाई दोहोर्‍याउनकै लागि पनि विद्या भण्डारीलाई समर्थन गरिएको माओवादी स्रोतको दाबी छ ।

पासाङको विकल्प खोज्ने छुट प्रचण्डलाई नरहेको एक नेताले बताए । जनयुद्धमा प्रचण्ड राजनीतिक कमाण्डर थिए भने पासाङ फौजी कमाण्डर थिए । त्यसैले प्रचण्डले पासाङले चाहना गरेको पदमा रोक्न सक्ने अवस्था नरहेको माओवादी नेताहरुले बताएका छन् ।

शान्ति प्रक्रियामा कुनै व्यक्तिगत लाभ नलिई उक्त प्रक्रिया टुंग्याउन लडाकु कमाण्डरको हैसियतमा पासाङले निर्णायक भूमिका खेलेकाले अहिले उनको विकल्प नसोचिने प्रचण्डनिकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment