Comments Add Comment

प्रदेश ४ का मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने

२० फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २५ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची तय गरिदिन प्रदेश सभा सचिवालयमा प्रस्ताव गरेका छन् । सोमबार बस्ने प्रदेशसभा बैठकबाट २५ गते विश्वासको मत लिने कार्यसूची पास गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची तयार पार्न प्रस्ताव गर्नुभएको छ’ प्रदेश सभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने, ‘२५ गते १ बजेका लागि विश्वासको मत लिने कार्यसूची तयार पार्दैछौं ।’

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वाचित भएका पृथ्वीसुब्बाले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।

२५ गतेको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् । प्रस्ताव राखेपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । गुरुङले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ ।

६० जना प्रदेश सभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङले बहुमत अर्थात् ३१ मत प्राप्त गर्नुपर्छ । प्रदेश ४ मा एमालेको २७ र माओवादीको १२ सदस्य छन् । वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सजिलै बहुमत प्राप्त गर्ने छन् ।

प्रदेश ४ मा एमाले, माओवादी बाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँ शक्तिका २ सदस्य छन् भने १ जना स्वतन्त्र सांसद छन् ।

एमालेको समर्थनमा मनाङबाट स्वतन्त्र सांसद बनेका दीपक मनाङे कर्तव्य ज्यान मुद्धामा दोषी ठहरपछि प्रहरीको वान्टेड सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment